तेह्रथुमको आठराईमा आगलागी, १४ घर जल्यो, आगलागी नियन्त्रण बाहिरै

तेह्रथुमको आठराई ६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको छ । आगलागीबाट १४ घर जलेको गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए ।


‘आगो अझै नियन्त्रण बाहिर छ, पालिकाको टोलीसहित हामी पनि घटनास्थलमै छौं, सुख्खाग्रस्त क्षेत्र भएको कारण आगो निभाउन कठिन भएको छ,’ उनले भने, ‘सडक यातायातमार्फत दमकल आधा घण्टामा आइपुग्ने जानकारी पाएका छौं, तर दमकल जान नसक्ने ठाउँमा आगलागी भएको हो ।’
सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको उनले बताए । दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । सो वडाका वडाध्यक्ष कृष्ण बास्कोटाका झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा कठिनाई भएको छ । धुवाँधूलोले गाउँ छोपेको छ । आगलागीका कारण अझै बढी घरमा क्षति भएको हुनसक्ने उनले बताए ।