विर्तामोड/ नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हरिबोल गजुरेलले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताएका छन् । झापाको विर्तामोडमा मंगलबार गौरीशंकर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित १२ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले दीगो समाधान भनेकै सहमति र सहकार्य भएकाले सहमतिको बाटो अवलम्बन गर्नु अहिलेको आवश्यकता भएको कुरामा जोड दिए ।
सोही कार्यक्रममा बोल्दै अर्का पोलिटव्यूरो सदस्य तथा माओवादी केन्द्र प्रदेश १ का इन्चार्ज राम कार्कीले गौरीशंकरको स्मरण गर्दै पूर्वको आन्दोलन र परिवर्तनका निम्ति गौरीशंकरले खेलेको भूमिका र उनको योजनाले नै अहिलेसम्म पार्टी र संगठनलाई यहाँसम्म ल्याइपु¥याएको बताए । कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य अजम्बर राईले कम्युनिष्टहरु कमजोर हुनुका पछि आचरण विग्रिदै गएको मुख्य कारण भएको बताए । उनले आचरण सुधार्नसकेमात्रै नेताहरुप्रति कार्यकता र कार्यकर्तामाथि जनताको विश्वास रहने भएकाले आचरण र कार्यशैली सुधार्न आवश्यक रहेको बताए ।
कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाई, प्रदेश पूर्व कृषि मन्त्री झलकसिंह दर्लामी, संविधान सभा सदस्य पूर्णसिंह राजवंशी, प्रदेश सभासद् बन्दना झाँगड लगायतले उपस्थिति थियो । प्रतिष्ठानका अध्यक्ष पुरोषोत्तम चुडाल (राजु) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रमेश गुरागाईले गरेका थिए भने स्वागत मन्तव्य पार्टीका झापा जिल्ला सचिव राजु आचार्य .(अग्नी) ले गरेका थिए । कार्यक्रममा गौरीशंकर खड्काका परिवारजन सहित माओवादी नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

 

Facebook Comments Box