किसानको आर्थिक समृद्धिको मूल आधार नै सडक

ज‌ंग तामाङ
इलाम पुस ६, २०७५, पाँचथर  / झापाको चारआलीदेखि ताप्लेजुङ जोड्ने मेची राजमार्गले पाँचथर छोएको साढे तीन दशक नाघ्यो। यसबीचमा जिल्ला सडक र ग्रामीण सडक गरी करिब तीन हजार किलोमिटर सडक जिल्लामा निर्माण भएको देखिन्छ। यी सडकहरू जिल्लाका किसानको आर्थिक समृद्धिको मूल आधार देखिएका छन्। टोलटोललाई सडक संजालले जोडेपछि उत्पादित कृषि उपजसँगै वन पैदावरले सिधै बजार पाएका छन्। यसले ढाकरमा बोकेर बजारमा कृषि उपजहरू बेच्न पुर्‍याउनुपर्ने किसानको बाध्यता टारेको छ। यसपछि किसानहरू व्यावसायिक रूपमै कृषि उपजसँगै वन पैदावरको उत्पादनमा अग्रसर देखिन्छन्। जिल्लाको मिक्लाजुङ गाउँपालिका( ५ कुरुम्बाका सुन्तला कृषक तथा व्यवसायी धनकुमार लावतीले सडकले गाउँगाउँमा फन्को मारेछि सुन्तला झापाका बजारहरूमा पुग्ने गरेको बताए। आफन्तलाई कोसेली र खाजाको रूपमा बढी प्रयोग गरिने सुन्तलाले सडककै कारण बजार पाएको उनी बताउँछन्। ‘किसानको बगानसम्मै पिकअप पुग्छ। टिपेर तुरुन्तै बजारमा पुर्‍याउँछु’, उनले भने, ‘सडक नहुँदा पाकेर कति झर्थ्यो, कति पाहुनालाई कोसेली त कति खाएर सक्थे। सडक गाउँगाउँमा पुगेपछि त सुन्तालाले पैसैपैसा।’ जिल्लाको साविकका गाउँ विकास समितिका वडाका एउटै गाउँमा तीन(चारवटा सडक निर्माण गरिएका छन्। हाल जिल्लाका आठवटै स्थानीय तहले पनि सडक निर्माणसँगै स्तरोन्नतिमा प्राथमिकताका साथ बजेट विनियोजन गरेका छन्। आर्थिक विकासको आधारशिला सडक नै ठानेर स्थानीय तहहरूको प्राथमिकतामा सडक परेको हुनुपर्छ। सडकलाई बाह्रै महिना संचालनयोग्य बनाए अझ किसानले उत्पादन गरेको हरेक वस्तुले बजार पाउने कुरुम्बाकै सेङ्खेङ्वाका अगुवा सुन्तला कृषक तेजबहादुर लावतीले बताए। ‘गत वर्ष तीन लाख ७५ हजारमा बगान बेचेँ। त्यसको अघिल्लो वर्ष साढे चार लाख र यो वर्षचाहिँ साढे छ लाखमा बेचेँ’, उनले भने, ‘आम्दानी बढ्दो छ। गाउँमा सुन्तला व्यावसायिक रूपमा खेती गर्नेहरू पनि बढेका छन्। सडकचाहिँ हिउँदमा मात्रै नभई वर्षायाममा पनि संचालन हुने गरीको बनाइनुपर्छ।’ सडक संजाल गाउँको पनि टोलटोलमा पुगेपछि एक बोतल रक्सी राखेर माग्दा दिइने उत्तिस, खयर, चिलाउनेले मूल्य साट्न थालेको छ। अलैँची, चिराइतो, अदुवा, सुन्तला, कागती, डेरीजन्य उत्पादनहरू दूध, चिज, छुर्पी, घीउसँगै चिया, मूला, साग, गोलभेँडाले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय बजार पाएका छन्। जे उत्पादन गर्छन् किसानले, बजारसम्मको पहुँज सडकले जोडिदिएको छ। ’३५(३६ वर्ष आलुबाहेक बेच्ने केही थिएन यहाँ। त्यो पनि इलामको गोर्खेसम्म ढाकरमा बोकेर पुर्‍याउँदा’, फिदिम( ३ का दुग्ध किसान महेन्द्रकुमार मुखियाले भने, ‘सडक आएपछि त गाउँमा दूधदेखि आलु, चिराइतो, कागती, मूला, अलैँची, अम्रिसो, उत्तिससम्म बेच्छौँ।’ सडकले अर्थोपार्जनमा पनि टेवा पुर्‍याएपछि गरिबी न्यूनीकरण पनि हुँदै गएको देखिन्छ। किसानको जीवनशैलीमा परिवर्तन आएको छ। फिदिम( ३ कै रत्नबहादुर मुखियाले मेची राजमार्ग र गाउँको टोलटोलमा सहायक राजमार्गहरू बनेपछि गाउँमा एक घरपरिवारले कम्तीमा पनि वार्षिक तीन लाख रुपैयाँसम्मको दूधदेखि हाते कागजसम्म बेच्ने गरेको बताए। ‘जाँगरिला किसानले विदेश जानुपर्दैन’, उनले भने, ‘सिजन र हावापानीअनुसारको खेती लगाए पैसापैसा छ। सडकमा निकालेपछि एकछिनमा बजार पुग्छ।’ जिल्लामा कृषि सडकहरू थुप्रै निर्माण गरिएका छन्। साविकका गाविस जोड्ने गरी निर्माण गरिएका कृषि सडकहरूले कृषि उपजलाई बजारीकरणमा टेवा पुर्‍याउँदै आएका छन्। कृषि ज्ञान केन्द्र पाँचथर–ताप्लेजुङका सूचना अधिकारी नरहरि निरौला, पहिले व्यापारीकहाँ उत्पादित वस्तु पुर्‍याउनुपर्ने अवस्था रहेकोमा अहिले व्यापारी किसानको बारीमै आउने अवस्थाको सिर्जना सडकले गरेको बताउँछन्। जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा (विमल)ले भने जिल्लाको टोलटोलमा सडक निर्माण भइसकेकाले अब स्थानीय तहहरूले बनेका सडकहरूको स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताए। आवश्यकताअनुसार सडक निर्माण भएकाले हिउँद र वर्षा दुवै याममा सवारी संचालन हुने गरी स्तरोन्नति गरिए कृषि उपजको बिक्री गरेर किसानहरूले आर्थिक समृद्धि गर्ने उनको भनाइ छ।

शुक्रबार, ०६ पुष, २०७५, दिउँसोको ०३:४२ बजे

सम्बन्धित खवर