असली किसानको खोजी गर्ने को ?

कृषिमा लाग्ने महिलाको संख्या दोब्बर

सरकारी तथ्याङ्कले ६४ प्रतिशत जनता कृषिमा आश्रित भएको देखाएको छ । पछिल्लो समयमा व्यवसायिक कृषि गर्नेहरुको संख्या नि दिनदिनै बढ्दै गएको छ । परम्परागत कृषि गर्नेहरु त छदैछन् । अव विवादमा पर्न थालेको छ, कसलाई कृषक भन्ने विषयमा ।

साच्चै भन्नुपर्दा कसलाई रियल कृषक भन्ने ? परम्परागत रुपमा घरमा एकदुई वटा गाई वा भैसी वा बाख्रा पाल्नेलाई कृषक भन्ने कि ठूलो लगानी गरेर भर्खरै विभिन्न व्यवसायिक गाई, भैसी वा बाख्रा पाल्नेलाई रियल किसान भन्ने ? यस विषय गम्भिर र विवादरहित हुन सकेको छैन ।

परम्परागत रुपमा घरैमा आफ्नो लागि केहि थान भैसी, वाख्रा, सुँगुर वा गाई पाल्नेहरु आफुहरु रियल किसान भएको दावी गर्छन । अर्को तर्फ ठूलो लगानी गरेर व्यवसायिक गाई, भैसी, बाख्रा, सुँगुर पाल्नेहरु पनि आफुलाई रियल किसान भएको दावी गर्छन । यसैको समाधान गर्न तथ्याङ्क विभागले पशुपक्षीको ७५ जिल्लाबाट तथ्याङ्क संकलन गरेको उप(महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । उनका अनुसार दूई चरणमा तथ्याङ्क संकलन गर्ने काम भएको थियो ।
विभागले हिमाल र पहाडका जिल्लामा कम्पनीमा ४ आना जग्गामा बाली लगाएको र तराइका जिल्लामा कम्तीमा ८ धुर जग्गामा बाली लगाएको परिवारलाई कृषक मानेको थियो । यसको अलवा जुनसुकै उमेरका कम्तीमा १ वटा गाई (भैंसी पालेको वा कम्तीमा ५ वटा भेडा, बाख्रा, सुँगुर, बंगुरजस्ता चौपाया पालेको वा चल्ला र माउ गरी कम्तीमा २० वटासम्म हाँस, कुखुरा पालेको परिवारलाई कृषक मानिएको उपमहानिर्देशक अर्यालले जानकारी दिए ।

बाख्राको संख्या ५९ प्रतिशत बढेको तथ्याङ्क छ भने बंगुर तथा सुंगुरको संख्यामा ३० प्रतिशत, भेडाको संख्यामा २९ प्रतिशत, कुखुराको संख्यामा ४९ प्रतिशत, हाँसको संख्यामा ९ प्रतिशतले वृद्धि भएको छ । तथ्याङ्क संकलन गर्दाको अवधीमा मुलुकभर ६४ लाख ३० हजार गाई, गोरु, ४९ हजार चौरी गाई, ३१ लाख ७४ हजार रांगा तथा भैंसी, १ करोड १० लाख बाख्रा, ६ लाख ८ हजार भेडा, ८ लाख १८ हजार बंगुर, २ करोड ६२ लाख ६८ हजार कुखुरा रहेका छन् ।

मुलुकभित्र कृषिमा संलग्न हुने कृषकहरुको संख्या बढ्दै गएपनि खेतीयोग्य जमिन भने घट्दै गइरहेको छ । १० वर्षको अन्तरालमा कृषकहरुको भोगचलनमा रहेको जग्गा १ लाख २९ हजार हेक्टरले कमी देखिएको छ । जबकी यस अवधिमा कृषिमा संलग्न हुनेहरुको संख्या ४ लाख ६७ हजारले वृद्धि भएको छ ।

पछिल्लो समय खेतीयोग्य जमिन घरघडेरी र हाउजिङ्गमा परिणत हुन थालेपछि यस्तो अवस्था देखिएको हो । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना अनुसार २५ लाख २५ हजार हेक्टर जमिन ३८ लाख ३१ हजार कृषकहरुले भोगचलन गर्दै आएका छन् । विभागका निर्देशक अम्बिका बस्यालले बढ्दो सहरीकरणका कारण १० वर्षको अवधीमा खेतीयोग्य जमिन घट्दै गएको बताए । सबैभन्दा बढी कृषि क्षेत्रफल भएका जिल्लाहरुमा मोरङ, झापा, सर्लाही, सिरहा र सुनसरी रहेका छन भने कम क्षेत्रफल भएका जिल्लाहरुमा मनाङ्ग, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका छन् ।
नेपालको ५३ प्रतिशत खेतीयोग्य जमिनमा सिचाई पुगेको विभागले जानकारी दिएको छ । जसमध्ये सबैभन्दा बढी वारा र रौटहटमा ९२ प्रतिशत, सुनसरी र कैलालीमा ९० प्रतिशत र कञ्चनपुरमा ८९ प्रतिशत खेतीयोग्य जमिन सिंचित रहेको छ ।
विभागका अनुसार ४८ प्रतिशत जमिन नदी र तलाउबाट, ३० प्रतिशत जमिन ट्युबेल तथा बोरिङबाट १६ प्रतिशत बाँध तथा रिजरभ्वयरबाट, ४ प्रतिशत अन्य स्रोतबाट र २ प्रतिशत मिश्रति स्रोतबाट सिंचित हुँदै आएको छ ।

विभागको तथ्याङ्क अनुसार कृषिमा संलग्न ८३ प्रतिशत कृषकहरुको मूख्य आय स्रोत कृषि भएपनि ६० प्रतिशत कृषकलाई आफ्नो उत्पादनले वर्षभरी खान पुग्दैन् । यस अवधिमा महिला कृषकको संख्या भने दोब्बर वृद्धि भएको छ । २०५८ सालको कृषि गणनामा मुख्य कृषकमध्ये ८ प्रतिशत महिला थिए भने यस पटकको गणनामा त्यो संख्या बढेर १९ प्रतिशत पुगेको छ । पछिल्लो समय पुरुषहरु विदेशिन थालेपछि महिला कृषकको संख्यामा वृद्धि भएको विश्लेषकहरु बताउँछन् ।

कृषि गणना गर्दा २२ प्रतिशत कृषक परिवारले कृषि ऋण भएको बताएका छन भने ४२ प्रतिशत कृषकले कृषि ऋण चाहिएको बताएका छन् । ३६ प्रतिशत कृषकले भने कृषि ऋण नभएको र नचाहिएको प्रतिक्रिया व्यक्त गरेको विभागले जनाएको छ ।
यस अवधिमा अन्न बाली लगाउने जग्गाको क्षेत्रफल ९ प्रतिशतले घटेको छ भने धान र गहूँ बालीको ६र६ प्रतिशत, मकै बालीको १२ प्रतिशत, कोदो बालीको १९ प्रतिशत, जौं बालीको ३५ प्रतिशत, फापर बालीको ४० प्रतिशत कोषे तथा दाल बालीको २१ प्रतिशत र तोरी बालीको १३ प्रतिशत क्षेत्रफल घटेको छ । तर, आलु, अरु नगदे बाली, मसला बाली र तरकारी बालीको क्षेत्रफल भने क्रमशः २० प्रतिशत, १२ प्रतिशत, ७ प्रतिशत र ४१ प्रतिशतले बढेको छ ।

तरकारी खेती गर्ने परिवारको संख्यामा भने दोब्बर बृद्धि भएको देखिन्छ । २०५८ सालमा ९ लाख ७७ हजार कृषक तरकारी खेतीमा संलग्न देखिएकोमा ०६८ सालमा १९ लाख ३१ हजा कृषक तरकारी खेतीमा लागेको देखिएको छ । समग्र खेतीयोग्य जमिन घटेको देखिएपनि तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल भने ४० प्रतिशतले बढेको देखिन्छ । २०५८ सालमा ६० हजार हेक्टर जमिनमा तरकारी खेती गरिदै आएकोमा २०५८ सालमा ८४ हजार हेक्टर जमिनमा तरकारी खेती गर्न थालिएको छ ।

विभागका अनुसार तरकारीबालीको धेरै क्षेत्रफल भएका जिल्लाहरुमा इलाम, झापा, चितवन, धादिङ्ग र मोरङ्ग रहेका छन् । यी जिल्लाहरुमा क्रमशः ४ हजार ३ सय ९३, ४ हजार ४४, ३ हजार ६ सय ९१, ३ हजार ३ सय ८६ र ३ हजार ३ सय २४ हेक्टर जमिनमा तरकारी खेती गरिएको छ । १० वर्षको अवधिमा फलफूलको क्षेत्रफलमा पनि उलेख्य बृद्धि भएको छ । विभागका अनुसार सुन्तलाको ८६ प्रतिशत, केराको ५६ प्रतिशत, स्याउको २४ प्रतिशत क्षेत्रफल बढेको छ । त्यस्तै जुनारमा ६१ प्रतिशत, कागतीमा ३७ प्रतिशत र आँपमा ३ प्रतिशत क्षेत्रफल घटेको छ ।

मङ्गलबार, १० बैशाख, २०७६, बिहानको ०९:२१ बजे

सम्बन्धित खवर