२०७६ बैशाख १० मंगलबार ,काठमाडौं / विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० ग्राम नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लागि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार चार सय १८ दरबन्दी आवश्यक छ । ‘यसमध्ये केही दरबन्दी थप हुने क्रममा छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारीसाधनसमेत आवश्यकता रहेको उनको भनाइ छ ।

प्रहरीलाई खाटसमेत अभाव
धेरै प्रहरी अझै भुइँमा सुत्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । जुन समस्या समाधान गर्न प्रहरीले ‘एक प्रहरी एक खाट’ अभियान थालेको छ । जसअन्तर्गत पहिलो चरणमा १२ हजार खाट निर्माणको योजना अघि बढाइएको एसएसपी सुवेदीले बताए । त्यस्तै, करिब ११ सय प्रहरी कार्यालयमा अझै शौचालयसमेत छैन । त्यसमध्ये सात सय कार्यालयमा शौचालय बनाउने योजना प्रहरी प्रधान कार्यालयले अघि बढाएको छ ।

१८ हजार सुरक्षा समिति गठन
प्रहरीले जिल्ला, स्थानीय तह तथा टोलमा गरेर १८ हजार चार सय ६९ वटा समुदाय–प्रहरी समिति गठन गरेको छ । समुदायसँग मिलेर शान्ति सुरक्षा मिलाउन यस्ता समिति गठन भएका हुन् । ७७ जिल्ला, सात सय ४२ स्थानीय तह, पाँच हजार पाँच सय ७५ वडा, पाँच हजार सात सय ५३ टोल समिति गठन भएका छन् । त्यस्तै, ६ हजार तीन सय २२ विद्यालयसँग प्रहरीले सम्पर्क समिति गठन गरेको छ । यस अवधिमा प्रहरीले स्कुलमा गएर पढाएको समेत छ । प्रहरीको ‘प्रहरीसँग एक दिन’ कार्यक्रमअन्र्तगत एक लाख ९४ हजार पाँच सय ७८ विद्यार्थी तथा १० हजार दुई सय आठजना अभिभावक लाभान्वित भएका छन् । गत ११ कात्तिकदेखि लागू भएको यो कार्यक्रम निकै प्रभावकारी भएको प्रहरी प्रवक्ता सुवेदीको दाबी छ ।

आइजिपी खनालको एक वर्ष
सर्वेन्द्र खनालले प्रहरी नेतृत्व सम्हालेको एक वर्ष भएको छ । एक वर्षको अवधिमा आफूले प्रहरीमा धेरै सुधार गरेको दाबी उनले गरेका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा केही घटनाको अनुसन्धानमा प्रहरी असफल भए पनि संगठित र पेसेवर अपराध धेरै घटेको र सुरक्षामा सुधार आएको बताए । ‘केही काम असफल भए भन्दैमा यसलाई आइजी बनाइदिएको कामै गरेन भनेर चित्त दुखाउनुपर्ने ठाउँ छ जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘‘हामी पारदर्शी हुन चाहन्छौँ, संगठनलाई नेपाल प्रहरीमा यस्तै थियो भन्नेजस्ता नकारात्मक धारणालाई न्यून होइन, शून्य बनाउन चाहन्छौँ ।’

प्रहरी संगठन थप सुदृढ गर्ने निरन्तर प्रक्रिया भइरहेको उनको भनाइ थियो । गत वर्ष ३० चैतमा उनले प्रहरी नेतृत्व सम्हालेका थिए । त्यसपछि भएका निर्मला पन्त बलात्कारपछि हत्या घटना तथा पूर्वराजदूत केशवराज झाको हत्या घटना अझै पत्ता लागेको छैन । धेरै अनुसन्धानमा प्रहरी सफल भएको र बाँकी घटनाको पनि अनुसन्धान निरन्तर चलिरहेकाले प्रहरीप्रतिको दृष्टिकोण सकारात्मक हुन उनले आग्रह गरे । कतिपय पत्रकारले ‘यो चाहियो’ भन्दै एसएमएस गरेर बार्गे्निङ गरेकोसमेत आरोप लगाए । तर, ती पत्रकारको नाम प्रस्ट पार्न भनेपछि उनले खुलाएनन् ।

Facebook Comments Box