प्रदेश १ मा मोरङ, सुनसरी र झापामा रहेका ठूला अस्पतालले छुट्टै अक्सिजन प्लान्ट सञ्चालन गर्दै

सुनसरी–मोरङमा मात्र पाँच अक्सिजन प्लान्ट

अधिकांश अस्पतालको आफ्नै अक्सिजन प्लान्ट

झापा/   प्रदेश १ मा मोरङ, सुनसरी र झापामा रहेका ठूला अस्पतालले छुट्टै अक्सिजन प्लान्ट सञ्चालन गर्दै आएका छन् । अस्पतालकै अक्सिजन प्लान्ट भएका कारण धेरै अस्पतालले आवश्यक अक्सिजन बाहिरबाट ल्याउन नपर्ने अवस्था छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफूलाई पुग्ने अक्सिजन आफैले उत्पादन गरिरहेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार आफूलाई चाहिने मात्रामा उत्पादन हुँदै आएको छ ।

झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ ।

मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ वटा सिलिण्डर अक्सिजन उत्पादन भइरहेको बताए ।

कोरोनाको दोश्रो लहर सुरु भएसँगै अधिकांश संक्रमितलाई अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने अवस्था देखिएको छ । यही अवस्था लामो समयसम्म जारी रहे भविष्यमा गम्भीर खालको बिरामीका लागि धेरै अक्सिजन खपत हुन सक्छ ।

तर प्रदेश १ मा अक्सिजनको अभाव झेल्नु नपर्ने अवस्था रहेको अक्सिजन प्लान्ट उद्योगीहरुले जनाएका छन् । उनीहरुका अनुसार प्रदेशमा अक्सिजन उत्पादनको अवस्था सन्तोषजनक रहे पनि सिलिण्डर भने कुनै पनि समय अभाव हुन सक्ने देखिएको छ ।

डिलरहरुमार्फत अस्पताल, क्लिनिकसहित घरघरमा पुगेका अक्सिजन सिलिण्डर फिर्ता नहुँदा जुनसुकै बेला त्यसको अभाव हुने खतरा बढेको उद्योगीहरुले बताएका छन् ।

प्रदेश १ मा विराटनगर कोरोना संक्रमणको हटस्पट बनेको छ । प्रदेश सरकारले सञ्चालन गरेको कोरोना अस्पतालसहितका ठूला अस्पतालहरु पनि यहीँ भएका कारण विरामीको चाप सधैं उच्च हुने गरेको छ । तर, कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक मानिने अक्सिजनको सिलिण्डरको भने यहाँ ठूलो अभाव छ ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की अहिले नै अक्सिजन अभाव भइहाल्ने अवस्था नरहेको बताउँछन् । तर, संक्रमण बढ्दै जाँदा त्यस्तो अवस्था आउने खतरा भने कायमै रहेको उनको भनाइ छ ।

‘अहिले अभाव छैन, पुग्दो अवस्थामा छ’, उनले भने ‘तर, सिलिण्डर अभावका कारण ठूलो परिमाणमा अक्सिजन चाहिँदाचाहिँ समस्या हुनसक्ने स्थिति छ । यसका लागि हामीले गम्भीर तयारी गरिरहेका छौं ।’

उद्योगीले चाहेजति अक्सिजन आपूर्ति गर्न तयार रहेको प्रतिवद्धता जनाएको पनि सचिव कार्कीले बताए ।

सुनसरी–मोरङमा मात्र पाँच अक्सिजन प्लान्ट

सुनसरी र मोरङ जिल्लामा पाँचवटा अक्सिजन प्लान्ट छन् । ती उद्योगले दैनिक ४ सयदेखि ५ सय वटासम्म सिलिण्डर ‘फिल’ गरिरहेका छन् ।

विराटनगरस्थित विनायक अक्सिजन इण्डष्ट्रीका प्रमुख अमित सारडाका अनुसार ती उद्योगसँग यसको तेब्बर बढी अक्सिजन भर्ने क्षमता छ । तर, क्षमता अनुसार सिलिण्डर भने नभएको उनले बताए ।

‘अक्सिजनको अभाव प्रदेश १ का ठूला अस्पतालले सामाना गर्नुपर्ने अवस्था छैन,’ उद्योगी सारडाले भने, ‘समस्या यति हो, अहिले पनि हामीसँग पर्याप्त सिलिण्डर छैन । जसका कारण चाहेर पनि भनेजति अक्सिजन भर्न पाइएको छैन ।’

उद्योगी सारडाका अनुसार मोरङ र सुनसरी क्षेत्रमा पाँचवटा ठूला अक्सिजन प्लान्ट भएका उद्योग छन्, जसले चाहिने जति अक्सिजन उत्पादन गर्ने क्षमता राख्छन् ।

अक्सिजन उत्पादक उद्योगीहरुका अनुसार कोरोना संक्रमण ह्वात्तै बढेपछि सबैतिर पुगेका सिलिण्डरहरु ‘होल्ड’ भएर बसेका छन्, जसले गर्दा सिलिण्डरको रोटेसन ठप्पजस्तै छ ।

उद्योगी सारडाले अस्पताल, क्लिनिकहरु र घरमा पुगेका अक्सिजन सिलिण्डर आवश्यक नपर्नेहरुले पनि ओगटेर राखिदिएकाले समस्या रहेको सुनाए । जसका कारण क्षमता भएर पनि अक्सिजन भर्न नपाइएको उनले बताए ।

सिलिण्डर सप्लाई गर्दै आएका विराटनगरका व्यवसायी सोम पाण्डेले अहिले मुख्य समस्या सिलिण्डरकै रहेको बताए । नचाहिनेहरुले पनि ओगटेर राखेपछि सिलिण्डर अभाव भएको छ,’ पाण्डेले भने, ‘अहिले हामी खाली सिलिण्डरको तीव्र खोजीमा छौं ।’

 

अधिकांश पाइपलाइनमा

कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माणको काम थालेका छन् ।

मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । कोभिड–१९ संक्रमितको उपचारका लागि ७५ शय्याको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट बनाउन लागिएको छ । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिण्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँदै आएको उनको भनाइ छ ।

विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् । बिएण्डसी हस्पिटलले पनि वैशाखभित्रै आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने जनाएको छ ।

आफ्नै परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दै आएको बिएन्डसी हस्पिटलमा दैनिक ३५ देखि ४० वटा सिलिण्डर खपत भइरहेको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले आगामी असार मसान्तभित्रै अक्सिजनको आफ्नै प्लान्ट सञ्चालनमा ल्याउने जनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले ६० लाखको लागतमा प्लान्ट निर्माणको काम भइरहेको जनाए ।

मङ्गलबार, १४ बैशाख, २०७८, बिहानको ०८:१९ बजे

सम्बन्धित खवर