मोरङमा तीन हजार बोट लागुऔषध अफिम नष्ट

फागुन १४, २०७५ विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार १ कठ्ठा १४ धुरमा लगाएको तीन हजार ३४ बोट अवैध लागुऔषध अफिम नष्ट गरेको छ। अवैध रुपमा खेती गर्ने केही व्यक्तिहरूलाई पनि पक्राउ गरेको छ। यसअघि मोरङ प्रहरीले २०७४ माघ २१ गते रतुवामाई ३ मा १ कठ्ठामा लगाएको ३०० बोट अफिम प्रहरीले नष्ट गरेको थियो। प्रहरीले मोरङ पथरी शनिश्चरे ५ का चमरू भनिने ५० वर्षीय चन्द्रप्रसाद गनगाईको ७ धुर जग्गामा लगाएको १ हजार ४४७ बोट, सुनवर्षी २ का ५२ वर्षीय बज्रु गनगाईको ४ धुर जग्गामा २५७ बोट र सोही ठाउँका ३५ वर्षीय बासुदेव गनगाईको १ कठ्ठा जग्गामा लगाएको १ हजार ३३० बोट अफिम नष्ट गरेको हो। अफिम नष्ट गर्नुको साथै प्रहरीले जग्गा धनी तीनै जनालाई नियन्त्रणमा लिएको छ। लागु औषध (नियन्त्रण) ऐन २०३३ ले अफिम खेतीलाई अवैध मानेको छ। ‘प्रतिबन्धित अफिम खेती हुने गरेको लामो समयदेखि हामीले सूचना पाएका थियौं’, मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने, ‘कोपिला लागेको र काट्ने बेला भएको अवस्थामा हामीले खेती नष्ट गरेर संलग्नलाई कारवाहीको दायरामा ल्याएका हौं।’ अफिम खेतीप्रति कठ्ठामा २ किलोसम्म हुने गरेको डिएसपी श्रेष्ठको भनाइ छ। अवैध बजारमा अहिले प्रतिकेजी अफिमको मूल्य १ लाखसम्म रहेको उनको भनाइ छ। इलाका प्रहरी कार्यालय पथरी तथा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकद्वय कमल बजगाई र कविन्द्र कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले संयुक्त रूपमा अफिम खेती नष्ट गरेको हो। पक्राउ परेकालाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अफिम खेतीअन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरीको नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले बताए। ऐनमा अफिम खेती गर्नेलाई तीन वर्षदेखि १० वर्षसम्मको जेल सजाय तथा २५ हजारदेखि दुई लाखसम्म जरिमाना हुन सक्ने व्यवस्था रहेको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धानपछि म्याद थप गरी सोही ऐन अनुसार मुद्दा चलाइने डिएसपी श्रेष्ठले बताए। यस घटनाले मोरङमा अन्य ठाउँमा पनि अफिम खेती हुन सक्ने सम्भावना देखिएको छ। डिएसपी श्रेष्ठले भने प्रतिबन्धित अफिम खेती हुने गरेको पुष्टि भएको भए पनि अन्य ठाउँमा रहेको जानकारीमा आए खेती नष्ट गरिने र खेती गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए।

