के भोलि अपराह्नसम्ममा देशले नयाँ प्रधानमन्त्री पाउँला ?

काठमाडौं, ९ पुष/ राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयभित्र नयाँ सरकार गठन हुनेमा आशंका बढेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते सात दिनको समय दिएर सरकार गठनको आह्वान गरेकी थिइन्।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गरेकी थिइन्।
राष्ट्रपतिको आह्वानअनुसार दलहरुले आइतबार अपराह्न ५ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेश गरिसक्नुपर्छ तर अहिलेसम्म भएका छलफलअनुसार सरकार गठनमा कुनै पनि प्रगति भएको छैन।
माओवादी केन्द्र प्रधानमन्त्रीको दाबीबाट पछि हटेको छैन भने प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस सुरुमै उसलाई सरकारको नेतृत्व दिन तयार देखिएको छैन।
प्रधानमन्त्रीसहित, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, विभिन्न प्रदेशका मुख्यमन्त्री लगायतका पदमा दलहरूबीच भागवण्डाका खाकासमेत तयार भएको छैन। यसका कारण सरकार गठन पनि अन्योलमा परेको हो।
माओवादी केन्द्रका नेता दीनानाथ शर्माले भने भोलि साँझसम्म देशले नयाँ प्रधानमन्त्री पाउने दाबी गरे। ‘माओवादीले प्रधानमन्त्री पद पाउने र राष्ट्रपति पद कांग्रेसलाई दिने गरी सहमति जुट्दैछ’, उनले भने। यता कांग्रेसका नेता भने पद बाँडफाँटको टुंगो लागि नसकेको बताउँछन्।
शुक्रबार साँझ बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पद बाँडफाँडका विषयमा छलफल भए पनि निष्कर्ष निस्किन सकेन।
संसद्को दोस्रो ठूलो दल नेकपा एमाले भने ‘पर्ख र हेर’ को रणनीतिमा छ। ऊ सत्ता गठबन्धनलाई सरकार बनाउन दिने र तोकिएको समयमा सरकार बनाउन नसके नयाँ गठबन्धन निर्माण गरेर अघि बढ्ने तयारीमा देखिएको छ।

