दमक /   ब्यवसायिक क्षेत्रमा लामो समय देखि क्रियाशिल युवा ब्याक्तित्व संगम शर्मा चम्लागाईं सम्मानित भएका छन् । उनलाई राष्ट्रिय नागरिक सेवा सम्मानबाट सम्मानित गरिएको हो । नागरिक एकता समाज काठमाण्डौंले आयोजना गरेको एक कार्यक्रमकाविच उनलाई सम्मान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र नागरिक एकता समाजका अध्यक्ष सिताराम कार्कीले शर्मालाई सम्मान पत्र सहित सम्मान गरेका थिए । शर्मालाई सामाजिक क्षेत्रमा निष्ठापूर्वक सेवा गरेको र आगामी दिनमा पनि सामाजिक सेवाको अपेक्षा सहित सम्मान गरिएको उनका भाइ विमल शर्माले जानकारी दिए ।

को हुन संगम शर्मा
कोइलाको कारोबारमा सक्रिय रहँदा संगम शर्माको पहिचान दुईवटा थियो – कोइला किन्नेहरु उनलाई साहु ठान्थे र बेच्नेहरु चाहिँ ग्राहक। भारतबाट पूर्वी नेपाल हुँदै काठमाडौंका इट्टा भट्टासम्म कोइला पुर्यााउँथे उनी। सगोलको परिवारलाई धान्ने यही मात्र व्यवसाय थियो । कसैले साहु र कसैले ग्राहक ठाने पनि उनको व्यवसायिक खातामा भने उठाउनुपर्ने भन्दा तिर्नुपर्ने रकमको मात्रा बढ्दै थियो। कलेक्सन हुनेभन्दा तिर्ने रकम चुलिनुले एउटै खतराको संकेत गरिरहेको थियो – विकल्प नसोच्ने हो भने खैरियत छैन । आजभन्दा २२ वर्ष अघि एउटा दुर्घटना भयो जुन व्यवसायिक यात्राको एउटा फरक मोड बन्न पुग्यो संगमका लागि ।

’२०४८ सालतिर धरमपुरका सडकमा कुखुरा, सुंगुर मनपरी छाडिन्थे। गाडीले किचेपछि सडक पूरै ठप्प,’ झापाको धरमपुरको अवस्था सम्झिँदै उनले भने, ’त्यहीँ एक भारतीय गाडीले ठक्कर दिँदा मानिस घाइते भए। उनलाई धरान उपचारका लागि लगियो। उपचारका लागि ट्रान्सपोर्टर जुटे पनि उनलाई सम्पर्क व्यक्ति चाहियो ।’ दुर्घटनासँग कुनै नाता नजोडिए पनि घाइते राखिएको धरानको अस्पताल र झापाको प्रहरी चौकी आउजाउ गरिरहन ती व्यवासायीसँग संगम जोडिए। त्यही घटनामा ओहरदोहर गरिरहँदा दमकमा रात विताउन पर्दा निक्कै ठूलो सकस भयो उनलाई। आमा साकाहारी भएकाले उनी पनि मांसहारी खाना नखाने, कुनै भोजनालय पनि मिलेन आफू अनुकूल। उनी बस्ने धरानतिर माडवारी भोजनालय चलिसकेको भए पनि यता केही थिएन ।
’आफूले चाहेजस्तो भोजनालय बनाउनुपर्ने कुरा गरेँ त्यतिखेर,’ उनले भने, ’मेरो कुरा सुनेर धेरैले हासेरै उडाए त्यतिखेर।’ अरुले जे भने पनि उनले लागेको काम थालिहाले। भारतमा गएर कुक खोजे। त्यहाँको रेसिपीमा थोरै थपघट गरे र आफ्नै शैलीको बनाए । ’उता धेरै चिल्लो र पिरो हुने, मैले त्यो कम गराएर आफ्नै शैली तयार गरेँ। यति गरिरहँदा मसँग कुनै तालिम थिएन,’ उनले भने । साकाहारीलाई मात्र लक्षित भोजनालयको नाम जुटाउन कठिन थिएन, आफ्नै नाम काफी थियो – खडा भयो संगम स्विट्स। कोइला कारोबारसँगै सुरु भएको संगम स्विट्सका अहिले झापा र काठमाडौंमा ७ वटा आउटलेट छन्। एयरपोर्टमा एउटा तयार हुँदैछ, दुई महिनामा अपरेसनमा आइसक्ने तयारीका साथ। गुलियो व्यवसायको यात्रामा रहेका उनले धुलोसँग जोडिएको कोइलाको कारोबारलाई भने छाडिसके ।

जुन ब्रान्डले उनलाई चिनायो
संगम शर्मालाई अहिले कसैले चिनाएको छ भने उनकै ब्रान्डले। सामान्य परिवारबाट एउटा मिठाइको दुनियामा स्थापित शर्मा त्यसैमा गर्व गर्छन्।

’जो मानिस २२ वर्ष अगाडि हामीकहाँ आउनुहुन्थ्यो। अहिले पनि आइरहनु भएको छ,’ उनले भने, ’यो नै सबैभन्दा बढी कमाएको विषय हो । मैले जति व्यक्तिगत मान सम्मान र पहिचान पाएँ यही व्यवसायबाट पाएको हुँ ।’स्विट्स व्यवसायमा लामो समय सक्रिय रहिसकेका उनले दुईखाले व्यवासायी देखेका छन्। पहिलो व्यवसायबाट कमाउने र दोस्रो पाएसम्म लुटेरै कमाउने । ’मेरी श्रीमती अहिले पनि फ्याक्ट्रीमै छिन्। तीन भाइ र बुहारीहरु पनि यही व्यवसायमा छौं,’ कमलादी मोडमा रहेको संगममा गफिँदै उनले भने, ’चार दिन कमाएर पाँचौं दिन कुम्लो कसेर भाग्ने खाले व्यवसाय होइन यो ।’ सबै आउटलेटमा गरी २ सय जनाले रोजगारी पाएका छन् संगम स्विट्समा। ’म र मेरो परिवारसहित स्टाफहरु सबै यहीँ बसेर खाइरहेका हुन्छौं, हामी अरु कसैका लागि होइन, आफ्नै लागि बनाउँछौं,’ उनले भने । त्यसो त नेपाली समाजमा मिठाइलाई निकै चोखो मानिन्छ। पवित्र पनि। कुनै खुसियाली होस् या उद्घा टन नै लड्डुको उपस्थिति अनिवार्य हुने गर्छ । ’आमा साकाहारी भएकाले हाम्रो घरमा मांसहारी खाना पाकेन,’ उनले भने, ’त्यसैले कुनै पनि आउटलेटमा स्टाफले समेत मासु पकाएर खान पाउँदैन।’ आमाको संस्कारलाई नै व्यवसायको मार्गदर्शन मानेका छन् उनले। उनको किचेनमा मिठाइका मिस्त्री आधा नेपाली छन् आधा भारतीय । ’सुरुमा त नेपालमा भारतमा जति पैसा दिन्नन् भन्ने रहेछ,’ उनले अनुभव सुनाए, ’तर, काम गर्न सक्नेलाई यहाँ उताभन्दा कम छैन। सीप जान्ने हो भने विदेश गइरहनु नै पर्दैन ।’

इलामको घ्यू, झापाको खुवा
पूर्वबाट उदाएको उनको व्यवसाय काठमाडौंको कमलादीबाट राजधानी प्रवेश गर्योस। वानेश्वर र कालिमाटीमा पछि थपिए, विमानस्थलमा बन्दैछ। झापाकै विर्तामोड र उर्लावारीमा पनि छ संगम। संगठित रुपमा मिठाइ व्यवसायमा उनीजस्ता व्यवसायी खासै छैनन्, यद्यपि स्विट्सको बजार विस्तार जारी छ ।

मल्टिनेसनल ब्रान्डहरु नेपालमा पनि स्थापित भइसकेका छन्। भारतका चर्चित मिठाइका ब्रान्डले नेपालमा राम्रो कारोबार गरिरहेका छन्। संगमको प्रतिस्पर्धा यिनै ब्रान्डहरुसँग हो। त्यसैले संगम शर्मासँग चुनौती पनि उत्तिकै छ – गुणस्तर कायम राख्नेबारे । ’कमलादीमा सुरु गर्दा कहिलेकाही जारको पानी सकिन्थ्यो। मैले यहीको पानी चलाइन,’ उनले भने, ’कमल होटलमा पुगेर जारको पानी सापटी ल्याएरै पनि गुणस्तरमा सम्झौता गरिन ।’ उनले कमलादीमा आउटलेट सुरु गर्दा धेरैका लागि अनौठो थियो – यस्तो अधकल्चो ठाउँमा कसरी चल्छ? न बस स्टेसन, न मल र बजार नै। मानिसको दोहोरो आवतजावत पनि होइन। तर, चल्यो अनि फ्रेन्चाइज विस्तारका लागि बाटो पनि खोल्यो ।

अर्को सिकाइकै पाटो
संगम स्विट्सले केही समयअघि अप्रत्यासित सिलबन्दी बेहोर्यो । ५ वर्षअघिमात्र खुलेको वानेश्वरको आउटलेटभित्र काला भाँडा चम्काउन प्रयोग गरिएको हाइड्रो (१ र डेट एक्सपायर कोकोनट पाउडर फेला परेको भन्दै सरकारी अनुगमन टोलीले सिल लगायो । वानेश्वर मिलनचोकमा रहेको फ्याक्ट्रीमा पनि सिलबन्दी गरियो। अनुगमन गर्न गएको टोलीले यी दुई पदार्थका बट्टा फेला पारे पनि खाद्यान्नमा प्रयोग भएको पाएन । सिल खुल्यो, पहिले झै मिठाइको कारोबार सुरु भयो । ’यसले राम्रो सिकाइ बन्यो, डेट एक्सपायर भएका समान राख्ने बेग्लै रुम तयार गर्नुपर्छ भन्ने सिकाएको छ,’ संगमले अनुगमनमाथि प्रतिक्रिया दिए, ’मेरा लागि अनुगमनकर्ता भनेका त मेरा ग्राहक नै हुन् ।

आफ्नो प्रडक्टमा उनी जति निर्धक्क छन्, त्यति नै शंका गर्छन्, किन्नुपर्ने सामानमा। त्यसैले उनी बेसन नै किन्दैनन्। दाल किन्छन् र आफैँ बनाउँछन्। तर, सबै बस्तु यसरी नै तयार गर्न सकिन्न । नेपालमा लेबल राखेर बिक्री हुने धेरैजसो वस्तुहरु बोराका बोरा भित्रने हुन् । यहाँ त तिनैलाई प्याकेजिङ गरेर लेबल लगाइनेमात्र हो। ’पाएमध्येको महँगो लिँदा गुणस्तरीय होला भन्ने ठान्छु,’ उनले भने ।
अनुगमनमा २२ वर्षको व्यवसायिक जीवनमा उनीमाथि नै प्रश्न खडा भयो । नामको पहिचानमाथि नै प्रश्न उठ्दा चोट पनि लाग्यो। तर, चोटको जवाफ तयार छ। ’कमजोरी नै छ भने सुधार्ने हो। यसलाई पाठको रुपमा सिक्ने हो,’ उनी निर्धक्क सुनिए, ’अरुसँग प्रतिस्पर्धा होइन, व्यवस्थापन थप राम्रो गर्न पाठ सिकाएको छ ।’ कोइला कारोबारबाट मिठाइको दुनियामा स्थापित संगम व्यवसाय विस्तारका लागि पनि गृहकार्य गरिरहेका छन् । दुई चारवटा आउटलेट नेपालमै र केही बाहिरी देशमा पनि पुर्यापउने लक्ष्य छ उनको । भने, ’यो मेरो पहिचान र साना छोराछोरीको भविष्य पनि हो ।’

 

Facebook Comments Box