मेयरकप फुटबलमा आयोजक टिमको विजयी सुरुवात

इलाम : इलामको सूर्योदय नगरपालिका शनिबारबाट सुरु भएको दोस्राे आमन्त्रण मेयरकप फुटबलमा आयोजकले बिजयी सुरुवात गरेको छ। करफोक माविको खेलमैदानमा आयोजक सूर्योदय नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई ४–० ले हरायो। मौसम प्रतिकूल बनेको खेलको सुरुवातबाटै दबाब बनाएको आयोजकले २८ औं मिनेटमा गोलको खाता खोल्यो। सूर्योदयका संगम योल्मोले बिपक्षी टिमको गोलरक्षकको हातबाट फुत्किएको बललाई जाली चुमाए। पहिलो हाफ १-० मा सकिएको खेलको दोस्राे हाफमा आयोजकले ३ गोल थप्यो। ५७ औं मिनेटमा पेम्बा योल्मो, ६१ औं मिनेटमा संजोग खडका र इन्जुरी समयमा अतिरिक्त खेलाडी आशिष राईले गोल गरेपछि अर्जुनधारा प्रि-क्वाटरफाइनलबाटै बाहिरियो। बिजेता टिमले शिवसतासी नगरपालिकासंग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता अन्तर्गत आइतबार इलाम नगरपालिका र कन्काई नगरपालिका तथा दमक नगरपालिका र देउमाई नगरपालिकाबीच खेल हुने छ। जेठ १८ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख तथा उपविजेता टिमले नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछ। सूर्योदय नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा इलाम र झापाका ९ नगरपालिकाको सहभागिता रहेको छ। गत संस्करण झापाको मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई हराउँदै जितेको थियो।

