झापाको जलथलले ल्याएको हलचल

कमल मादेन

झापाको जलथल जंगल जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण छ। त्यसबारे यो पंक्तिकारले चासो राखेर बेलाबखत लेख्दै आएको छ। गत २३ फागुनमा प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जलथल जंगल भएर निर्माण गरिने सडकका निम्ति प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गर्ने सम्बन्धमा जारी गरेको सूचनाले स्वाभाविक रूपमा ध्यान तान्यो।

करीब सात महीनाअघि स्थानीय सामुदायिक वन उपभोक्ता समूह सम्बद्ध व्यक्तिहरूसँग कुराकानी गर्दा झापास्थित हल्दीबारी गाउँपालिका–४ र ५ को संगम रहेको अधिकारी चोकभन्दा केही पूर्वबाट जलथल जंगलभित्र दक्षिणतर्फ जाने सडक खोलिँदै छ भनेर थाहा भएको थियो।

जैविक तथा भौगोलिक विविधताका हिसाबले अत्यन्तै महत्त्वपूर्ण जलथल जंगल जोगाउन त्यसभित्र थप सडक बनाउनु हितकर हुँदैन। विकासको नाममा जंगलबाट सडक खोल्नु भनेको जैविक विविधता संकटमा पर्नु हो।
उनीहरूले चिन्ता प्रकट गर्दै भनेका थिए, ‘अधिकारी चोकबाट जलथल जंगल भएर दक्षिणतर्फ जाने बाटो छँदै छ। पहिले नै बाटो हुँदाहुँदै त्यसको डेढ किलोमिटर जति पूर्वतर्फबाट अर्को बाटो बनाउँदा जलथल जंगल खण्डित हुन्छ। भूमाफियाको मिलेमतोमा जंगल मास्ने योजना भइरहेको छ, थप सडक खोल्न रोक्नुपर्छ।’

स्थानीयले चिन्ता माने झैं जैविक तथा भौगोलिक विविधताका हिसाबले अत्यन्तै महत्त्वपूर्ण जंगल जोगाउन त्यसभित्र थप सडक बनाउनु हितकर हुँदैन। विकासको नाममा जंगलबाट सडक खोल्नु भनेको जैविक विविधता संकटमा पर्नु हो। यस्तो कार्य राज्यले बनाएका नीति नियमको प्रतिकूल पनि हुन्छ।

अनौठो जंगल

भौगोलिक दृष्टिले अनौठो जंगल हो, जलथल। त्यहाँ खोला, खोल्सा, सिमसार, पोखरी र कतै उच्च भूभाग, खुला चौर आदि छन्। पहाड र तराई दुवैतिर हुने बडेमानका रूखहरू पाइन्छन्। त्यहाँ मसुरे कटुस, ढाल्ने कटुस, चिलाउने जस्ता पहाडमा पाइने वनस्पति पाइनु आश्चर्य मान्नुपर्छ। पूर्वी नेपालमा अत्यन्त विरलै पाइने थाकल (साइकस पेक्टिनाटा), रामफल (डिल्लेनिया इन्डिका), लटहर (एर्टाेकार्पस चामा), ठेकीफल/ढेंडु झुला (एल्फोन्सिया भेन्ट्रिकोसा), बाँदर झुला (उभारिया ह्यामिल्टोनी) आदि प्रशस्त मात्रामा पाइन्छन्।

सल्लो वर्गको वनस्पतिमा पर्ने थाकल चुरेमा विरलै पाइन्छ। तराई क्षेत्रमा कतै पाइएको जानकारी छैन। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को ‘रेडलिस्ट’ अन्तर्गत यो लोपोन्मुख (भल्नरेवल) प्रजाति हो। यसैगरी, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि (साइटिस) मा समेत सूचीकृत गरिएका कारण थाकल महत्त्वपूर्ण हुने नै भयो।

थाकल ।जलथल जंगलमा पहाड र तराई दुवैतिर हुने बडेमानका रूखहरू पाइन्छन्। त्यहाँ मसुरे कटुस, ढाल्ने कटुस, चिलाउने जस्ता पहाडमा पाइने वनस्पति पाइनु आश्चर्य मान्नुपर्छ।
थाकल पाइने विभिन्न देशमा यसको कलिलो पात तरकारीका लागि उपयोग गरिन्छ। यसको बोक्रा र बिउ पिसेर तेल मिसाई बनाएको लेप छाला चिलाउने, फोका निस्केको, दुखेको ठाउँमा लगाउँदा लाभ हुने जानकारहरू बताउँछन्। यस्तै, पेटको वायु हटाउन र बान्ता रोक्न यसको कलिलो पातको जुस प्रयोग गरिन्छ भनेर लेखिएको पाइन्छ।

रामफल हात्तीका निम्ति स्वादिष्ट मानिन्छ। फलको आकार झन्डै स्याउ देखिने भएकाले यसलाई ‘एलिफेन्ट एपल’ पनि भनिन्छ। जलथल जंगलमा हात्ती रहनुको एक कारण रामफल पनि हो।

ठेकीफल एकदमै स्वादिष्ट फल हो। यो वनस्पति नेपालको सुनसरी जिल्लादेखि बर्माको दक्षिणी सीमासम्म पाइन्छ। ठेकीफलभन्दा सानो आकारको फल हुने बाँदर झुला पनि स्वादिष्ट हुन्छ। यो एउटै झुप्पोमा धेरैवटा फल्छ।

लटहरको फल दुई हत्केलाभरिको हुन्छ। काँचो फल तरकारी तथा अचार बनाउन गरिन्छ भने पाकेपछि गुलियो र केही अमिलो हुन्छ। पाकेको लटहरको कोया कटहरको जस्तै, तर सानो हुन्छ। ओसिलो र चिस्यानयुक्त स्थानमा हुने यो वनस्पति सुनसरीदेखि एसियाको सबैभन्दा ठूलो द्वीप बोर्नियोसम्मका भूभागमा पाइन्छ। सुनसरी, मोरङमा चाहिँ एकाध वटा रूख मात्रै बाँकी छन्। गैरसरकारी संस्था फरेस्ट एक्सन नेपालका डा. लीलानाथ शर्माले ५ चैतमा इ–कागज अनलाइन पोर्टलमा प्रकाशित लेखमा जलथल जंगलमा लटहर प्रशस्तै पाइने उल्लेख गरेका छन्।

यो पंक्तिकारले नेपालमा सन् १९६८/६९ देखि अहिलेसम्म नदेखिएको मुसे मृग जलथल जंगलमा पाइने सन्दर्भमा गत २६ पुसमा हिमालखबरमा प्रकाशित लेखमा लेखेको थियो। नेपालमा मुसे मृग हिजोआज जलथल जंगलमा मात्र बचेको अवस्था हुन सक्छ।

जलथल नेपालको संरक्षित वन्यजन्तुमा हात्तीको मुख्य बासस्थान हो। यसका साथै, चाइनिज प्याङगुलिन, अजिंगर पनि पाइन्छ। झापाका वन्यजन्तु अध्येता अस्मित सुब्बाले त्यहाँ राजधनेश (ग्रट हर्नविल) र इन्डियन प्याङगुलिन पनि फेला पारेका छन्। झापाकै देवेन खरेलले कालो स्टर्क भनिने संरक्षित पन्छी पनि जलथल जंगल आसपासमा रहेको उल्लेख गरेका छन्।

विकासको नाममा दुर्नियत

प्रदेश १ सरकारको यातायात पूर्वाधार निर्देशनालयका अनुसार, जलथल जंगलमा निर्माण गर्ने भनिएको प्रस्तावित सडकको लम्बाइ १७.३९ कि.मि. र चौडाइ ७.५ मिटर रहेको छ। सडकको करीब ५.५ किमि खण्ड जलथल जंगलमा भएर जान्छ। सडकको चौडाइ ५‍.५ मिटर हुने भनिए पनि दायाँ–बायाँ पानी बग्ने ड्रेन, बिजुलीका पोल आदि संरचना पनि थपिने भएकाले १०/१२ मिटर चौडा भूभाग यसै ओगट्छ।

प्रदेश १ सरकारको यातायात पूर्वाधार निर्देशनालयले जारी गरेको सूचनामा सडक खण्डमा जंगल पनि पर्छ भन्ने संकेतसम्म गरिएको छैन। स्थानीयहरू प्रदेश सरकारले सडक नयाँ ठाउँमा खोल्ने योजना बनाएको बताउँछन्। जसलाई सूचनामा सडक स्तरोन्नति भनिनु सरासर बदमासी हो।
तर, अचम्म के छ भने, निर्देशनालयले जारी गरेको सूचनामा सडक खण्डमा जंगल पनि पर्छ भन्ने संकेतसम्म गरिएको छैन। निर्देशनालय अन्तर्गत पूर्वाधार विकास कार्यालय, झापाका इन्जिनियर सुजन दाहालले भने अधिकारी चोक पूर्वतर्फबाट प्रस्तावित सडक जलथल जंगल भएर जाने बताए। दाहालका अनुसार, पूरै नयाँ सडक बनाउने नभई मानिस हिँड्ने गरेको बाटोलाई नै स्तरोन्नति गर्न लागिएको हो। जबकि, मानिसहरू घाँस–दाउरा जाँदा हिँड्ने बाटो त अनेक हुन्छन्।

स्थानीयहरू प्रदेश सरकारले सडक नयाँ ठाउँमा खोल्ने योजना बनाएको बताउँछन्। जसलाई सूचनामा सडक स्तरोन्नति भनिनु सरासर बदमासी हो। स्तरोन्नति भनेको त भइरहेको बाटोलाई सुधार गरी फराकिलो पार्नु, गिटी बालुवा हाल्नु वा कालोपत्रे गर्नु हो।

प्रदेश १ का प्रदेश सभा सदस्य वसन्त बानियाँले केही महीनाअघिको फोन सम्पर्कमा ‘प्रस्तावित सडकले जंगललाई केही क्षति गरे पनि जिल्लाको दक्षिणतर्फ बसोबास गर्ने जनताका लागि त्यो सडक बन्नु अपरिहार्य रहेको’ बताएका थिए। यसबाट अधिकारी चोकबाट जंगल भएर दक्षिणतर्फ जाने बाटोबाहेक अर्को बाटो बनाउन लागिएको पुष्टि हुन्छ। सडक बनेपछि जग्गाको भाउ बढ्छ भनेर जलथल जंगल विनाश भए होस् भन्ने सोच जलथल जंगल दक्षिणतर्फका बासिन्दाको छ।

कानून विपरीतको काम

वन ऐन २०७६ को परिच्छेद १२ मा विकास आयोजना सम्बन्धी व्यवस्था शीर्षकमा ‘राष्ट्रिय वनको कुनै पनि भाग वनक्षेत्रको भू–उपयोग परिवर्तन हुने गरी प्रयोग गरिने छैन’ भनिएको छ। तर, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, लगानी बोर्डबाट लगानी स्वीकृत भएको आयोजना, राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न वनक्षेत्रको प्रयोग गर्न बाहेक अन्य कुनै पनि विकल्प नभएमा र प्रचलित कानून बमोजिको वातावरणीय परीक्षणबाट त्यस्तो योजना सञ्चालन गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने देखिएमा नेपाल सरकारले त्यस्तो योजना सञ्चालन गर्न राष्ट्रिय वनको कुनै भाग प्रयोग गर्न तोकिए बमोजिम स्वीकृति दिन सक्नेछ।

माथि चर्चा गरिएको प्रस्तावित सडक लगानी बोर्डबाट लगानी स्वीकृत भएको तथा राष्ट्रिय गौरवको आयोजना होइन। तर, सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अन्तर्गत पर्छ। वन ऐनमै उल्लेख भए अनुसार यस्ता आयोजना बनाउँदा विकल्प भएसम्म वैकल्पिक उपाय अपनाउनुपर्छ र त्यस क्रममा पनि वातावरणमा उल्लेख्य प्रतिकूल असर पर्न हुँदैन। त्यसमा पनि हल्दीबारीको अधिकारी  चोकबाट दक्षिणतर्फ जाने बाटो पहिले नै छँदै छ।

प्रदेश १ सरकारले जारी गरेको ‘मुख्यमन्त्री ग्रामीण सडक सुधार आयोजना नियमावली २०७६’ को दफा ३ (ज) मा ग्रामीण सडकले पर्यटन प्रवर्द्धन र विकासमा सहयोग पुग्ने उल्लेख छ। तर, जलथल जंगलको सन्दर्भमा प्रदेश सरकारले ठीक उल्टो अर्थात् विकास गर्ने नभई वन र जैविक विविधता मास्ने कदम चालेको छ।
जलथल जंगलमा सडक बनाउनु भनेको संघीय सरकारको नियमावली तथा आधारपत्रलाई प्रदेश सरकारको बलमिच्याइँ हो। प्रदेश १ सरकारले जारी गरेको ‘मुख्यमन्त्री ग्रामीण सडक सुधार आयोजना नियमावली २०७६’ को दफा ३ (ज) मा ग्रामीण सडकले पर्यटन प्रवर्द्धन र विकासमा सहयोग पुग्ने उल्लेख छ। तर, जलथल जंगलको सन्दर्भमा प्रदेश सरकारले ठीक उल्टो अर्थात् विकास गर्ने नभई वन र जैविक विविधता मास्ने कदम चालेको छ।

सडक निर्माणले जलथल जंगल नाशिनेछ, वन्यजन्तु त्यहाँबाट विस्थापित हुनेछन्, महत्त्वपूर्ण वनस्पतिका प्रजाति मासिनेछन्। यो ‘मुख्यमन्त्री ग्रामीण सडक सुधार आयोजना नियमावली २०७६’ को भावना र संघीय सरकारको कानून लत्याउने कार्य हुनेछ। यदि प्रदेश सरकार वन सम्पदा र जैविक विविधताप्रति संवेदनशील छ भने अधिकारी चोकबाट दक्षिणतर्फ जंगल भएर जाने हालको बाटो पनि बन्द गरी जंगलको पश्चिमबाट सडक लैजाने प्रबन्ध मिलाउनतिर लाग्नेछ।

बुधबार, ११ चैत, २०७७, बिहानको ०९:१२ बजे

सम्बन्धित खवर