झापा र इलामको सिमा क्षेत्रमा श्रीकृष्ण भगवानको प्रतिमा निर्माण गर्ने

विर्तामोड,


झापाको अर्जुनधारा नगरपालिका र इलामको माई नगरपालिका सिमा क्षेत्रमा श्रीकृष्ण भगवानको प्रतिमा निर्माण गर्न सहमत भएका छन् । अर्जुनधारा नगरपालिका वडा–२ र माई नगरपालिका वडा–५ को सिमा क्षेत्रमा रहेको कुम्मिटारको भित्तामा दुवै नगरपालिकाले साझेदारी समन्वय र सहकार्य गर्दै श्रीकृष्ण भगवानको प्रतिमा निर्माणको काम गर्ने भएका हुन् । त्यस क्षेत्रमा परापर्यटन, स्थानीय मौलिक संस्कृतिको प्रवद्र्धन गर्न उदेश्यले सो सहमति भएको हो । श्रीकृष्ण भगवानको अवतार निर्माणका लागि स्थानीय दिलदास राई, जीतमान राई, रुद्र कुमार राई, मानध्वज राई, हस्तबहादुर राईको परिवारको तर्फबाट भित्ताको पश्चिम दक्षिण तर्फको आवश्यकता अनुसारको जमिन निःशुल्क उपलब्ध गराउने सहमति भएको अर्जुनधारा नगरपालिका मेयर हरिकुमार रानाले जानकारी दिनुभयो । सो परियोजना कार्यान्वयनका लागि पार्किङ्ग व्यवस्थापन र सार्वजनिक शौचालय, खानेपानी निर्माणमा डेढ बिघा जमिन समेत उपलब्ध भइसकेको छ । पार्किङ्गका लागि पूर्वतर्फको जमिन प्रेम समाल, खेम समाल, रत्न समालले निःशुल्क प्रदान गर्ने सहमति भएको मेयर प्रमुख रानाले जानकारी दिनुभयो । जग्गादाताहरुको स्वर्गीय बुबा–आमाहरुको स्मृतिमा सो स्थानमा शालिक निर्माण गर्ने समेत सहमति भएको अर्जुनधारा नगरका बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले जानकारी दिनुभयो । दहालटार सामुदायिक वनको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्जुनधारा वडानम्वर २ का अध्यक्ष रघुनाथ खनाल, माई नगर वडा नम्वर ५ अध्यक्ष गम्भीरबहादुर तामाङ, वडासदस्यहरु केशव कुमार राई, बलबहादुर समाल, नेकपा जिल्ला सदस्य योगप्रसाद आचार्य, नेपाली कांग्रेसका जिल्ला प्रतिनिधि पुण्य ओझा, संघीय समाजवादीका नगर अध्यक्ष सृजलाल चौधरी, नेकपाका प्रतिनिधि रुपनारायण समाल सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै, राप्रापा नगर सचिव प्रेमबहादुर समाल, शान्ति युवा समूह उपाध्यक्ष लोकेन्द्र बिष्ट, सदस्य असोक समाल, क्लबका सल्लाकार सुजन दर्लामी, सदस्य सृजन मगर, सचिव राजकुमार मगर, दाहालटार सामुदायिक वनका अध्यक्ष डिबी राई, सचिव रत्नकुमार हाङसुम्बा, सुपारी उपभोक्ता समितिका सचिव युवराज राई, सिमाना बस्ती अध्यक्ष जसबहादुर लिम्बु लगायत जग्गादाताहरुको उपस्थितिमा श्रीकृष्ण भगवानको प्रतिमा निर्माण गर्ने सहमति भएको बरिष्ठ अधिकृत सेडाईले जानकारी दिनुभयो ।