परीक्षा नियन्त्रक कार्यालयका कर्मचारीबाटै प्रश्नपत्र आउट !

मोरङ/  पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि प्रश्न पत्र बाहिरिएको खुलेको छ ।

३ वैशाखमा १ बजेदेखि हुने फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि ११ बजे प्रश्नपत्र आउट भएको हो । परीक्षाअघि प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रक कार्यालयले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएको प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिए ।

‘मलाइ आफ्नै डिपुटि कन्ट्रोलरबाट प्रश्नपत्र बाहिरिएको फोन आयो । प्रश्नपत्र हेर्दा हस्तलिखित प्रश्न तलमाथि भएको भेटियो,’ उनले भने, ‘प्रश्नपत्र आउट भएको जानकारी पछि आवश्यक छानविनको लागि प्रहरीलाई अनुरोध गरिएको छ ।’ मोरङ प्रहरीले यस घटनामा २० जना भन्दा बढीसँग अनुसन्धान गरिसकेको छ । प्रहरीले परीक्षा नियन्त्रक कार्यालयका कर्मचारीदेखि विद्यार्थीहरूसँग पनि सोधपुछ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

‘अहिले हामी अनुसन्धान गर्दै आएका छौं,’ उनले भने, ‘प्रश्न पत्र आउट भएको विषयमा हामीले गहन रुपमा अनुसन्धान गर्दै आएका छौं ।’ यस घटनामा कसले प्रश्न पत्र आउट ग¥यो त्यसको नजिकका पुगेको सुरक्षा स्रोतले जानकारी दिएको छ । परीक्षा नियन्त्रक कार्यालयका केही कर्मचारीको मिलेमतोमा प्रश्नपत्र आउट भएको प्रहरीले निष्कर्ष निकालेको छ । मोरङ प्रहरीले यस घटनामा एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको व्यक्तिको नाम प्रहरीले सार्वजनिक भने गरेको छैन ।

परीक्षाको गोप्य शाखाका कर्मचारी नै प्रश्नपत्र बाहिर पु¥याउन संलग्न रहँदै आएको विश्वविद्यालय स्रोतको दाबी छ । प्रश्नपत्र छाप्ने कार्यमा गोप्य शाखाका कर्मचारी संलग्न हुने भएकाले उनीहरूकै माध्यमबाट बाहिरिने गरेको स्रोतको भनाइ छ ।

विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षा पहिला नै शृंखलाबद्ध रूपमा बाहिरिँदै आएको छ । यसमा परम्परागत ठूलो सञ्जाल सक्रिय रहेका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणालीलाई भरपर्दो बनाउन र यसलाई सुधार गर्न गाह्रो भएको परीक्षा नियन्त्रक प्रा.डा. संग्रौलाले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकोले सत्यतथ्य चाँडै बाहिर आउने उनले बताए ।

अहिले इन्जिनियरिङ संकायको स्नातकको चौथो, छैठौं र आठौं तहको फाइनल परीक्षा भइरहेको छ । चैत २३ देखि सुरू भएको परीक्षा वैशाख २३ गतेसम्म संचालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

बिहिबार, ०९ बैशाख, २०७८, रातीको ०८:२७ बजे

सम्बन्धित खवर