चैत ११, २०७५ चितवन / भरतपुर महानगरपालिका–२३ मा रहेको होटलको सेप्mटी ट्यांकीमा खसेर एउटा वयस्क गैंडा मर्‍यो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार करिब २२ वर्षीय पोथी गैंडा होटल टाइगर ल्याण्डको सेफ्टी ट्यांकीमा खसेर मरेको हो। चितवन राष्ट्रिय निकुञ्जबाट राप्ती किनारमा निस्किएको सो गैडा ट्यांकीको ढकनी कमजोर हुँदा खसेको बताइएको छ।। उक्त गैंडा करिब छ महिनाअघि सुस्ताबाट उद्धार गरी ल्याइएको ढकालले जानकारी दिए। प्राकृतिक कारण मृत्यु पछिल्लो समय चितवनमा प्राकृतिक कारणले गंैडा मर्नेक्रम बढेको छ। चालु आर्थिक वर्षको आठ महिनामा ४१ वटा गैंडा प्राकृतिक कारणले मरेका छन्। यो तथ्यांक अहिलेसम्मकै बढी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताए। तीमध्ये ३९ वटा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मरेका हुन् भने दुई वटा निकुञ्जबाहिर मरेका हुन्। अधिकृत ढकालका अनुसार बाघको आक्रमण, ढिस्कोबाट लडेर, भालेसँग जुधेर, गोहीको आक्रमण, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बुढो भएर गैंडा मर्ने गरेका छन्। चोरी सिकारी शून्यमा झरेको प्राकृतिक कारणले मर्ने क्रम बढ्नु चिन्ताको विषय भएको निकुञ्ज अधिकारीहरुको भनाइ छ। प्राकृतिक कारण गैंडा मर्नेक्रम बढ्दै जानु वन्यजन्तु संरक्षणको ठूलो चुनौती भएकाले अनुसन्धान भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षमा निकुञ्जबाहिर प्राकृतिक कारण दुई वटा गैंडा मरे। भरतपुर महानगरपालिका–४ शिवघाट नजिकै नारायणी सामुदायिक बनमा एउटा बच्चा गैडा मर्‍यो। माउसँग हिँड्ने बच्चा भालेको आक्रमणबाट मरेको थियो। यस्तै, रत्ननगर नगरपालिका–१० पञ्चकन्या सामुदायिक वनमा एउटा वयष्क गैंडा जुधेर मर्‍यो। २०७३ चैत २५ पछि चोरी शिकारीबाट गैंडा मरेको छैन। चोरी शिकारीबाट सन् २००२ मा ३६ वटा मरेका थिए। यो अहिलेसम्मको सबैभन्दा बढी हो। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैंडा रहेका छन्।

Facebook Comments Box