झापामा अर्को काण्ड, मृतक व्यक्तिको नाममा नक्कली नागरिकता बनाएर जग्गा किनबेच ,१० जना पक्राउ

विर्तामोड /  झापा विर्तामोडका मृतक टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उद्देश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उक्त समूहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

यसरी पक्राउ पर्नेमा झापा बाह्रदशी–३ का ३९ वर्षीय मंगल सिंह राजवंशी, झापा भद्रपुर ७ का ५२ वर्षीय नवीन कोइराला, झापा बाह्रदशी ५ का ५० वर्षीय लिलाधर राजवंशी, झापा गौरीगंज १ का ३७ वर्षीय बलराम बिश्वकर्मा, झापा शिबसताक्षी ८ का ४२ वर्षीय भुपदेव कटुवाल रहेका छन् । यस्तै झापा अर्जुनधारा ५ का ५३ वर्षीय लेखनाथ खनाल, झापा विर्तामोड ४ का ३४ वर्षीय गोविन्द वान्तवा, विर्तामोड १० का ७१ वर्षीय देवीप्रसाद पाण्डे, विर्तामोड ४ की ३३ वर्षीया रञ्जु राई र मोरङ उर्लाबारी ४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।

यो समूहले झापा विर्तामोड १ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिममा पूर्व–पश्चिम राजमार्गमा जोडिएको मृतक बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको थियो ।

जग्गा ठगी गर्नको लागि देवीप्रसाद पाण्डेलाई नक्कली टुंग बहादुर बस्नेत खडा गरेर उनको नक्कली नागरिकता समेत बनाएका थिए । उक्त नागरिकताको आधारमा २०७७ साल असोज २८ गते काठमाडौं जिल्ला अदालतबाट झापा बाह्रदशी ३ घर भई हाल बिर्तामोड २ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा समेत बनाएका थिए । त्यही वारेशनामा मार्फत झापा बिर्तामोड ४ की रञ्जु राईको नाममा मिति २०७७ साल माघ २१ गते राजिनामा पास गरेको घटनाको विषयमा इलाका प्रहरी कार्याल्य अनारमनी झापामा उजुरी परेको थियो ।

उजुरी परेसँगै १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेका मध्ये १० जनालाई पक्राउ गरि सार्बजनिक गर्न सफल भएको हो ।

यस ठगी धन्दामा अन्य सरकारी निकायका प्रतिनिधीहरुको समेतको संलग्नता तथा पहिचान भई फरार रहेको बताइएको छ । उनीहरूको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेकाहरुको विरुद्धमा ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिहिबार, ०९ बैशाख, २०७८, रातीको ०८:३८ बजे

सम्बन्धित खवर