बिस्तार र स्तरोन्नतिको नाममा स्थानीयलाई उठिबास

झापा १० पौष / भद्रपुरस्थित चन्द्रगढी विमानस्थल बिस्तार र स्तरोन्नतिको नाममा स्थानीयलाई उठिबास लगाउन खोजिएको भन्दै त्यस क्षेत्रकका बासिन्दाहरु विरोधमा उत्रिएका छन्। स्थानीयवासीहरुले विमानस्थल विस्तारको नाममा रोक्का गरिएको स्थानीयको घर तथा जमिन फुकुवा गर्नुपर्ने वा उचित मुआब्जासहितको क्षतिपूर्ति तत्काल दिनुपर्ने माग राखेका छन्। करिब दुई वर्षअघि सरकारी पक्षले स्थानीयको सहमतिविना घर निर्माण र एक वर्षअघि जमिन खरिद बिक्रीमा रोक लगाएको चन्द्रगढी विमानस्थल बिस्तार पीडित संघर्ष समितिका संयोजक स्वर्णिका सिंहले बताए। दुई वर्षदेखि अहिलेसम्म कुनै कानुनी प्रक्रिया अघि नबढेपछि बाध्य भएर विरोध प्रदर्शनमा उत्रिएको संयोजक सिंहको भनाइ छ। ‘जमिनको विषयमा चन्द्रगढी नागरिक उड्डयन कार्यालय, भद्रपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापालाई उचित मुआब्जा दिएर जमिन खाली गराउन पटकपटक लिखित तथा मौखिक जानकारी गराई सकेका छौं,’ संयोजक सिंहले भनिन्, ‘तर, अहिलेसम्म कुनै पहल भएको छैन, सबै निकायले चाँडै हुन्छ भन्दै हामीलाई फर्काउँदै आएको छ। भद्रपुर नगरपालिका वडा नम्बर ८ र ९ पर्ने ५६ घरपरिवारबाट करिब साढे १० बिघा जग्गा चन्द्रगढी नागरिक उड्डयान कार्यालय भद्रपुरले विमानस्थल बिस्तारका लागि लिने भएको छन्। तर, अहिलेसम्म कुनै मुआब्जा नपाएको स्थानीयको गुनासो छ। ‘करिब दुई वर्षदेखि मुआब्जा दिने आशमै बित्यो,’ ललित थापाले भने, ‘घर तथा जमिन राखेर न त बैंकबाट धितो लिन पाइन्छ, न त खरिद बिक्री नै गर्न पाइन्छ, यसरी कति दिनु बस्नु पर्ने?’ यता चन्द्रगढी नागरिक उड्डयान कार्यालयका प्रमुख पूर्ण चुडालले आइतबार मात्र जिल्ला प्रशासन कार्यालयमा संघर्ष समितिका पदाधिकारीसँग छलफल गरी यसलाई चाँडै टुंग्याउनु विषयमा छलफल बताएका छन्। छलफल भएको भोलिपल्टै विमानस्थलमा विरोध प्रदर्शन गर्नु काम सही नभएको उनको भनाइ छ। ‘विमानस्थल जमिन खाली गराउने प्रक्रियामा लागिपरेको छ’, उनले भने, ‘शहरी भवन तथा निर्माण डिभिजन कार्यालयले सो जमिनमा पर्ने पाँच वटा घरको मूल्यांकन गरी फाइल पठाइसकेको छ, अब चाँडै जमिनको दररेट कायम गरी यसलाई टुंगो लगाउने छौं।’ प्रक्रियामा भएकाले केही ढिला भएको प्रमुख चुडालको भनाइ छ। उनले भने, ‘विरोधमा उत्रिएर मात्र समस्याको हल हुँदैन।’

