रेडक्रस सोसाइटी दमक उपशाखाको साधारण सभा

दमक, ९ पुस / नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको ३० औं बार्षिक साधारण सभा शुरु भएको छ । निर्माणाधिन रेडक्रस भवनमा शनिबार आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालले साधारण सभाको उदघाटन गरेका छन् ।
उपशाखाका सभापति प्रकाश बुढाथोकीको सभापतित्पमा भएको उदघाटन कार्यक्रममा दमक नगरपालिकाका कार्यबहाक नगर प्रमुख भीम प्रसाद पौडेलको विशेष आतिथ्य रहेको थियो । उदघाटनका अवसरमा गत आर्थिक बर्षमा झापा जिल्लामै सबैभन्दा धेरै रक्तदान कार्यक्रम सञ्चालन गर्ने दुवागढी उपशाखालाई सम्मान गरिएको थियो ।
सो अवसरमा उपशाखाका सचिव रमेश अधिकारीले संस्थाको भावी कार्यक्रमहरु सहितको बार्षिक प्रतिवेदन पेश गरेका छन् ।प्रतिवेदन पेश गर्दै सचिव अधिकारीले सोसाइटीले सञ्चालन गर्दै आएका सबै सेवालाई निरन्तरता दिने, रञ्mसञ्चार सेवालाई अत्याधुनिक उपकरणहरुको जडान गरेर आधुनिकीकरण गर्ने, सर्पदशं उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामी अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेकाले भेन्टीलेटरको व्यवस्था गर्ने, केएचडीसि सेवालाई दमक बाहिरका पालिकाहरुमा पनि विस्तार गर्ने, काठमाडौं इन्स्टीचयूट अफ चाइल्ड हेल्थसंग सहकार्य गरेर बालरोग तथा मुटुरोग सम्बन्धि स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने योजना अघि सारिएको उल्लेख गरेका छन । सभामा आजिवन सदस्यहरुको तर्फबाट शान्तिराम ढकालले शुभकामना मन्तव्य राखेका थिए । दमक उपशाखामा हाल १ हजार ३८६ जना आजिवन सदस्य रहेका छन ।

