एमाले पार्टी विभाजन र विसर्जनको डिलमा

पार्टी स्थापना दिवसको अवसरमा झलनाथ खनाल माधव नेपाल पक्षका १५ जना नेताहरुले संयुक्त अपिल जारी गर्दै आफूहरुलाई नेकपा (एमाले) मा रहन नदिन अनेक दाउपेचहरू गरिएको आरोप लगाएका छन् ।

‘२८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ । तर हामी पार्टी एकता जोगाउन चाहन्छौँ । त्यसैले हामीले नेकपा (एमाले) को एकतालाई बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छौँ’, उनीहरुले संयुक्त अपिलमा भनेका छन् ।

त्यसका निम्ति फागुन २८ र तत्पश्चात भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्ने र २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीको पूर्ण बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने उनीहरुको भनाइ छ ।

‘यदि त्यसो भयो भने नेकपा (एमाले) को एकता जोगिन्छ । एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ । यही अठोटका साथ ७२ वर्षको मिहिनेतले निर्माण भएको कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्न सबैले आआफ्नो ठाउँबाट प्रयास गरौँ । पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिस्ट पार्टीका आम नेता तथा कार्यकर्ता र समर्थक शुभचिन्तक सबैमा हामी यही हार्दिक अपिल गर्दछौँ’, १५ नेताको जोड छ ।

उनीहरुले पार्टी अध्यक्ष ओलीले फागुन २८ गते ठूलो सङ्ख्यामा रहेका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई थाहासमेत नदिई आफ्नो गुटको भेला गरेर स्वेच्छाचारी ढङ्गले निर्णय गर्दै त्यसैलाई केन्द्रीय कमिटीको बैठक भनेर वक्तव्य प्रकाशित गरेपछि अहिलेको सङ्कट आएको दाबी समेत गरेका छन् ।

‘केपी ओलीका उक्त क्रियाकलापले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको छ । सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ । वैचारिक रूपमा समेत उहाँ कम्युनिस्ट आन्दोलन र इतिहासको वैज्ञानिक चेतना, श्रमजीवी वर्गका हितबाट झन् झन् टाढा पुग्दै हुनुहुन्छ । नेकपा एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न हामीले लिएको पहलकदमीका विरुद्ध शत्रुवत आक्रमण गर्दै हुनुहुन्छ, पार्टीका नेता तथा संसदहरूमाथि तथाकथित स्पष्टीकरण र कारबाहीको नाटक गरिँदै छ । यसरी तीन वर्ष अगाडि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाका साथ उपलब्धिको एकपछि अर्को मानक बनाउँदै अगाडि बढेको यो पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको छ’, १५ नेताको निष्कर्ष छ ।

 

शुक्रबार, १० बैशाख, २०७८, बिहानको ०८:४४ बजे

सम्बन्धित खवर