४५ प्रतिशत बेरुजु भेटिएपछि झापाका सरकारी कार्यालय प्रमुख नै शंकामा

माघ १४, झापा / झापाका सरकारी कार्यालयमा ४५ प्रतिशत बेरुजु हुने गरेको तथ्य बाहिर आएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाको संयोजन तथा महालेखा परीक्षकको कार्यालय काठमाडौंको आयोजनामा आइतबार झापाको भद्रपुरमा लेखा परीक्षणसम्बन्धी छलफल कार्यक्रममा बोल्दै महालेखा परीक्षक टंकमणि शर्माले अघिल्लो आर्थिक वर्ष झापामा ४५ प्रतिशत बेरुजु भेटिएको बताए । उनले बेरुजु हुनुमा कार्यालयका लेखापाल तथा लेखा अधिकृतकै कमजोरी भएको औलाए। शर्माले बेरुजु गराउने कर्मचारीले यसको जिम्मेवारी लिएर आउँदा दिनमा यसलाई सुधारेर लैजान आग्रह गरे।


अनियमिताको अन्त्यको लागि लेखापालहरुले समयमै नियमित लेखा परीक्षण गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा सहभागी झापाका अधिकांश लेखापालहरूले आफ्ना गुनासो पोख्दै भने, ’जनप्रतिनिधिको दवाबमा कानुनबमोेजिम काम गर्न नसक्दा समस्या भइरहेको छ।’ साथै स्थानीय तहमा अहिलेसम्म कानुन कार्यान्वयनमा आउन नसक्दा सरकारी कार्यालयमा बेरुजु बढ्न थालेको उनीहरूको गुनासो छ।
कार्यक्रममा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले झापामा जनप्रतिनिधि आएसँगै काम गर्न सहज भएको बताए। उनलेसेवाग्राहीलाई कुनै सरकारी कार्यालयमा कुर्ने प्रकारको समस्या नआउने पनि बताए।
कार्यक्रममा कोलोनिका झापाका कार्यबाहक प्रमुख लक्ष्मीप्रसाद दाहाल, भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल लगायतले आआफनो धारणा राखेका थिए। कार्यक्रममा झापाका जनप्रतिनिधि, सरकारी कार्यालयका लेखा अधिकृत तथा लेखापालको सहभागिता रहेको थियो।