
गौरीगंज ११, फागुन / गौरीगंज गाउँपालिका वार्ड नं ४ बेलगाछी सतारबस्तीका गरिब तथा विपन्न ११ सन्थाल परिवारको घर आज शिलान्यास गरिएको छ ।
गौरीगंज गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले विधिपुर्वक पुजाअर्चना गरि आबाँस निर्माणको उद्घाटन गरेका थिए ।


विपन्न आवास निर्माण एकीकृत वस्ती योजना अन्तर्गत गौरीगंज गाउँपालिका र ह्याविट्याट फर ह्युमानिटि नेपाल मार्फत सहारा नेपालको १ लाख ५० हजार रूपैयाँको संयुत्त लगानीमा आवास निर्माण गर्न लागिएको होे । आवास निर्माणका लागि गाउँपालिकाले १० कठ्ठा जग्गा खरिद गरेको छ । उत्त जग्गासंगै स्थानिय छटारी ताजपुरिया र नगेन्द्र ताजपुरियाले आवास निर्माणका लागि निशुल्कमा १ कठ्ठा जग्गा दान दिएका छन् । कार्यक्रममा उनीहरूलाई फुलमालाले स्वागत गरिएको थियो । घर र जग्गा निशुल्क पाएपछि ११ सन्थाल परिवारमा खुशी छाएको छ । उनीहरू यसअघि किष्णे खोलाको वाडीले बर्से्नि पिडित हुँदै आएका थिए ।
एकीकृत आवास निर्माण योजना अन्तर्गत गौरीगंज गाउँपालिका वार्ड नं ६ दमाई डाडामा ८ घर, माझी टोलामा ४ घर र वार्ड नं ५ को हरिराको मुसहरबस्तीमा १२ घर निर्माण गरिने सहारा नेपालका गौरीगंज शाखा म्यानेजर उमेश भारतीले बताए । वार्ड नं ६ दमाई डाडाका ८ घर निर्माण कार्यमा जापानको टोकियो स्थित वासेदा युनिभर्सिटीका १७ जना विध्यार्थीले सहयोग गरिरहेका छन् ।
घर निर्माणका लागि प्रत्येक परिवारलाई १ लाख ५० हजार रूपैया मध्ये ७५ हजार रूपैयाँ गौरीगंज गाउँपालिका र ७५ हजार सहारा नेपालले संयुक्त लगानी गर्ने सहमति भएको अध्यक्ष श्रेष्ठले बताए ।
जग्गा नभएका परिवारलाई जग्गा उपलब्धताका लागि गाउँ पालिकाले सहजीकरण गरिदिने अध्यक्ष श्रेष्ठले बताए । गौरीगंज गाउँपालिकामा कोही पनि घरवारविहीन नहोस भन्ने उधेश्यले यो योजना अघि बढाएको र दोस्रो चरण अन्तर्गत अन्य वडामा पनि यो योजना लागू गरिने उनले बताए ।
३ कोठे एकै डिजाइनका घर निर्माण हुन लागेको र घर निर्माण गर्दा श्रमदान अर्थात मिस्री बाहेक उपभोक्ताहरू आफै घर निर्माणमा लाग्नु पर्ने सहारा नेपाल गौरीगंज सेवाकेन्द्रका म्यानेजर उमेश भारतीले बताए । गौरीगंज गाउँपालिका वार्ड नं ४ का वडा अध्यक्ष कुलप्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं ३ का अध्यक्ष मखना महतो, ईलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख राजु दाहाल,सशस्त्र प्रहरी निरीक्षक दिपक खड्का, ह्याविट्याटका सुर्यप्रसाद कोईराला,कार्यपालिका सदस्य जेठा मुर्मु, माझी हडाम मताल टुडु, पर्शुराम राजवंशीलगायत वार्ड नं ४ का वडा सदस्यहरूको उपस्थिति थियो ।