विराटनगर /   लाखौं मूल्य बराबरको अनुदानको मल हराएपछि विवादमा मुछिएका विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड कोशीका कार्यालय प्रमुख नविनचन्द्र झाको सरूवा भएको छ। झाको सरूवा हेटौडा भएको छ भने गोदाम इन्चार्ज दिलचन्द्र राईलाई साल्ट ट्रेडिङ कर्पोरेशनको केन्द्रीय कार्यालयले बर्खास्त गरेको छ। राईलाई केन्द्रीय कार्यालयले ३ महिनाको निलम्वनपछि १२ जेठमा बर्खास्त गरेको हो। राईलाई सोधिएको स्पष्टीकरण चित्त बुझदो नभएपछि बर्खास्त गरेको केन्द्रीय कर्यालयले जनाएको छ। विवादमा मुछिएका कार्यालय प्रमुख झालाई भने केन्द्रीय कार्यालयले जोगाएर सरूवा मात्र गरेको छ। झालाई कारवाहीस्वरूप केन्द्रीय कार्यालयले हटौंडामा सरूवा गरेकोे बुझिएको छ। झाको ठाउँमा साल्ट ट्रेडिङ कर्पोरेशन लि. कोशीको कार्यालय प्रमुख भएर केन्द्रीय कार्यालयबाट राधेश्याम चौधरीलाई पठाएको छ। उनी आइतबारबाट कार्यालय हाजिर हुनेछन्। सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १६७ बोरा रासायनिक मल साल्ट ट्रेडिङमा भण्डारण गरी राखिएको गोदामबाटै गायव भएको थियो। गोदामबाट हराएको मलको मूल्य १९ लाख ७ हजार ३५० रुपैयाँ हुन्छ। गोदामबाट १ हजार ८८२ बोरा युरिया, २४७ बोरा डिएपी र ३८ बोरा पोटास गरी २ हजार १६७ बोरा रसायनिक मल हराएको साल्ट ट्रेडिङ कर्पोरेशन केन्द्रीय कार्यालयले जनाएको छ। युरिया १ हजार ८८२ बोरा ७ सयको दरले १३ लाख १७ हजार ४००, डिएपी २४७ बोराको २ हजार १५० रुपैयाँका दरले ५ लाख ३१ हजार ५० र पोटास ३८ बोरा १ हजार ५५० रुपैयाँका दरले ५८ हजार ९० रुपैयाँको मल गायव भएको हो। घटनाको छानविन गर्न केन्द्रीय कार्यालयले गठन गरेको छानविन टोलीको निश्कर्ष भने अझै सार्वजानिक भएको छैन। कर्मचारीहरूकै मिलेमतोमा व्यापारीलाई अनुदानको मल बिक्री गरेको आशंका गरिएको छ। झा विराटनगरस्थित कार्यालयमा विगत ५ वर्षदेखि प्रमुखको जिम्मेवारी समाल्दै आएका थिए। सहकारीलाई मल वितरण प्रणालीमा पनि मनपरी तरिकाले वितरण गर्ने गरेको उनीमाथि आरोप लाग्दै आएको थियो। मल हराएको दोस्रो दिन नै राईले कार्यालय प्रमुख झालाई त्यसबारे जानकारी गराएको तर झाले केन्द्रीय कार्यालय सूचना नदिएको बताएका थिए। राईले कर्पोरेशनको उच्च तहका हाकिमको मिलेमतोमा मल ढुवानी गर्ने पशुपति रोडवेजसँगको मिलेमतोमा बाटोबाटै मल गायव पारिएको बताएका छन्। युरिया मल मोरङको बुढीगंगा गाउँपालिकाको निमुवा स्थितको गोदाममा भण्डारण गरिएको ठाउँबाट गत कार्तिकमा हराएको थियो। त्यस्तै पोटास र डिएपी सुनसरीको सोनापुर स्थित गोदामबाट गत वर्षको जेठ २२ गते हराएको थियो। केन्द्रीय कार्यालयले लेखा परीक्षण गर्दा आयात भएको, बिक्री भएको र भण्डारण भएको मलको विवरण नमिलेपछि घटनामाथि छानविन सुरु भएको थियो। घटनाको इटहरीस्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दै आएको छ। अहिले पनि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताए। कार्यालय प्रमुख झालाई बयानको लागि अख्यितारले पत्र पनि काटेको बुझिएको छ।

Facebook Comments Box