अबको विकास र समाजवाद

सुरेन्द्र पाण्डे
नयाँ शक्ति पार्टीले सबै राजनीतिक दलहरूलाई एकै ठाउँमा जमघट गराएर ’अब नयाँ शक्ति के चाहन्छ’ भन्न खोजेको होला। तर, म के देख्छु भने सबै विपक्षी दल एउटै गठबन्धनमा आउनू भन्न खोजेको हो। यस अवस्थामा सबै विपक्षी राजनीतिक दल एकै ठाउँमा आउन सम्भव होला? पहिले आफूहरू मिल्नुहोस् र गठबन्धन गरौँ भन्ने कुरा सुन्दा रमाइलो लाग्छ। यो तातो पानीमा चोबलिने कुरा भयो। कोही पनि चोबलिन तयार नहुने! पछिल्लो घटनाक्रम हेर्दा गठबन्धनको परिस्थिति सजिलो हुँदैन। देशको इतिहास हेर्ने हो भने कुनै पनि दलले निश्चित शक्तिमा पुगे पछि मात्र सहकार्यको आह्वान गर्दा सहकार्य सम्भव हुन सक्छ। शक्तिको एक उचाइमा नपुगेको बेला सहकार्यको कुरा गर्नु जिस्किएको जस्तो हुन्छ। यसरी अपिल गर्नु पूर्व आफ्नो सङ्गठन विस्तार हुन जरुरी छ। अरू आन्दोलन गर्ने शक्तिहरूका पनि एजेन्डा अलगअलग छन्। अबको छलफल नयाँ कोणबाट हुन जरुरी छ। तर, विषयवस्तुहरू पुराना छन्। शक्ति नयाँ, कुरा पुराना। एजेन्डा पूर्ववत् पुरानै हुन। यहाँहरूले भने जस्तै, ’अबको निकास, समावेशी विकास’ यसको विस्तृत रूपमा हेर्दा समावेशी विकास भनेको के हो? अबको आर्थिक विकासमा हरेक राजनीतिक दलले कस्तो भूमिका खेल्न सक्छ? भनेर पार्टीको आर्थिक नीतिमा व्याख्यात्मक टिप्पणी हुन जरुरी छ। अहिले विश्व औद्योगिक क्रान्तिको चौथो चरणमा पुगेको छ। केही दिन अघि म चीन पुगेको थिएँ। अहिले चीन थर्ड जेनेरेसन कार बनाउँदै छ। जुन हात छोडेर चलाउने। सङ्कट आइलाग्यो भने सोझ्याउने। एक दुई वर्षमा फोर्थ जेनेरेसनको कार बनाउँदै छ। जुन हातले चलाउनु पर्दैन। आँखा जता सोझिन्छ त्यतै जाने। र, सन् २०२५ सम्म फिफ्थ जेनेरेसन कार बनाउँदै छ। जून स्वचालित कार हुनेछ। दुनियाँका हरेक देशले आर्थिक क्रान्तिमार्फत ठुला छलाङ मारिरहेका छन्। हामी अझै पुराना कुरा गरिरहेका छौँ। अबको बहस र छलफल नेपाली जनता, युवाका लागि इन्टरपेनरसीपको अध्याय सिर्जना गर्नुपर्छ। यो अभियानलाई कसरी नेतृत्व गर्न सक्छौँ? त्यसतर्फ बहस र छलफल हुन जरुरी छ। अब हाम्रो विकल्प के? अबको बाटो के? भन्ने तर्फ छलफल जरुरी छ। यसको निष्कर्षमा जान सक्यौँ भने मात्र मुलुकले ठुलो परिवर्तन प्राप्त गर्न सक्छ। हामी ठूलाठूला राजनीतिक परिवर्तनको लागि सक्षम छौँ, तर देश परिवर्तन गर्ने कुराचाहिँ राजनीतिक परिवर्तनले केही गर्दैनन् भन्ने देखिएको छ। नारा लगाएर देश विकास हुँदैन। सडक नारा लगाएर होइन, खनेर बन्छ। जबसम्म मिहिनेत र परिश्रम गर्दैनौँ तबसम्म देश बन्दैन। के विकसित देश नारा लगाएर बनेका हुन त? दुनियाँका हरेक देशले आर्थिक क्रान्तिमार्फत ठुला छलाङ मारिरहेका छन्। हामी अझै पुराना कुरा गरिरहेका छौँ। हामी चाहिँ नारा मात्र लगाएर बस्ने, देश कसले बनाउँछ त? अचेल राजनीतिक नेतालाई राजनीति आदत बनेको छ। राजनीतिमा लागिहालियो, छोड्न सकिँदैन। मोदनाथ प्रश्रित भन्नुहुन्थ्यो, ’बाहुन नेता भएर विकास भएन। २००७ साल भन्दा अघि बाहुन गाउँ डुलेर खाए। विवाह, व्रतबन्ध, मृत्यु संस्कारमा, पूजा गर्न जाने फर्कँदा कोसेली बोकेर आउँदा ल्याउने कुराले घर चलेको थियो। ठुलो आकाङ्क्षा केही छैन। २००७ सालपछि बाहुन मन्त्री, सांसद भए। बोल्न जानेको छ। काम गर्न केही जान्दैन।’ मुलुक पछ्यौटेपनमा जानुको सबैभन्दा ठुलो कारक हो( भाषण। कुनै विषयमा कत्ति जानकार छैनौँ तर जानकार जस्तो बनिदिन्छौँ। नक्कल गर्छौँ। जानेको जस्ता कुरा गर्छौ तर काम गर्दैनौँ। जनता समृद्धि, विकास र सम्पन्नता चाहन्छन्। जतिसुकै ठुला भाषण गरे पनि अन्तिममा आर्थिक विषय नै महत्त्वपूर्ण हो। अर्थतन्त्रका बहस हामीले कहिल्यै गर्दैनौँ। बहस आवश्यक लाग्दैन हामीलाई। हामी केवल राजनीतिक कुरा गरेर मात्र समय बिताउँछौँ। बहसमा निर्मला हत्याकाण्ड आयो। यो हिजोको नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रमा थियो र? यो त बीचमा आइलागेको कुरा हो। तिमीले घोषणापत्रमा लेखेका कुरा किन कार्यान्वयन भएन एक वर्षमा? भन्ने खालको बहस आजको आवश्यकता हो। अहिले उठाइएका विषय भनेका या त बिचमा आइलागेका, या पहिल्यै देखि सन्दर्भमा आइरहेका छन्। कुनै नयाँ विषय भएनन्। अबको समयमा नयाँ शिराबाट बहस अगाडि बढाउन सक्नुपर्छ। नेपालमा समाजवाद ल्याउने भन्ने कुरा हुन्छ। तर, के हो समाजवाद? समाजवाद कसरी आउँछ? समाजवाद भनेको अनरसीप रिलेसन परिवर्तन गर्ने कुरा हो। मैले रुस र चीनको अभ्यास हेरेँ। उनीहरूले पहिले जमिन सहकारीको अधीनमा लाए। त्यसपछि सहकारी सरकारको अधीनमा ल्याए। के नेपालमा सहकारी हुँदै सरकारी बनाउन सक्छौँ? सक्दैनौँ। भोट हाल्ने जनताले मार्छन्। तिमीले घोषणापत्रमा लेखेका कुरा किन कार्यान्वयन भएन एक वर्षमा? भन्ने खालको बहस आजको आवश्यकता हो। अहिले उठाइएका विषय भनेका या त बिचमा आइलागेका, या पहिल्यै देखि सन्दर्भमा आइरहेका छन्। कुनै नयाँ विषय भएनन्। अबको समयमा नयाँ शिराबाट बहस अगाडि बढाउन सक्नुपर्छ। दोस्रो, उनीहरूले उद्योगलाई राष्ट्रियकरण गरे। अहिले नेपालमा यो काम गर्न सक्दैनौँ। तेस्रो, नोट खारेज गरेर नयाँ नोट जारी गरेका रहेछन्। त्यो गर्न नेपालमा सम्भव छ? चौथो, शिक्षा सबै सरकारले व्यहोरेको रहेछ। नेपालका सबै निजी (प्राइभेट स्कुल)विद्यालय सरकारी करण गर्न कति लाग्छ भनेर हिसाब गरेको २० खर्ब क्षतिपूर्ति लाग्ने रहेछ। ८ खर्ब राजश्व उठ्ने देशमा २०औँ खर्ब कसरी क्षतिपूर्ति दिन सक्छौँ? पाँचौँ, स्वास्थ्य सेवा सरकारमार्फत दिनुपर्ने। अहिले प्राइभेट र निजी क्लिनिक राष्ट्रियकरण गर्यौँ भने के हुन्छ? ७ देखि १० खर्ब क्षतिपूर्ति दिनुपर्ने रहेछ। छैटौँ, यातायात। हामीकहाँ साझा बाहेक अन्य केही छँदै छैनन्। विदेशी मुलुकमा जाँदा मेट्रो, बस सबै सरकार वा नगरपालिकाको हुन्छ। यी सबै विषयलाई समेटेपछि मात्र समाजवाद हुन्छ। यी कुरामा हामीले कसरी आरम्भ गर्छौँ? जमिनमा हामी उत्पादन वृद्धि गर्ने भन्छौँ। मोहीयानी हक पनि दिनुपर्छ भन्छौँ। चक्लाबन्दी पनि हुनुपर्छ भन्छौँ। मोहीयानी हकले जमिन टुक्रिन्छ। चक्लाबन्दीले जोड्ने कुरा हुन्छ? कसरी जग्गाको उत्पादकत्व बढ्छ त? यी विषयको कुनै जवाफ छैन। कि त अमेरिकाको जस्तो यसपालि फलानो बाहेक अन्य बाली लगाउन पाउँदैनौँ भनेर घोषणा गर्ने र लगायौ भने जेल हाल्छु भन्नुपर्यो। होइन भने नेपालको जमिनमा उत्पादकत्व बढाउनको लागि के गर्ने? बहस यो हुनुपर्छ। यी यावत कुरामा बहस जरुरी छ। नयाँ शक्ति भनेर उहिँ पुराना कुरा गरेर गन्तव्यमा पुग्न सकिँदैन। नयाँ नेपाल बनाउनका लागि नयाँ भिजन हामीले दिनुपर्छ। अब मूलभूत विषय भनेको पहिलेको कुरा सकियो। त्यो किसिमको वर्गीय सङ्घर्ष सकियो। नयाँ हिसाबले अगाडि बढ्न जरुरी रहेको छ। (’देशको विद्यमान परिस्थितिमा राजनीतिक दलको भूमिका’ सम्बन्धी कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको मन्तव्यको सम्पादित अंश।)

