विप्लवको बन्द : देशभर कहाँ के भयो ?

जेठ १३, २०७६ काठमाडौं / भोजपुरमा प्रहरीको गोलीबाट कार्यकर्ता तीर्थराज घिमिरे मारिएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार गरेको बन्दका क्रममा सवारीसाधनमा आगजनी भएको छ। बन्दको प्रभाव उपत्यका र देशका विभिन्न जिल्लामा पनि परेको छ । विप्लवले बन्द घोषणा गरेपछि राजधानी उपत्यकाका शैक्षिक संस्थाले पठन पाठन नहुने सूचना पठाएका छन्। बन्दले गर्दा देशका विभिन्न जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन चल्न समस्या भएको छ । राजधानीको घट्टेकुलो र सुकेधारामा भएको विस्फोटमा चारजनाले आइतवार ज्यान गुमाएपछि सर्सवाधरण त्रसित भएका छन् । देशका विभिन्न भागमा बन्दको असर परेको छ।


कहाँ के भयो ?
बन्दका क्रममा विप्लवका कार्यकर्ताले देशका विभिन्न स्थानमा सवारी साधनमा आगजनी गरेका छन्। समाचार अनुसार मालवाहक सवारी साधन विप्लवका कार्यकर्ताको निशानामा परेका छन्। बारामा भारतीय ट्रक जल्यो बन्दका क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३, बजनीमा आइतबार बिहान रोकिराखेको भारतीय लरीमा अज्ञात समूहले आगजी गरेको छ । एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरी नेपाल-भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकोर आएको थियो । आगजनीमा संलग्नको खोजी र घटनाबारे अनुसन्धान भइरहेको बाराका प्रहरी प्रबक्ता रञ्जित सिंह राठोरले जानकारी दिए।
मकवानपुरको थाहा नगरपालिकामा विप्लव नेतृत्वको नेकपाको क्रममा सोमबार बिहानै गाडी जलाइएको छ। बिहान ४ बजेको समयमा गाडी जलाइएको हो। बन्दका दिन बिहानै थाहा नगरपालिका-१ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भटराईले बताए । हेटौंडामा मिनी ट्रक जल्यो त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकीटोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भटराईका अनुसार आगजनीका कारण गाडी पुरै जलेको छ। हेटौंडाको बुद्धचोकमा कुकर बम यसैबीच बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसर कुकर बम भेटिएको छ। बम राखेको थाहा पाएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएर बिहानै डिस्पोज गरिएको छ। तनहुँका दुई स्थानमा शंकास्पद वस्तु उता तनहुँका दुई स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ। सदरमुकाम दमौलीमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको टोली पुगिसकेको छ।
मोरङको सुन्दरहरैँचामा बम
मोरङको सुन्दरहरैँचामा प्रेसर कुकर बम फेला परेको छ। सुन्दरहरैचा नगरपालिका-७ ठहियाचोक नजिकै प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। चन्द्रनिगाहापुरमा शंकास्पद बस्तु यस्तै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहापुरस्थित मूख्य चोकमा शंकास्पद् बस्तु फेला परेको छ । उक्त बस्तु बम भएको आशंका गरिएको छ। सूचनापछि नेपाली सेनाको डिस्पोजल त्यहाँ पुगेको प्रहरीले जनाएको छ। भक्तपुरमा शंकास्पद बस्तु नेपाल बन्दको दिन बिहानै भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु फेला परेको छ । च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने ३ बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद बस्तु फेला पारेको हो । सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद बस्तु निष्क्रिय पारिएको छ ।
विप्लवको बन्द असफल पार्न सुरक्षाकर्मीले जनशक्ति थपरे ‘हाइ अलर्ट’मा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले बताएका छन्। धादिङमा बम निष्क्रिय पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंसी पुल बम फेला परेको छ । सोमवार बिहानै फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले चार घण्टापछि निष्क्रिय बनाएको छ । आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर निष्क्रिय पारेको हो । विष्फोटक पदार्थ गजुरीबाट नेपाली सेनाको टोली निष्क्रिय बनाएको हो। इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार विष्फोटक पदार्थ सकेट बम रहेको खुलेको छ । अर्कातिर धादिङकै नौबिसेमा पनि शंकास्पद बस्तु भेटिएको छ । अहिले त्यहाँ नेपाली सेनासहितका सुरक्षाकर्मी पुगिसकेका छन्।
देशभर उच्च सुरक्षा
विप्लव समूहको बन्दअघि गृहमन्त्री रामबहादुर थापाले देशभर उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन्। गृहमन्त्री थापाको निर्देशनपछि सम्भावित हिंसात्मक गतिविधिलाई लिएर सुरक्षा निकायले उच्च सतर्कता अपनाएका हुन् । आइतबार बसेको सुरक्षा प्रमखको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले बन्दको प्रभाव न्यून बनाउन सर्वसाधारण चढ्ने सवारीलाई स्कर्टिङको गर्न दिर्नेशन दिएको थिए। बैठकले बन्दमा संलग्न कुनै पनि कार्यकर्तालाई सडकमा देखे समातेर सार्वजनिक मुद्दा चलाउन गृहमन्त्रीले निर्देशन दिएका छन् । नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएर बन्दमा खटिएको हो।आइतबार साँझदेखि नै राजधानी उपत्यकामा बम विस्फोट भएपछि प्रहरी सतर्क बनेको हो। भोजपुरमा जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयको कारबाहीमा विप्लवका कार्यकर्ताको ज्यान गएको थियो । प्रहरीले तीर्थराज घिमिरेको खुट्टामा गोली लागेको बताएपनि विप्लवले यतना दिएर हत्या गरिएको दाबी गरेको छ। विप्लव समूहको गतिविधि आपराधिक बनेको भन्दै सरकारले आपराधिक समूह घोषणा गर्दै राजनीतिक गतिविधिमा रोक लगाएको थियो । त्यसअघि विप्लव समूहले ललितपुरको नख्खुस्थित एनसेल भवन अगाडि गराएको विस्फोटमा एक जना सर्वसाधारणको ज्यान गएको थियो ।