अध्यक्षसंग कृषक कार्यक्रम ः कमल गाउँपालिकाका किसान तोरी खेतीमा आकर्षित

झापा, ९ पुष / कृषिलाई प्राथमिकता राखेर यस बर्षदेखि अध्यक्षसंग कृषक कार्यक्रम ल्याएको कमल गाउँपालिकाले तोरी खेतीमा किसानहरुको आकर्षण बढाएको छ । बजारमा अघिल्लो बर्ष तोरी र तोरीबाट उत्पादित तेलको मुल्य अचाक्ली बढेको थियो ।
बजारमा तोरीको मूल्य आकाशिएको र आफनै बारीमा उत्पादन भएको तोरीको खानेतेल स्वास्थ्यका दृष्किोणबाट समेत स्वस्थकर हुने भएकाले गाउँपालिकाबासीलाई तोरी तेलमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम कार्यन्वयन गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका कृषि शाखा प्राविधिक प्रेम पोखरेलले यस बर्ष गाउँपालिकाले किसानलाई तोरी खेतीमा आकर्षित गर्न कम्तीमा हरेक वडाको एक ÷एक टोलमा उन्नती र मोरङ –२ प्रजातिको तोरीको मुल बिउ उपलब्ध गराइएको जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले सबै वडामा कूल ४०० केजी बीउ तोरी अनुदानमा उपलब्ध गराएपछि किसानहरु उत्साहित हुँदै लगाएको तोरी खेती अहिले लोभलाग्दो देखिएको हो । पोखरेलका अनुसार यो बर्ष कमल गाउँपालिकाका सबै वडा मध्ये वडा नं १ मा सबैभन्दा धेरै किसानहरुले तोरी खेती लगाएका छन ।
गाउँपालिकाका सबै वडामा गरेर झण्डै ५०० हेक्टर क्षेत्रफलमा यस बर्ष तोरी खेती लगाइएको तथ्याङक कृषि शाखामा छ ।
तोरी फुलेको दृश्यले अहिले कमल गाउँपालिका क्षेत्रनै आकर्षक देखिएको छ । बाटो हिंडनेहरु कैंयौंले आफनो मोबाइलमा तोरी फुलेको दृश्य फोटो कैद गर्न भ्याउने गरेका छन । पोखरेलले भने– वडा–वडाबाट एक/एक वटा टोललाई छनौट गरेर ७ केजीका दरले बीउ तोरी उपलब्ध गराएका थियौ यसले किसानहरुलाई आकर्षित गरेका कारण अनुदान बिना पनि प्राय प्रत्येक किसानले यसपाली तोरी खेती लगाउनु भएको छ । गाउँपालिकाबाट मूल बिउ तोरी लिएर खेती लगाएका किसान सुरेन्द्र रायले यसबर्ष तोरी खेतीको उत्पादन राम्रो हुने आशा गरेको बताए ।
गाउँपालिकाले यस पटक वितरण गरेको बीउ तोरीको उत्पादन अर्को बर्ष बीउका रुपमा अन्य किसानहरुले पनि खेतीका रुपमा लगाउनु हुन्छ, यसले अर्को बर्ष कमलमा अझै तोरी खेती बढने भएकाले तोरी तेलमा कमल गाउँपालिका आत्मनिर्भर हुनेछ– कृषि शाखा प्रमुख महेन्द्र बोहोराले भने ।
गत बर्ष बजारमा तोरीको मूल्य प्रतिमन ७ हजार रुपैयाँ सम्म पुगेको थियो । किसानको बारीमा तोरी फुलेर पहेँलै भएको छ– कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भने – सबैलाई तोरी खेतीमा आकर्षित गरेर तोरीको तेलमा कमल गाउँपालिकालाई मात्रै होइन तेल्हनको आयातलाई प्रतिस्थापन गर्न पनि यसले मद्धत पुरयाउने हाम्रो विश्वास छ ।

