नेपालमा कम्पनी दर्ता र प्रक्रिया

सीमा बन

सीमा बन

कम्पनी कानुनी व्यक्ति हो । कानुनी व्यक्ति भएकै कारणले कम्पनीको स्थापना कानुनद्वारा हुन्छ र अन्त्य पनि कानुनद्वारा नै गरिन्छ अर्थात कम्पनीलाई कानुनले जीवन दिन्छ र कानुनले नै कम्पनीको जीवन हरण गर्दछ ।

कम्पनी निश्चित शक्तिसम्पन्न एवं कानुनद्वारा सिर्जना गरिएकाले यो स्वतः मानव होइन, यसको भौतिक अस्तित्व छैन । त्यसैले यसलाई कृत्रिम व्यक्ति पनि भनिएको हो । तथापि यसले प्राकृतिक व्यक्तिले जस्तो धेरै अधिकार प्राप्त गरेको हुन्छ ।

अधिकार सम्पन्न व्यक्ति भएकाले यसलाई कृत्रिम कानुनी व्यक्ति पनि भनिन्छ । कम्पनीले आफूले व्यक्तिसरह सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, हस्तान्तरण गर्ने, नालिस, उजुर गर्नेजस्ता काम गर्न सक्ने हैसियत कानुनद्वारा प्रदान गरिएको हुन्छ । कम्पनी उपर पनि सोही नाममा उजुर लाग्न सक्छ । कानुनी व्यक्तित्व एवं कानुनी दायित्व कम्पनीको दुई महत्त्वपूर्ण स्वरूप वा लक्षण हुन् ।

सर्वसाधारणका लागि कम्पनी, संस्थान तथा साझेदारहरू उस्तै लाग्न सक्छन् । तर, यी तीनवटै व्यवस्थामा धेरै भिन्नता छ । कम्पनी सामान्यतया व्यक्तिद्वारा सञ्चालित भई कम्पनी ऐन कानुनद्वारा संस्थापित एवं व्यवस्थित गरिएको हुन्छ ।

संस्थान सामान्यतया सरकार र त्यसको निकायबाट संस्थापित एवं व्यवस्थित हुन्छ भने साझेदारी पनि व्यक्तिद्वारा सञ्चालित भए पनि साझेदारी कानुनबमोजिम संस्थापित र व्यवस्थित गरिएको हुन्छ ।

कम्पनी कानुनअन्तर्गत संस्थापना गरिएको कम्पनीको र यसका सेयर सदस्यहरुको अलग तथा स्वतन्त्र अस्तित्व हुन्छ । कम्पनीका सदस्यहरु आफै नै कम्पनी हुन सक्दैनन् । बरु सदस्यहरुको समूह वा समग्रता नै कम्पनीको स्वरूप हो । कम्पनीका सदस्यहरुमा फेरबदल भए पनि कम्पनीको स्वतन्त्र अस्तित्व तथा व्यक्तित्वलाई यस किसिमको फेरबदलले कुनै अर्थ राख्दैन । सदस्यहरु भन्दा अलग्गै व्यक्तित्व कम्पनीको हुने भएका कारणले कम्पनीले आफूले गरेका कार्यप्रति मात्रै उत्तरदायी हुनेगर्दछ ।

कुनै पनि उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग सामूहिक रूपमा मिलेर कम्पनी खोल्न सक्छन् । कम्पनी प्राइभेट, पब्लिक र मुनाफा वितरण नगर्ने गरेर तीन किसिमका हुने गर्छन् । यीमध्ये कुनै पनि कम्पनी खोल्न अनिवार्य रूपमा दर्ता गर्नुपर्छ ।

कम्पनीको किसिमअनुसार दर्ता गर्ने प्रक्रिया फरक फरक हुन्छन् यो लेख प्राइभेट कम्पनी दर्ता गर्ने प्रक्रियाको विषयमा केन्द्रित छ । कम्पनी ऐन २०६३ अनुसार कम्पनीले पूरा गर्नुपर्ने कार्यविधि पूरा गरेर संस्थापना भएको कम्पनीलाई प्राइभेट कम्पनी भन्नुपर्छ । प्राइभेट कम्पनी आफैंमा सीमित दायित्व भएको कम्पनी हो । यस्ता कम्पनीले आफ्नो नामका पछाडि प्राइभेट लिमिटेड (प्रालि) लेखेका हुन्छन् । प्राइभेट कम्पनी संस्थापना एक जनाले मात्र पनि गर्न सक्छन् भने बढीमा १०१ जनासम्म सेयरधनी हुन सक्छन् ।

सबै कम्पनी दर्ता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिस्टारको कार्यालयमा गर्नुपर्ने हुन्छ । आवश्यक कागजात बुझाएर सम्पूर्ण प्रक्रिया पूरा गरेपछि कम्पनी दर्ता भएको प्रमाणपत्र पाइन्छ ।

कम्पनी दर्ताका लागि नेपाल सरकारले तोकेको निश्चित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यसमध्ये धेरै काम अनलाइनबाटै गर्न सकिन्छ ।

कम्पनी दर्ता प्रक्रिया

कम्पनी संस्थापनका लागि निवेदन दिनुपर्छ ।

कम्पनीको संस्थापना गर्न चाहने व्यक्तिले विद्युतीय माध्यमबाट सबैभन्दा पहिले प्रस्तावित कम्पनीको नाम प्रयोग भएको छ, छैन चेकजाँच गरी नभएमा उक्त नाम स्वीकृतिका लागि कार्यालय समक्ष निवेदन दिनुपर्छ । अर्थात् प्रस्तावित कम्पनीको नाम रिजर्भ गर्नुपर्छ । यसका लागि कम्पनी रजिस्टार कार्यालयको वेबसाइटमा जानुपर्छ ।

उपरोक्त बमोजिमको कम्पनीको नाम स्वीकृत भएको जानकारी प्राप्त भएमा निवेदकले देहायमा उल्लेखित कागजात विद्युुतीय माध्यमबाटै कम्प्युटर प्रणालीमा अपलोड गरी कार्यालय समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन पेस गर्नुपर्छ ।

–प्रमाणित कम्पनीको नाम, ठेगाना, अधिकार, उद्देश्य, सेयरधनी, कम्पनीको पुँजी आदि बारेमा विस्तृत रूपमा तयार पारिएको प्रस्तावित कम्पनीको प्रबन्धपत्र दुई प्रति ।

–कम्पनीको आन्तरिक कार्यसञ्चालन गर्न बनाइएको प्रस्तावित कम्पनीको नियमावली दुई प्रति ।

–सर्वसम्मत सम्झौता भएको छ भने त्यस्तो सम्झौताको प्रतिलिपि र आफै उपस्थित हुन नसक्ने भएमा अख्तियारनामा समेत संलग्न गरी अख्तियार प्राप्त प्रतिनिधिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

–संस्थापक सेयरधनीहरुको नागरिकताको प्रतिलिपि ।

–कुनै निकायको पूर्वस्वीकृति वा इजाजत आवश्यक पर्ने भए त्यस्तो स्वीकृति वा इजाजत पत्रको प्रतिलिपि ।

–सङ्गठित संस्था संस्थापक भएमा त्यस्तो संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा संस्थापनासम्बन्धी प्रमुख लिखतहरु ।

–कम्पनी संस्थापना गर्नेसम्बन्धी सञ्चालक समितिको निर्णयको प्रतिलिपि ।

कम्पनी कानुन बमोजिम कम्पनी संस्थापना गर्न रीतपूर्वक निवेदन परेमा कार्यालयले आवश्यक जाँचबुझ गरी निवेदन परेको मितिले सात दिनभित्र तोकिएको दस्तुर लिई त्यस्तो कम्पनी दर्ताको प्रमाणपत्र दिनुपर्नेछ । तोकिएको समयभित्र दर्ता नभएमा कार्यालयले प्रस्तावित कम्पनीलाई तीन दिनभित्र कारणसहितको जानकारी दिनुपर्नेछ । निवेदन तथा प्रमाणपत्र सम्बन्धी कागजातहरु प्रमाणीकरण गर्दा विद्युतीय हस्ताक्षरसमेत मान्य हुनेछ र कागजातहरु विद्युतीय माध्यमबाट प्रस्तुत गर्न सकिनेछ ।

कम्पनी संस्थापनापश्चात आफूले गर्ने सम्पूर्ण कारोबारहरु सो कम्पनीको नामबाट गर्नुपर्ने हुन्छ । प्रबन्धपत्र, नियमावली वा सर्वसम्मत सम्झौतामा व्यवस्था गरिएको कार्यविधि पूरा नगरी प्राइभेट कम्पनीले आफ्नो धितोपत्र सेयरधनीहरु बाहेक अन्य व्यक्तिलाई धितो बन्धक राखी वा अन्य कुनै किसिमले हक छाडिदिनु हुँदैन ।

कम्पनी सञ्चालनका लागि पुँजीको आवश्यकता पर्दछ । पुँजी व्यवस्थापनका लागि कम्पनीमा अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी गरी उल्लेख गर्ने गरिन्छ । कम्पनीको जारी पुँजी बराबर सेयर बाँडफाँट गर्नुपर्छ । सेयर बाँडफाँट गरी सेयरबापत चुक्ता भएको रकम बराबर चुक्ता पुँजी कायम गर्नुपर्छ । कम्पनीमा चुक्ता भएको रकमको स्रोत खुलाउनुपर्छ र सो रकम कम्पनीको बैङ्क खातामा दाखिला भएको प्रमाणित विवरण कार्यालयमा पेस गर्नुपर्छ ।

जबसम्म कानुनी उद्देश्य प्राप्तिका लागि कम्पनीको प्रयोग संस्थापना तथा सञ्चालन गरिन्छ तबसम्म यसको स्वतन्त्र व्यक्तित्व सिद्धान्तलाई कानुनी मान्यता दिइन्छ । तर प्रबन्धपत्रमा व्यक्त गरिएका उद्देश्यभन्दा बाहिर गई तथा गैर कानुनी उद्देश्य प्राप्त गर्न राष्ट्रिय, आर्थिक वा सामाजिक हितविपरीत कार्य गर्ने गराउने माध्यमका रूपमा कम्पनीको प्रयोग गरिन्छ भने कम्पनीको स्वतन्त्र अस्तित्व र व्यक्तित्व हुन्छ भन्ने कुरालाई कानुनले मान्यता दिँदैन । जसलाई गैर कानुनी कार्य मानिन्छ । तसर्थ प्रबन्धपत्रमा निर्धारित व्यवस्थाको अधीनमा रही कम्पनी सञ्चालित हुने गर्छ ।

प्रबन्धपत्र कम्पनीका लागि संविधान, वडापत्र हुनेहुनाले यसले नै कम्पनीको कार्यक्षेत्रको निर्धारण तथा सीमाङ्कन गर्छ र हक अधिकारको व्यवस्था गर्छ ।

कम्पनी एकपटक स्थापना भएपछि अविछिन्न, उत्तराधिकारवाला, स्वशासित सङ्गठित संस्था मानिन्छ ।

कानुनले कम्पनीलाई जीवन प्रदान गरेपछि त्यसको जीवन हरण नगरेसम्म कम्पनी स्वतन्त्र व्यक्ति सरह हुन्छ तथा कानुनले सुनिश्चित गरिदिएको सम्पूर्ण काम, कर्तव्य, दायित्वको पालना एवं अधिकारको प्रयोग गर्दै कम्पनी कानुनले निर्धारित गरेको मार्ग अवलम्बन गर्नु कम्पनीको मूल दायित्व हुनुका साथै त्यस्तो मार्ग तरिका र कार्यविधिबाट सञ्चालित हुन सक्नु नै कम्पनीको सफलताको आधार हो ।

वैधरूपमा सीमित दायित्वसहित उद्यम व्यवसाय सञ्चालन गर्न, कानुनी संरक्षण र पहिचानसहित व्यावसायिक निरन्तरता तथा व्यावसायिक नाम सुरक्षीत राख्न, कर र वित्तीय सुविधामा पहुँच प्राप्त गरी राष्ट्रको समृद्धिमा योगदान गर्न अथवा राज्यले दिने सुविधा र बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा पाउनसमेत कम्पनी दर्ता अपरिहार्य भएको हो ।

बुधबार, ११ चैत, २०७७, साँझको ०६:१७ बजे

सम्बन्धित खवर