होलीमा भिडभाड गर्न बन्देज

झापा / नेपाल–भारतको सीमा नाकामा कडाइसँगै नजिकिँदै आएको फागु पूर्णिमा अर्थात् होली पर्व मनाउँदा भीडभाड नगर्न/नगराउन जिल्ला प्रशासन कार्यालय झापाले आग्रह गरेका छन्।

छिमेकी मुलुक भारतका केही राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा मङ्गलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न बुँदामा निर्णय गरेको छ।

केन्द्रको बैठकमा आउँदो चैत १६ गते सोमबार तराईमा मनाइने होली पर्वमा भीडभाड नगर्न/नगराउन सबैमा आग्रह गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने र मास्क नलगाउनेलाई संक्रमण रोग ऐनबमोजिम कारबाही गर्ने निर्णय भएको छ।

संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेनटाइन, आइसोलेसन केन्द्रहरूलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रबाट प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्न सबै स्थानीय तह तथा स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ।

खुला सीमालाई व्यवस्थित बनाउन सुरक्षा निकायहरूले अनिवार्य अभिलेख राख्ने व्यवस्था गर्ने र नेपाल प्रवेश गर्नेलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउने र बेलुकी ९ बजेसम्म मात्र भीडभाड नहुने व्यवस्था मिलाउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए।

गृह मन्त्रालयले प्रशासन कार्यालय झापामा सोमबार पठाएको पत्रमा कोरोना संक्रमण बढ्न नदिन आम नागरिकहरूलाई सजक र सतर्क रही स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्ने तथा थप सावधानी अपनाउन प्राप्त निर्देशन आएकोले सोही बमोजिम बैठक बसी यस्तो निर्णय गरिएको उनले बताए।

पछिल्लो समयमा भारतको महाराष्ट्र, तामिलनाडु, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएको छ।

ती आठ राज्यमा दैनिक ४० हजार बढी कोरोनाका संक्रमित थपिँदै छन्। ती राज्यमा कोरोनाको दोस्रो लहर देखिएपछि सीमा नाकामा कडाइसँगै रोजगारीमा भारत गएका नेपालीहरू पनि अहिले धमाधम स्वदेश फर्किन थालिसकेका छन्।

बुधबार, ११ चैत, २०७७, बिहानको ०८:५८ बजे

सम्बन्धित खवर