महिला विश्वकप एशियाली छनोट = थाइल्याण्ड टस जितेर ब्याटिङमा

फाल्गुण, सन् २०२० मा हुने टी–२० महिला विश्वकप र २०२१ मा हुने एकदिवशीय महिला विश्वकपका लागि एशियाली छनोटमा नेपालले बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । बैककमा जारी खेलमा घरेलु टिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । दुवै विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्नका लागि बिहीबारको खेल दुवै टोलीका लागि एक हदसम्म निर्णायक जस्तै हुनेछ । प्रतियोगिताको दुबै टिम उपाधिका दावेदार हुन । एसोसियट टोलीमध्ये सबैभन्दा राम्रो देखिएको थाइल्याण्डले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यही प्रतियोगिताको तयारीका लागि गत महिना आयोजना भएको थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल थाइल्याण्डसँग ७० रनले पराजित भएको थियो । प्रतियोगिताको पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको नेपालले ब्याटिङमा ५ विकेट गुमाएर १२६ रन बनाएको थियो । पहिलो खेलमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट देखिएका नेपालले त्यही प्रदर्शनलाई निरन्तरता दिनुपर्नेछ । पहिलो खेलमा घरेलु टोली थाइल्याण्डले भने वर्षाले प्रभावित खेलमा चीनलाई ६ विकेटले हराएको थियो ।

