राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख

राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए । २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गरेका थिए । दुबै संविधानसभामा पनि उनले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरे ।


कांग्रेस उम्मेदवार पौडेललाई सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसहित ८ दलको साथ छ । उनी आवद्ध नेपाली कांग्रेसका साथै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ ।
एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरु कुनै पनि दल खुलेका छैनन् । एमाले नेताहरुले भने १० पुसमा भएको सहमतिअनुसार नै नेम्बाङलाई उम्मेदवार बनाएकाले त्यो बेला एक ठाउँमा भएका दलहरुको समर्थन पाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिका दुवै उम्मेदवार नेपाली राजनीतिमा लामो समयदेखि रहेका र खारिएका नेता हुन् । दुवै नेता संसदीय राजनीतिबारे दख्खल राख्ने नेता पनि हुन् । दुवै नेताको समानता शालीनता पनि हो ।
उमेरले रामचन्द्र पौडेल जेठा हुन् । २००१ असोज २९ गते तनहुँको मिर्लुङ, बाहुनपोखरामा मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेल हाल काठमाडौंको बोहोराटारमा बस्दै आएका छन् । उनी नेपाली साहित्य, शास्त्री (संस्कृत) मा स्नाताकोत्तर हुन् ।
सुवास नेम्बाङ २००९ साल फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिएका हुन् । हाल काठमाडौंको बालुवाटारमा बस्दै आएका नेम्बाङ कानुनका प्राध्यापकसमेत थिए । प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका उनी कुनै बेला प्राध्यापक संघमा पनि सक्रिय थिए । नेपाल बार एसोसिएसनको महासचिव पनि भए ।