पुस १०, काठमाण्डौं / जिल्ला सदरमुकाम गोठलापानी र पाटनबाहेक अन्य स्थानमा विद्युत् महसुल काउण्टर नहुँदा बैतडीका ग्रामीण क्षेत्रका उपभोक्ताले सास्ती भोग्दै आएका छन्। उनीहरुले ८० रुपैयाँ विद्युत महसुल तिर्न दुई हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। महसुल तिर्ने काउण्टर सदरमुकाम र पाटनमा मात्रै भएकाले झण्झट भएको डिलाशैनी गाउँपालिका गोकुलेश्वरका बासिन्दा हरिश नाथले गुनासो गरे। बैतडी सदरमुकामसम्म आवतजावत, खाना खर्च गर्दा ८० रुपैयाँ बिल तिर्नका लागि दुई हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको उनाले बताए। डिलाशैनी, दोगडाकेदार, पाटन नगरपालिका वडा नं. १०, सुर्नया गाउँपालिकाका नागरिकले समस्या भोग्दै आएका हुन्। विद्युत् महसुल काउण्टर नजिक नभएकाले सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको सुर्नया गाउँपालिका–५ का दिपेन्द्रबहादुर विष्टले बताए। विद्युत् महसुल संकलनका लागि स्थानीयस्तरमा काउण्टर सञ्चालन गर्ने कुनै योजना नरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए। महसुल काउण्टर स्थापना प्राधिकरणको केन्द्रीय कार्यालयले मात्रै गर्न सक्ने उनले प्रष्ट्याए। दुर्गम ठाउँका सेवाग्राहीका लागि तीन महिनाको एकैचोटी रिडिङ गर्ने र न्यूनतम शुल्क लिने गरी महसुल संकलन गर्दै आइएको छ। महसुल तिर्नका लागि झण्झट भएको उपभोक्ताहरुको गुनासो आए पनि जिल्ला स्तरबाट कुनै पहल नभएको नागरिकहरुको गुनासो छ।

Facebook Comments Box