माधव नेपाललाई राष्ट्रपति उम्मेदवार बन्न ओलीको प्रस्ताव

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । एमाले र एकीकृत समाजवादीका दोस्रो तहका केही नेताहरु माधव नेपाललाई वामपन्थी दलका तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाएर पार्टी एकता गराउन सक्रिय भएका छन् । एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवारमा सहमति नहुने सम्भावना देखेपछि नेपाललाई अघि सारेको हो ।


राष्ट्रपति चयनका लागि चुनाव नजिकिँदै गर्दा शीर्ष नेताहरुबीच छलफल र भेटघाट तीव्र भएको छ । माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव ओलीले नै गरेपछि शीर्ष नेताहरु सहमति जुटाउन थप सक्रिय बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको छनोट गर्ने अडान राखेपछि एमालेले नेपालसँग छलफल गरेको हो।
नेपाली कांग्रेसले राष्ट्रपति चुनावमा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अघिकै गठबन्धन ब्युँताउने प्रयास गरिरहेकाले पनि एमाले सशङ्कित भएको छ । राष्ट्रपतिमा माओवादीले समर्थन गर्ने वचन दिए पनि संसद्को ठूलो दल कांग्रेसले अझै उम्मेदवार चयन गर्न सकेको छैन । राष्ट्रपतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा छ।
माओवादीले हिजो राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको छ । निर्वाचन आयोगले फागुन १३ गते राष्ट्रपतिका उम्मेदवारको मनोनयन दर्ता तथा र फाुगन २५ गते चुनावको कार्यतालिका सार्वजनिक गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदै छ।