सरकारलाई हतियार बुझाउँदै समर्पण गर्दै

सुनसरी,८ पौष / खम्बुवान मुक्ति मोर्चा (संयुक्त) ले सरकारी वार्ता टोली समक्ष शनिबार हतियार बुझाएको छ। वार्ताटोली संयोजक डेबिड खुम्बु सहितको टोलीले सरकारद्बारा गठित राजनीतिक वार्ता टोली संयोजक सोमप्रसाद पाण्डे समक्ष हतियार बुझाएको हो।


समूहले शनिबार बुझाएका हतियारमा ५ थान भरुवा बन्दुकसहित एउटा पेस्तोल, म्यागजिन र ४ थान गोली रहेको छ। मोर्चा र सरकारी वार्ता टोलीबीच सुनसरीमा भएको वार्ता सकारात्मक भएपछि मोर्चाले निःशस्त्र भएको घोषणा गरेको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीमा पत्रकार सम्मेलनका बीच मोर्चाले सरकारी वार्ता टोेली समक्ष हतियार जिम्मा लगाएको हो।
त्यसैगरी गत २७ गते मोरङ प्रशासनमा वार्ता टोलीसँगको सहमति पश्चात शान्तिपूर्ण राजनीतिमा फर्किएको तराई मुक्ति मोर्चाले आफूसँग बाँकी रहेको एक थान पेस्तोल समेत सुनसरी प्रशासनमा पुगेर सरकारी टोलीको जिम्मा लगाएको छ। सरकारद्बारा गठित राजनीतिक वार्ता टोली संयोजक पाण्डेको टोली हतियार बुझ्न शनिबार बिहान सुनसरी आएको थियो।