एम्बुसमा परे माधव नेपाल, छर्राले लाग्दा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसमेत घाईते

ओलीको बज्र !

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले थापेको माधव नेपाल लक्षित राजनीतिक एम्बुसमा नेपाल सहित दर्जन बढी नेताहरु परेका छन् । केही भने घाइते भएका छन् । माधव नेपाल सामुन्ने निर्णायक संकट भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार चालेको कदमबाट सिर्जना भएको छ । ओलीको कदमपछि नेता नेपालसँग आफूमात्रै नभएर साथ दिने नेता-कार्यकर्ता पंक्तिको राजनीतिक भविष्य जोगाउनुपर्ने दायित्व छ ।

सँगै, आफैँले दाबी गरिरहेको वाम आन्दोलन उचाइमा लैजाने अनि एमालेलाई एकताबद्ध राख्नु सजिलो देखिदैन । नेपालमाथि आइलागेको संकटलाई उनी निकट नेताहरू पनि चानचुने ठान्दैनन् ।

हुन पनि आफैँ नेतृत्व पंक्तिमा रहेर हुर्काएको पार्टीका अध्यक्षबाटै उनीसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग स्पष्टीकरण सोध्ने निर्णय भएको छ । र, चेतावनी दिइएको छ- माफी नमागे कार्बाही हुन्छ ।

नेता नेपाललाई साथ दिइरहेका अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रीलाई पनि कार्बाही गर्ने तयारी थियो । तर, शाक्य र झाँक्रीबारे भने ओलीले पुनर्विचार गरे । अर्थात्, बालुवाटार बैठकले प्रष्ट संकेत दिएको छ- ओलीसँग असहमति राख्ने जोसुकै, जुनसुकै बेला कार्बाहीमा पर्न सक्छन् ।

त्यसका लागि एमाले संसदीय दलको विधान संशोधन र बैठकको निर्णयबाट ओलीलाई पार्टी र संसदीय मोर्चाको सर्वाधिकार दिइएको छ । त्यो सर्वाधिकारको झल्को ओलीले शनिबार नै दिइसके । बरिष्ठ नेता झलनाथ खनाल र नेपाल सहित ३८ सांसदको सन्देश लिएर बालुवाटार पुगेका सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवारलाई ओलीले समूहगत प्रस्ताव नल्याउन चेतावनी दिएका थिए । सँगै, ५ पुस यता भएका कुनैपनि निर्णयमा पुनर्विचार नगर्ने ओलीले आफू निकट नेताहरुसँग बचनबद्धता गरिसकेका छन् ।

जबकि, ओलीले आफूइतर समूहका नेताहरुलाई भूमिकाविहीन बनाउने र साथ दिने माओवादीका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेपछि नेपाल समूह समानान्तर गतिविधि र कमिटी बनाउनतिर लागेको छ ।

नेपाल समूहको तर्क छ- २३ फागुनमा सर्वोच्च अदालतले दिएको फैसलाअनुसार, २ जेठ २०७५ अगाडिकै पार्टी संरचना र विधान बमोजिम एमाले चल्नुपर्छ । तर, ओली यो सर्त र तर्क मान्न मञ्जुर देखिदैनन् ।

संसद् भंग गर्ने निर्णयपछि विभाजित नेकपामा आफूले नेतृत्व गरेको समूहतर्फ मनोनयन गरिएका केन्द्रीय सदस्य, जिल्ला र जनसंगठनको नेतृत्वमा पुनर्विचार नगर्ने ओलीले प्रष्ट संकेतमात्रै दिएका छैनन्, निर्णयसहित अगाडि बढेका छन् । यसको अर्थ माधव नेपाल र उनलाई साथ दिने नेताहरुको अस्तित्व स्वीकार्ने पक्षमा ओली छैनन् ।

यसको ठीक उल्टो, नेपाल समूह भने फेरि पनि ओलीलाई अध्यक्ष स्वीकार्न तयार देखिएका छन्, भलै यसलाई ओली समूहले षडयन्त्रका रुपमा लिएका छन् । शनिबारमात्रै पनि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपालले ओलीसँगको सम्बन्धबारे व्याख्या गरिरहेका थिए ।

आफ्नो अडान कायम राख्दै नेता नेपालले ओली सँगको ४८/४९ वर्ष लामो माया पिरती एकै रातमा नटुट्ने बताइरहँदा बालुवाटारमा एमाले पुनर्मिलनको ढोका बन्द भएको सन्देश दिइने गरी निर्णय हुँदै थियो ।

सोमबार, ०९ चैत, २०७७, दिउँसोको ०२:१७ बजे

सम्बन्धित खवर