बुद्धवाणी बिर्संदै बुद्धभूमि !

डा. साधना प्रतीक्षा

सत्कर्मबाट विचलित भएर दुष्कर्मले प्रेरित भएपछि अनि नैतिकता र धर्मलाई बन्धकी राखेर आर्थिक सम्पन्नताको पछि दौडेको मानिस कहिल्यै सन्तुष्ट हुन सक्दैन।

 

‘मनुष्यको कर्मको परिणामले अनिवार्य रूपमा त्यसरी नै पिछा गर्छ, जसरी रातले दिनको पिछा गरिरहन्छ’ भगवान बुद्धको उपयुक्त उपदेशवाणी हरेक मानिसका लागि मननयोग्य छ किनभने कर्मअनुसारको फल प्राप्तिबाट कोही पनि वञ्चित रहन सक्दैन।

त्यसैले त बुद्धले भनेका छन् ‘हामीले जे रोप्छौं त्यही टिप्छौं, आफ्ना विचारलाई सदा सत्कर्ममा लगाउनू।’ हो, हाम्रा विजरूपी विचारहरूलाई सकारात्मक र कल्याणकारी बनाएर यो सांसारिक बगैंचामा छर्ने हो भने मगमगाउँदो फूल अनि अमृतरूपी फल उब्जन्छ तर नकारात्मक र स्वार्थी सोचजन्य विजबाट उब्जने त काँडा र विषालु फल न हो जसलाई ग्रहण गर्नुको परिणति केवल पीडा हुन्छ।

साँच्चै ! आज हाम्रो समाजमा मान्छेकै मनका खराब विचार र भ्रष्ट आचरण त्यसरी नै फैलिइरहेको छ जसरी ऐंजेरुको एउटा विज कुनै विशाल वृक्षको हाँगोमा उम्रन्छ, झाँगिदै गएर अन्ततः वृक्षलाई सुकाएर त्यसको अस्तित्व नै समाप्त पार्दै त्यसैमा आफ्नो अस्तित्व स्थापित गर्दछ। ‘सर्वे भवन्तु सुखिनः’ भन्ने मानवताको मूलमन्त्र एकातिर पन्छयाएर आजको मान्छे ‘म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ, म बाँचु मै नाचँु, अरू सब मरुन् दुर्बलहरू’ भन्नुलाई नै आदर्श मानिरहेको छ ! तर ऊ यो सत्यदेखि पनि भागिरहेको छ कि जीवनको अन्तिम गन्तव्य त जल्दै गरेको चिताको उपहासात्मक खित्का नै हो। त्यसैले त लेखेका होलान् कवि लेखनाथ पौड्यालले ‘तरुण–तपसी’।

बुद्धले उपदेश दिँदै भनेका थिए ‘नैतिक भ्रष्टताले गर्दा मानवताले दुःखी हुन नपरोस्।’ उनले त्यो बेलामा नै गराएको सचेततालाई मनन् गर्न नसक्नाले बुद्धभूमिका हामी आज नैतिक भ्रष्टताका कारण मानवता दुःखी भएर धरधरी रोएको हेर्न बाध्य भएका छौं। आज हाम्रो राजनीतिक, सामाजिक, आर्थिक आदि सबै क्षेत्र भ्रष्टाचारको माखेसाङ्लोमा जेलिएको छ जसलाई चुँडाउन जति नै प्रयास गरिए पनि त्यो झन्झन् जेलिँदै गएको छ। एकातिर राजनीतिक निकायहरूको नेतृत्वमा पुग्ने जो कोहीमा पनि इमानदारी र सदाचारको स्खलन भइरहेको देखिन्छ। उनीहरू सत्ता र शक्ति प्राप्त गर्नासाथै सामूहिक हितको पवित्र उद्देश्य बिर्सेर व्यक्तिगत स्वार्थका लागि गर्न हुने र नहुने कार्यबीचको भेद छुट्याउने विवेक नै गुमाउन पुग्छन्।

अर्कातिर आर्थिक, प्रशासनिक, न्यायिक आदि क्षेत्रका जिम्मेवार व्यक्तिहरू ‘सांसारिक धन–सम्पत्ति अनित्य र नाशवान छन्, धर्मरूपी धन नित्य र अनाशवान हुन्छ’ भन्ने बुद्धवाणी बिर्सेर केवल भौतिक सुख, वैभव आर्जन तथा सम्पत्तिको प्रतिस्पर्धालाई प्रतिष्ठाको माध्यम ठान्ने प्रवृत्तिको वशीकरण भएका देखिन्छन्। त्यसैले त आज हामीकहाँ हरेक बिहान पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यममा भ्रष्टाचार, अनियमितता र लुटतन्त्रका फेहरिस्तहरू नै अग्रस्थानमा देखिने गर्दछन्।

कमिसनको खेलमा सरकारी एवं सार्वजनिक सम्पत्ति रातारात व्यक्तिको नाममा गरिनु, सामुदायिक स्थलहरू सुटुक्क निजीमा परिणत हुनु, स्वदेशी उद्योगधन्दा डुबाएर मुलुकलाई परनिर्भर बनाउनु, सार्वजनिक खरिदबिक्रीमा अनुमानै गर्न नसकिने घोटाला गरिनु, बनजंगल–पहाड–खोलानाला आदि सबै प्राकृतिक सम्पदाको दोहन गरिनु आदिजस्ता समाचारबीच बाँचिरहेका छौं हामी। एकातिर अन्धाधुन्ध डोजर चलाएर नदीको बालुवा, ढुंगाको व्यापार भइरहेको छ यहाँ। अर्कातिर ललाइफकाई वा झुक्याएर चेलीबेटीहरू पनि बेचिइरहेकै छन्।

सबैको उद्देश्य उही छ, जसरी भए पनि धन कमाउनु, महल ठड्याउनु, सात पुस्ताका लागि सम्पत्ति जोडेर समाजमा प्रतिष्ठित कहलाउनु। विडम्बना, धनको तृष्णाबाट मानिस कहिल्यै मुक्त हुन सक्दैन। त्यसैले त बुद्धले भनेका रहेछन्– ‘दयाको पात्र त्यही व्यक्ति हुन्छ जो विशाल धनराशीमा डुबेर पनि तृष्णाको वशीभूत हुन्छ।’ हो, सत्कर्मबाट विचलित भएर दुष्कर्मले प्रेरित भएपछि अनि नैतिकता र धर्मलाई बन्धकी राखेर आर्थिक सम्पन्नताको पछि दौडेको मानिस कहिल्यै सन्तुष्ट हुन सक्दैन। ऊ त सम्पत्तिको पछाडि जीवनभर दौडिरहन्छ र भाग्दाभाग्दै अन्त्यमा मृत्युको मुखमा पुग्छ। त्यसबेला उसका लागि आवश्यक हुन्छ त केवल कोराको दुई–चार मिटरको टालो अर्थात् कात्रो। जसमा खल्ती हँुदैन केही लिएर जानका लागि। जमिनको स्वामित्वको हिसाब गर्दा टल्स्टायको कथा ‘एउटा मानिसलाई कति जमिन चाहिन्छ ? ’ मा जस्तै केबल ६ फिट जमिन भए पुग्छ उसलाई बिसर्जन गर्न। खै त भूमाफियाहरूले यो सत्यलाई आत्मसात् गर्न सकेको ? त्यसैले बुद्धले यस्ता भ्रष्टाचारीहरूलाई दयाको पात्र भनेका रहेछन्।

सत्य, अहिंसा र सदाचारजस्ता बुद्धवाणीहरू बिर्सनाले होला यो बुद्धभूमिमा आज असत्य, हिंसा र दूराचारको बिगबिगी पैmलिइरहेको। ठूल्ठूला व्यापारी, उद्योगपतिहरूले के गर्छन् के गर्दैनन् लेखाजोखा गर्न सकिँदैन तर सामान्य किसानहरूमा समेत इमानदारिता देखिँदैन। गाईभैंसीको शुद्ध दूध भनेर प्रदूषित पानी र गुणस्तरहीन पाउडर मिसाउनु अनि रसायन र विषादिमा ‘अर्गानिक’ तरकारी फलाउनु यिनीहरूको धर्म बनिरहेको छ। स्वयम्भूका आँखा अघिल्तिर दिनानुदिन युवतीहरूको त कुरै छोडौं अबोध बालिका र अशक्त वृद्धाहरू समेत यौनहिंसाको सिकार भइरहेका छन्। भौतिक सुख र तामसिक सन्तुष्टिमा लिप्त आजको मान्छेले मानवताको निम्नतम् गरिमाबोधसम्म गर्न सकिरहेको छैन। एउटा मान्छेको पतनको जगबाट अर्को मान्छेको उत्थानको महल उभ्याउने परम्परको अन्त्य हुन नसक्दासम्म वर्षमा एक दिन बुद्धप्रति जति नै श्रद्धाभाव देखाए पनि त्यो सार्थक हुन सक्दैन।

हामीभित्र मौलाउँदै गरेको पाशविक विचार तथा पतित मानसिकताका कारण आज समाज पतनोन्मुख देखिएको छ। मानिसको सबैभन्दा ठूलो शत्रु मानिस नै बनेको छ। जंगलका हिंस्रक पशुसँग मितेरी लगाउन सक्ने मान्छे आज मान्छेसँग डराएर लुक्न बाध्य देखिन्छ। बुद्धले पतितलाई पनि दुई वर्गमा बाँडेर भनेका छन् कि एकथरि पतितहरू आफू पतित भएको थाहै पाउँदैनन् र सधैं पतित नै भएर रहन्छन् भने अर्काथरि पतितहरू आफ्नो अवस्थाबोध गर्न सक्ने हुनाले त्यस अवस्थाबाट माथि उठ्ने प्रयास गर्दछन्। यसरी आफ्ना दुष्कर्मबारे ज्ञात गरेर त्यसबाट मुक्त हुन सक्ने हो भने मात्र पनि मानिसको जीवन सार्थक हुन्छ भन्ने उनको आशय देखिन्छ। सुख भनेको सन्तुष्टिमा निर्भर हुने कुरा हो किनभने बुद्धले सुखका सम्बन्धमा भनेका छन्– ‘सुख चाहनेले सधैं आफूलाई सन्तुष्ट राख्नुपर्छ, सन्तोष नै सबभन्दा ठूलो सुख हो।’ बुद्धको यही उपदेशलाई मनन् गर्न नसकेर हामी सुखप्राप्तिको अनन्त यात्रामा भौंतारिएर आफूले पनि दुख पाएका छौं र अरूलाई पनि दुःख दिइरहेका छौं।

राजमहलमा हुर्केको, दुःखको अनुभव नै नभएको एउटा राजकुमार, अझ भावी राजा मान्छेको रोग, बुढ्यौली अनि मृत्युको कष्टबाट छुटकारा पाउने उपायको खोजीमा सारा वैभव, सुख, माया–मोह त्यागेर कठोर साधनापश्चात् ज्ञान प्राप्त गरी भगवान बुद्ध बन्न सकेका थिए। बुद्ध त्याग, दया–करुणा, सत्य अनि धर्मका प्रतीक हुन्। उनको यो उपदेश झनै मननयोग्य देखिन्छ– ‘सबै प्रिय वस्तु र प्रियजनसँग एक दिन अवश्य नै वियोग हुन्छ। अतः मानिसले अतिमोह त्याग गर्नुपर्छ।’ मोह र लालसा नै हरेक दुष्कर्मको कारक हुनाले यसबाट मुक्त हुनु आवश्यक छ। त्यागी हुनुको अर्थ सबैले गेरुवस्त्र लगाएर गृहत्याग गर्नुपर्छ भन्ने होइन, आत्ममन्थन गर्दै म को हुँ र मेरो कर्तव्य के हो ? मेरो यात्रा कहाँसम्मको हो ? मेरो ऐश्वर्यभोगको सीमा कति हो ? सांसारिक मायामोहको आयु अनन्त छ ? आदिजस्ता प्रश्नको उत्तर खोज्दै सुख र सन्तुष्टिलाई एकाकार गर्न सक्नु नै बुद्धत्वको सही मान हुनेछ। ‘जसरी तिमी आफूलाई हानि हुने काम गर्दैनौं त्यसरी नै अरूलाई हानी हुने काम पनि नगर्नू’ भन्ने बुद्धवाणी मनन् गर्दै ‘परोपकार पुण्याय पापाय परपीडन’ को सनातन मूल्यबोध गर्न नसक्ने हो भने यो बुद्धभूमिमा वर्षको एक दिन जति नै तामझामका साथ बुद्धजयन्ती मनाए पनि त्यसको सार्थकता रहँदैन। बुद्धवाणीको संस्मरण र मनन् नै सही अर्थमा बुद्धप्रतिको सभक्ति सम्मान हुनेछ। ‘नैतिकता नै धर्म हो, धर्म नै नैतिकता’—भगवान बुद्ध।

मङ्गलबार, १४ बैशाख, २०७८, बिहानको ०७:५६ बजे

सम्बन्धित खवर