मेचीनगर स्तरीय बलभद्र कप सुरु

मेचीनगर / बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ को आयोजनामा आइतवारबाट मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता (प्रथम बलभद्र कप) सुरु भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए ।


उद्घाटन खेलमा बाल विकास आधारभूत विद्यालय र आदर्श विद्या मन्दिर विजय भएका छन् । आयोजक बलभद्र आधारभूत विद्यालयलाई सडनडेथका आधारमा बालविकास विजय भएको हो । निर्धा्रित समयमा गोलरहित बराबरी भएपछि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो ।
खेलको म्यान अफ द म्याच आयोजकका करन दनुवार भए । उनलाई हिमालयन इङलिस एकाडेमीले प्रदान गरेको म्यान अफ द म्याचको मेडल प्रदान गरिएको थियो । यसैगरी दोस्रो खेलमा पूर्वाञ्चल बोडिङ स्कुललाई २–० को गोल अन्तरले पछि पार्दै आदर्श विद्या मन्दिर दोस्रो चरणमा प्रवेश गरेको छ । आदर्शका आकाश धिमालले २ गोल गरेका थिए ।
सोमवारको खेल सरस्वती बालकल्याण र भानु मावि, जनता मावि र धुलावारी मावि, हरि आधारभूत र जन ज्योति आधारभूत, होलिबेल र विद्या विकास तथा लोफोफोरस र दोकानडाँडाबिच हुने आयोजक समितिका सदस्य रञ्जु थापाले बताए ।
प्रतियोगितामा मेचीनगरका २२ वटा सामुदायिक र १८ वटा निजी विद्यालयहरुको सहभागिता रहेको छ । यो प्रतियोगिता जिल्लामै पहिलो सबै भन्दा धेरै विद्यालय सहभागि भएको प्रतियोगिता हो ।
प्रतियोगितामा विजेता टिमले नगद २५ हजार, उप विजेता टिमले नगद १५ हजार मेडल, ट्रफी र प्रमाण पत्र पाउने छ भने तेस्रो हुने टिमले नगद ५ हजार पाउने छन् । प्रतियोगिताको प्रयोजक संस्थाको रुपमा बहुवन सामुदायिक वन, पाँचपोखरी सामुदायिक वन, दिव्य ज्योति आँखा अस्पताल, तेलपानी सामुदायिक वन र बाहुनडाँगी जेसीज रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार दासको सभापतित्वमा प्रमुख अतिथि नगर प्रमुख विमल आचार्य, विशेष अतिथि नगर शिक्षा शाखा उद्धव विष्ट, शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष तेजप्रसाद चौलगाई, जिल्ला फुटबल संघका झापा अध्यक्ष भगिरथ आलेले बोलेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघठन झापाका अध्यक्ष कृष्ण अधिकारी, स्रोत व्यक्ति लोकबहादुर दाहाल, दिपेन्द्र कन्ङ्वा, बहुवन सामुदायिक वनका अध्यक्ष भानु थापा, शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेल, नेकपाका नेता पुष्प गुरगाई, मेगेन्द्र थापा, वडा सदस्य छोटबहादुर राई, चन्द्रबहादुर बोहोरालगायतको सहभागिता रहेको थियो । वडा अध्यक्ष हर्कबहादुर बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन खेल संयोजक शिक्षक देबु बानियाँले गरेका थिए ।