अरबौंको कारोबार गर्ने तुलसी सहकारीका अध्यक्षले आफ्नै उद्योगमा सहकारीको पैसा गैरकानूनी रुपमा लगानी गरेका थिए ।
विराटनगर । विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारीले सर्वसाधरणको करोडौं बचत रकम हिनामिना गरेको घटना बाहिरिएसँगै बचतकर्ताहरु रकम फिर्ताका लागि हारगुहार गरिरहेका छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित सञ्चालकहरु तविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टि अधिकारी सम्पर्कबिहीन रहेकोमा उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने पक्राउ परेका छन् ।

प्रहरीलाई अध्यक्ष शर्माले भारतबाट सम्पर्क गरेर फागुन १७ गते आउने बताएका छन् । बचतकर्ता, कर्मचारीसहित जिल्ला प्रहरी कार्यालय मोरङमा भएको छलफलमा शर्माले आफू १७ गते नेपाल आउने जानकारी दिएका हुन् ।शर्माले शिखर अर्गनाइजेसनको ५१ प्रतिशत शेयर बिक्री गरेको भन्दै त्यसबाट २ सय ५० करोड भारु आएपछि समस्या समाधान गर्ने बताएका छन् । सहकारीमा बचतकर्ताको १ अर्ब ४५ करोड रकम जम्मा रहेको बताइएको छ ।
सहकारीका सञ्चालक र कतिपय ठूला बचतकर्ताले रकम छानविनमा अवरोध गरिरहेको आरोप लागेको छ । सहकारीमा कतिपय ठूला बचतकर्ताले अबैध स्रोतबाट आर्जन भएको पैसा बचत गरेको बताइन्छ । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले केहि दिन अघि सहकारीमा कालोधन लगानी भइरहेको सूचना रहेको बताएकी थिइन् ।

सहकारीको निर्णय प्रक्रिया नै किर्ते

करिब ६ महिना अगाडि सहकारीको दमकस्थित शाखामा कर्मचारीको स्वार्थ टकराव देखियो । जुनियर कर्मचारीको दबाबमा परेर दमक शाखाकी कर्मचारी ऋतु थापालाई राइस मिलमा सरुवा गरियो । उनै थापाले सहकारीमा पैसा नभएको र बचत रकम नरहेको हल्ला गर्न थालेपछि घटना बाहिरिएको हो ।सहकारीको विराटगर ३ स्थित कर्पोरेट अफिसमा सचिव सविना न्यौपानेको नेतृत्वमा कार्यालय सञ्चालन हुने गरेको थियो । माइन्यूटमा सबैको आफैं हस्ताक्षर गर्ने, अडिट पनि उनैले गराउने र चेकमा हस्ताक्षर पनि उनैले गर्ने गरेकी थिइन् ।सहकारीका ७ जना सञ्चालकमध्ये ५ जना डमी सञ्चालक रहेको स्रोत बताउँछ । अफिसमा केदारनाथ र सविना मात्र बस्ने गरेका थिए ।

स्रोतका अनुसार सहकारीमा साढे ४ महिना अगाडि पनि रकम नभएको बारेमा कुरा उठेको थियो । त्यसबेला बसेको बैठकमा बजारबाट १ अर्ब ४५ करोड बचत जम्मा गरेकोमा सहकारीको खातामा १० लाख रुपैयाँ मात्र भएको विषय उठेको थियो । तर, सचिव सविनाले कसैको कुरा नसुनेको कर्मचारीहरु बताउँछन् ।

सहकारीको खाता अध्यक्ष शर्मा, सचिव न्यौपाने र प्रमुख प्रबन्धक मन्दिप खवासको हस्ताक्षरबाट चल्ने गरेको थियो । सहकारीले बचत फिर्ता गर्ने अवस्थामा नरहनुको प्रमुख कारण अन्य क्षेत्रको अवैध लगानी हो । सहकारीले शिखर अर्गनाइजेसन ग्रुप अन्तर्गतका नटराज एग्रोमा ६ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, तुलसी राईस मिलमा ३५ करोड लगानी गरेको बताइन्छ । तर, संस्थाको लेखापरीक्षण रिपोर्टमा ४० लाख मात्रै लगानी देखाइएको छ ।

शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष सरहकारीका अध्यक्ष शर्मा नै हुन् । उक्त ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । शर्माकै छोरा काल्स शर्मा ग्रुपको उपाध्यक्ष छन् । ग्रुपले तुलसी मोटर पम्प, तुलसी राइस एण्ड च्यूरा प्लान्ट, तुलसी कृषि अनुसन्धान केन्द्र, गाइघाट खाँबु, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, गाइघाट, दमक र लेटाङ, नटराज एग्रो प्रा.लि., गोरर्खा टि एण्ड कफी इ.प्रा.लि.लगायत कम्पनी सञ्चद्धालन गरिरहेको छ । सहकारीको अडिट रिपोर्टमा यी उद्योगहरुमा जम्मा लगानी ४० लाख देखाइएको छ ।

सर्वसाधरणले बचत गरेको पैसा अध्यक्ष शर्माले सचिवसँगको मिलेमतोमा ती उद्योगमा लगानी गरेको आशंका गरिएको छ । पानी उद्योग र राइस मिल सहकारीकै स्वामित्वका उद्योग हुन् भने अन्य उद्योगहरु शर्माको एकल स्वामित्वमा छन् । अन्य उद्योगमा गैरकानूनी तरिकाले गरेको लगानी फिर्ता नआएपछि सहकारीमा समस्या भएको स्रोतको दाबी छ ।

सहकारीलाई व्यक्तिको बनाएर चलाएपछि समस्या आएको बचतकर्ता सन्तोष आचार्यको भनाइ छ । विराटनगर शाखामा ११ दिन अगाडि बचतकर्ताले अत्याधिक दबाब दिएपछि कर्मचारी आन्दोलित भएका थिए । उनीहरुले सचिव न्यौपानेलाई ‘कम्पनीहरुमा लगानी गरेको पैसा किन आएन भन्दै जिरो ब्यालेन्समा टेलर चल्न कसरी सक्छ’ भन्ने प्रश्न गरेका थिए । उनले त्यसबेला कुनै जवाफ नदिएको बताइएको छ ।
सहकारीको अनियमितताबारे सरकारी निकायले आधिकारिक छानविन गर्न चासो देखाएका छैनन् । सहकारीको समस्याको विषयमा सहकारी विभागलाई जानकारी भएपनि अनुगमन मात्र गरेको कर्मचारीहरु बताउँछन् ।

अध्यक्ष शर्मा र सचिवबीच नै खटपट

सहकारीका अध्यक्ष शर्मा र सचिव न्यौपानेबीच पहिले एकदमै राम्रो सम्बन्ध रहेको बताइन्छ । कोभिडको समयपछि भने सम्बन्धमा खटपट आएको कर्मचारीहरु बताउँछन् ।स्रोतका अनुसार न्यौपानेले सहकारीबाट करोडौं रुपैयाँ आफ्ना भाई सागर न्यौपानेलाई हस्तान्तरण गरेर विर्तामोडमा एसमार्ट खोलेकी थिइन् । तुलसीबाट मार्टले लिएको ८ लाख रुपैयाँको वैध ऋण पनि फिर्ता भएको छैन । न्यौपानेले लगेको एसमार्टमा लगाएको पैसा कुन बाटोबाट गयो भन्ने खोजीको विषय रहेको स्रोत बताउँछ ।न्यौपानेले४५ करोडभन्दा बढी पैसा अपचलन गरेको हुनसक्ने स्रोत बताउँछ । त्यहि विषयमा शर्मासँग उनको खट्पट रहेको थियो । अध्यक्ष र सचिबको स्वार्थमा फसेको सहकारीले निक्षेपकर्ताको ब्याज भुक्तानी पनि १० महिनामा मात्र गर्ने गरेको र सिस्टममा सञ्चालननभएको बचतकर्ता सन्तोष आचार्य बताउँछन् ।

लेखा परीक्षण प्रतिवेदनमा के छ ?

सहकारीको विराटनगर शाखाको आधिकारिक लेखापरीक्षक चार्टड एकाउन्टेन जे एन प्रतिहास्त एण्ड एसोसिएट्सले दिएको २०७८ साल अषाढ ३१ गतेसम्मको विवरणमा कतिपय शंकास्पद टिप्पणी गरिएको छ । त्यसबेला सहकारीमा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात ३३ करोड २४ लाख ६७ हजार १४४ रुपैयाँ तथा नगद र नगद सामान ३ करोड ७४ लाख १० हजार ८६ रुपैयाँ रहेको उल्लेख छ ।
संस्थाको कूल सम्पत्ती तथा दायित्व १ अर्ब ४६ करोड ५ लाख १९ हजार ५७० रहेको उल्लेख छ । नाफा ७३ लाख १० हजार ९६९ रहेको देखाइएको छ ।

रिपोर्टमा सहकारीको लगानी भने विभिन्न चारवटा संस्थामा ४० लाख ११ हजार मात्रै रहेको उल्लेख छ भने कर्जा तथा सापटी रकम ३१ करोड २३ लाख ६० हजार १८० रुपैयाँ रहेको उक्त लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । संस्थाको स्थिर सम्पत्ती भने ४ करोड १३ लाख ६३ हजार १५७ रुपैयाँ रहेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सहकारी संस्थाको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान अनुरुप तयार गर्नुपर्ने प्रावधान राखेको भएपनि तुलसी सहकारी संस्थाको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान अनुरुप तयार नभएको रिपोर्टमा उल्लेख छ । यस्तै सहकारीले सदस्यहरुसँग बढीमा ३ वर्षसम्मको बचत निक्षेपमात्र संकलन गर्न पाउनेमा ३ वर्षभन्दा बढी अवधिको सुपर रिक्युरिङ र डबल स्किम बचत संकलन गरेको उल्लेख छ ।

कर्जा तथा सापटीमा संस्थाको संचालक समिति, लेखा समिति, ऋण उपसमितिका पदाधिकारीहरुले लिएको ऋणको विवरण सहकारी कार्यालयमा पेश नगरेको, पूँजीकोषको १० प्रतिशतभन्दा बढी पनि एउटै सदस्यलाई ऋण प्रवाह गरिएको, संघ संस्थालाई ऋण प्रदान गरेको टिप्पणीमा उल्लेख छ ।

विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौंको कारोबार गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था अहिले संकटमा छ । सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू बन्द छन् ।

तुलसी सहकारी विराटनगरको ठूलो सहकारी हो । सहकारीको विराटनगरमा मात्रै ५ हजार बढी बचतकर्ता रहेको बताइन्छ । विराटनगरबाट करिब ६६ करोड बचत जम्मा भएको सहकारीका कर्मचारीहरु बताउँछन् ।

सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा पनि शाखा कार्यालय छ । सबैतिर सहकारीको बचत १ अर्ब ४५ करोड बराबर रहेको बताइन्छ । सहकारीले ४८ करोड ऋण लगानी गरेको छ भने शेयर पूँजी १० करोड रहेको छ ।

Facebook Comments Box