अझै मिलेन प्रदेश १ मा मन्त्रालयको भागबण्डा, दुई मन्त्री नियुक्त हुन सकेनन्

विराटनगर/ प्रदेश सरकार बजेको यतिका समय वितिसक्दा पनि प्रदेश १ को मन्त्रालय संरचनाले अझै पूर्णता पाउन सकेको छैन । ९ मन्त्रालयमध्ये हालसम्म माओवादीले २, राप्रपा र जसपाले १–१ मन्त्रालय पाएका छन् । एमालेले भने मुख्यमन्त्रीसहित ३ पाएको छ । एमाले र माओवादीले १–१ मन्त्रालय बाँडेर लिँदा माओवादीको ३ र एमालेको ४ मन्त्रालय हुन्छ । बाँकी रहेका दुई मन्त्रालयमध्ये एउटा आफूलाई दिन माओवादीले मुख्यमन्त्री कार्कीलाई दबाब दिइरहेको छ । एमालेले भने सांसद संख्याको आधारमा माओवादीको भागमा २ मन्त्रालयमात्रै पर्ने बताउने गरेको छ । यही विषयमा भागबण्डा नमिल्दा मन्त्री नियुक्ति प्रभावित बनेको हो । त्यसमा पनि राष्ट्रपति कसलाई बनाउने भन्ने विवादले यो विषय झनै ओझेलमा परेको छ ।


सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा कार्यदल बनेको थियो । उक्त कार्यदलले न्यूनतम साझा कार्यक्रम सरकारलाई बुझाइसकेको छ । तर, सोही कार्यक्रम अनुसार सरकारले आफ्नो आधिकारिक कार्यक्रम कस्तो हुने भन्ने अझै टुङ्गोमा पुगिसकेको छैन ।