अब नेपालको विद्युत भारतमा विक्रि हुने

दमक,८ पौष / भारतले सीमा वारपार विद्युत व्यापारसम्बन्धी नियम सच्याएपछि नेपालमा उत्पादित विद्युत भारत निर्यात हुने बाटो खुलेको छ । यसअघिको क्रसबोर्डर विद्युत आयात(निर्यातको गाइडलाइन (निर्दे्शिका) १८ डिसेम्बरमा संशोधन गरेपछि भारतले छिमेकमा उत्पादित बिजुली किन्ने नयाँ नीति अगाडि सारेको हो। भारतले सन् २०१६ मा अन्य देशमा आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली मात्रै किन्ने गरी निर्दे्शिका ल्याएको थियो। त्यसले विदेशी लगानीकर्तालाई नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न हतोत्साही तुल्याएको थियो ।
यसअघिको निर्दे्शिकाले भारतमा अरू देशबाट बिजुली ल्याउँदा त्यस्तो विद्युत उत्पादन कम्पनी भारत सरकार वा भारतीय सार्वजनिक निकायको स्वामित्व (वा बहुमत शेयर लगानी भएको) हुनुपर्ने व्यवस्था गरेको थियो। यो प्रावधानका कारण लगानीकर्ताहरूले नेपालसहितका देशमा विद्युत उत्पादन गरेर भारतमा बिक्री गर्न नसकिने अवस्था थियो।


नयाँ निर्दे्शिकाले यो अप्ठ्यारोलाई हटाउँदै नेपालसहितका देशमा जुनसुकै कम्पनीले उत्पादन गरेको विद्युत किन्न सक्ने व्यवस्था गरेपछि भारततिर बिजुली निर्यातको बाटो खुलेको हो।
अब पहिलेजस्तो भारतीय लगानीको आयोजनाबाट उत्पादित विद्युतले मात्रै भारतीय बजारमा पहुँच पाउने अवस्था रहने छैन। स्वदेशी वा तेस्रो देशका लगानीकर्ताले पनि जलविद्युत परियोजनामा लगानी गरेर भारतमा विद्युत निर्यात गर्न पाउनेछन्। तर, नेपालमा उत्पादित विद्युत आयात गर्न चाहने भारतीय कम्पनीहरूले भारत सरकारसँग अनुमति लिनुपर्ने व्यवस्था भने निर्दे्शिकामा छ।
नयाँ निर्दे्शिकाको प्रावधानले अब नेपालको बिजुली भारत हुँदै बंगलादेशसहितका देशमा निर्यात गर्ने बाटो पनि खोलेको छ। भारतीय कम्पनी जीएमआरले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको बिजुली बंगलादेशमा बिक्री गर्ने बताउँदै आएको छ। बंगलादेश सरकारले नेपालबाट विद्युत खरिदका लागि आफू तयार भएको बताउँदै आएको छ।
नेपाल सरकारले विद्युत निर्यातलाई रोक्ने पूरानो निर्दे्शिका परिमार्जनका लागि पटक-पटक भारत सरकारलाई अनुरोध गर्दै आएको थियो । भारत निर्यातका लागि नेपालसँग तत्कालै पर्याप्त विद्युत उत्पादन नभए पनि केही वर्षपछि भने त्यो अवसर छ। ४५६ मेगावाटको माथिल्लो तामाकोशी परियोजना आगामी हिउँदमा निर्माण सकिएपछि नेपाललाई वर्षायाममा बिजुली मागभन्दा बढी उत्पादन हुनेछ।
नयाँ निर्दे्शिकापछि वर्षायाममा बढी भएको विद्युत भारतमा निर्यात गर्न सकिनेछ। नेपालले वर्षायाममा भारतलाई बिजुली बिक्री गरेर हिउँदमा अपुग बिजुली भारतबाट ल्याउने योजना बनाएको छ। निर्माणाधीन करीब २ हजार ५ सय मेगावाटका जलविद्युत परियोजनाहरू आगामी ३ वर्ष्भित्र निर्माण सकिएपछि नेपालबाट वर्षायाममा भारत विद्युत निकासीको सम्भावना छ।