वन्यजन्तु उद्धारकेन्द्र बन्दै जामुनखाडी

झापा / कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वन प्राणी उद्धार केन्द्र बनेको छ । सामुदायिक वनको १० बिघा जमिनमा उद्धार केन्द्र निर्माण गरिएको छ ।


प्रदेश सरकार र सामुदायिक वनको करिब २ करोड रुपैयाँ लगानीमा बनेको आधुनिक उद्धार केन्द्रमा यतिबेला वनभित्र रहेका पशुपक्षीलाई धमाधम स्थानान्तरण गरिरहेको वन उपभोक्ता समितिका अध्यक्ष खेम सिटौलाले जानकारी दिए । सामुदायिक वनले पर्यापर्यटन सुरु गरेदेखि पाल्न सुरु गरेका र इलाम, ताप्लेजुङ, पाँचथर र जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेका पशुपक्षीलाई उद्धार केन्द्रमा राखिएको छ ।
प्रदेश १ मा पहिलो पटक स्थापना भएको केन्द्रमा हाल दुई दर्जन बढी विभिन्न प्रजातिका पशुपक्षी राखिएको छ । केन्द्रमा राखिएका पशुपक्षीलाई थुनिएको आभास नहुने सिटौलाले दावी गरे । पहिलो साँघुरो रहेकोमा अहिले खुल्ला र फराकिलो ठाउँ छ बनाइएको, प्राकृतिक पोखरी रहेको र वरिपरि मात्र तारवारले व्यवस्थित घेराबारा गरिएकोले वन्यजन्तुलाई पनि सहज भएको उनले बताए ।
नेपाल सरकारले सात प्रदेशमा प्राणी उद्धार केन्द्र बनाउने नीति ल्याएको थियो । सोही अनुसार जामुनखाडीमा उद्धार केन्द्र बनेको हो । जामुनखाडी सामुदायिक वन विसं २०६५ देखि नै खुला चिडियाखानाका रूपमा परिचित छ ।वनको खुल्ला चिडियाखानामा हाल चित्तल, रतुवा र अन्य जातका मृग, चितुवा, नीलगाई, अजिङ्गर, भालु, हिमाली गिद्ध, चरिबाघ, कछुवालगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएको छ । जिल्लाभित्र, बाहिरबाट घाइते, बिरामी अवस्थामा भेटिएका, सङ्कटमा परेका लोपोन्मुख, संरक्षित वन्यजन्तुलाई उद्धार गरेर डिभिजन वन कार्यालय, प्रहरी र स्थानीयवासीले नै उपचार र संरक्षणका लागि ल्याइदिने गरेका छन् ।
पशुपक्षीलाई पशु चिकित्सकलाई ल्याएर उपचार गरिरहेको सामुदायिक वनले जनाएको छ । अध्यक्ष सिटौलाका अनुसार वन्यजन्तु र पक्षीको हेरचाह, उपचार, कर्मचारी र खाना खर्चमा मात्र मासिक करिब ६ लाख रुपैयाँ खर्च भइरहेको छ ।चिडियाखाना र सिमसार क्षेत्रको घुमघामका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक गरी जामुनखाडी सामुदायिक वनमा वार्षिक एक लाख बढी पर्यटक आउने गरेको उनले बताए । पर्यटकसँग प्रतिव्यक्ति एक सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । ६३४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनको सिमसार क्षेत्रमा ४० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
वनभोजस्थलका रूपमा चिनिएको जामुनखाडी क्षेत्रका गङ्गा र जमूना नामका दुई ठूला जलाशयलाई संरक्षण गरेर सामुदायिक वनले पर्यटकीयस्थल निर्माण गरेको हो । सो क्षेत्रमा पालिएका जनावर, पोखरीमा नौका विहार, झोलुङ्गे पुल, बाल उद्यान केन्द्र र मिनी रेलले पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।