आरक्षण विरुद्ध प्रमको अभिव्यक्ति अध्ययनको कमी – अशोक राई

समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले आरक्षण विरुद्ध प्रधानमन्त्री केपी ओलीको भनाई अध्ययनमा कमीको उपज भएको बताएका छन् ।
मङ्गलबार सुनसरीको रामधुनी नगरपालिकास्थित पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले सो कुरा बताएका हुन् ।


उत्पीडित समुदायहरुमाथि भएको ऐतिहासिक विभेद् बारे नबुझी देशको प्रधान्मन्त्रीले गरेको टिप्पणीले राज्यको विभेदकारी मानसिकता झल्किएको नेता राईले आरोप लगाएका छन् । उनले भने (’प्रधानमन्त्रीले आरक्षणलाई कसैको भाग खोसेर खाएको रूपमा व्याख्या गर्नु दुखद् र आपत्तिजनक कुरो हो ।’
अहिले देशभर आरक्षण आन्दोलन चलिरहेको भन्दै नेता राईले न्यायका पक्षमा चलेको आन्दोलन भएकोले पार्टीले समर्थन गरेको दावी गरे । ’संविधानमा प्रदत्त हक खोस्ने गरि खोलेको लोकसेवा आयोग विज्ञापन गलत छ’, उनले भने ।
सम्बोधनका क्रममा उदाहरण प्रस्तुत गर्दै राईले परिवारमा कुनै एक बिमारी सदस्यलाई दैनिक भन्सामा पाकेको अतिरिक्त माछामासु, फलफूल खान दिएर छिट्टो तन्दुरुस्त बनाउन केही समय लगानी गरिन्छ । तर यस्तो कार्य दीर्घकालीन रूपमा नरहने भन्दै उनले आरक्षण पनि पछाडि परेका समुदायलाई अब्बल समुदायसँग प्रतिस्पर्धा गर्न सक्षम भएसम्मको लागि मात्रै कायम रहने प्रष्ट पारे ।
पार्टी एकताको प्रसङ्ग उठाउँदै राईले सही अभियान थाल्दा बदमासहरुले जनतामा भ्रम छरेर बाधा पुर्याउन खोजेको भन्दै सचेततापूर्वक काम गर्न कार्यकर्तालाई निर्देशन दिए । राईले भने (’हामीले निर्माण गरिरहेको समावेशी पार्टीका विरुद्ध खेल्नेहरु छन् । तिनलाई चिरेर अघि बढ्नुपर्दछ । त्यो काम जनस्तरमा गर्नको लागि एक ढिक्का भएर लागौं ।’
सो अवसरमा नेता राईले पार्टीको रामधुनी नगर पार्टी कार्यालय उद्घाटन समेत गरे ।
मङ्गलबार भएको पार्टी समायोजन कार्यक्रमपछि रामबहादुर खड्काको अध्यक्षतामा ६५ सदस्यीय रामधुनी नगर समिति चयन भएको छ ।
कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सचिव परशुराम बस्नेत, केन्द्रीय सदस्यहरु भूराज राई, उमेश थापा, पदम अधिकारी, सूर्य राई , पुर्व संघिय समाजवादी फोरमका नेपालका १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ, लगायतले शुभकामना दिएका थिए ।