२०७६ श्रावण १०, शुक्रबार

दमक। झापाको दमकमा दुइ समुहबीच बुधबार साँझ झगडा हुँदा एक युवाको ज्यान गएपछि यहाँको सुरक्षा ब्यवस्था कडा पारिएको छ । समुहगत रुपमा भेला भएका युवाहरुमा निगरानी बढाउनका साथै घटनामा संलग्नहरुको खोजी पनि तिव्र बनाईएको प्रहरीको भनाइ छ । दमकको वडा नं.१ दुर्गामन्दिर पछाडी भृकुटी टोलमा २५ भन्दा बढिको समुहमा भेला भएका युवाहरुबीच अपरान्ह ४ बजेतिर झगडा भएको थियो । झगडा हुँदा धारीलो हतियार प्रहार बाट दमक वडा नम्बर २ का १९ बर्षिय विक्रम लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले बताउनु भयो ।

घटनामा दमक २ का बिक्रम भण्डारी र दमक ३ का सुजन भुजेलको उपचार भइरहेको बताईएको छ । सुब्बाका अनुसार घटना भएको तीनघण्टाभित्र घटनामा संलग्न भनिएका ९ जनालाइ पक्राउ गरिएको छ । अन्यलाइ पक्राउ गर्न प्रहरी परिचालन भइसकेको र चाँडै पक्राउ हुने पनि उहाँले दावी गर्नु भयो ।

५ महिना अघि अर्थात गत फागु पुर्णिमाको दिन होली खेल्ने क्रममा दुइ समुहबीच सामान्य विवाद भएको र त्यहि विवाद बल्झदै जाँदा यो अवस्थासम्म आइपुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी श्रोतको भनाइ रहेको छ । समुहकै एक युवालाइ कर्के आँखाले हेरेको भन्दै दुइ समुहबीच झगडा भएको थियो । आँखा तरेर अर्थात कर्के हेरेको भन्ने नै झगडाको मुख्य विन्दु भएको पाईएको छ, प्रहरीको भनाइ छ । पछि सामाजिक सञ्जाल फेसबुकमा समुहगत च्याटमा समेत झगडा भएको र प्रहरी कार्यालयमा आएर अभिभावक समेत बसेर मिलाएको पनि अनुसन्धानमा संलग्न प्रहरी श्रोतले जनाएको छ । त्यो समय दुबै पक्षले हात र काँध मिलाएर प्रहरी कार्यालयबाट बाहिर निस्केका थिए, प्रहरी श्रोतको भनाइ छ ।

गफगाफ गर्ने भनेर मन्दिर छेउमा दुइ समुह भेला भएको र त्यहाँ झैझगडा हुँदा धारिलो हतियार प्रहार भएको देखिन्छ, सुब्बाले भन्नुभयो । स्थानीयहरुले केहि समय अघिदेखि नै त्यहाँ झैझगडा हुने गरेको र दुइ समुहबीच घम्साघम्सि भएको बताएका थिए । अभियुक्तहरु पक्राउ परेको र केहि पर्ने क्रममा रहेकाले घटनाको सत्यतथ्य बाहिर आउछ, सुब्बाले जनाउनु भयो ।

Facebook Comments Box