देउवा आफ्नो नेतृत्वको सरकारमा मन्त्री बनेकालाई नदोहोर्‍याउने र प्रत्यक्षतर्फ निर्वाचित अनुहारले प्राथमिकता दिने पक्षमा रहेको कांग्रेस संस्थापन पक्षका शीर्ष तहका एक नेताको दाबी छ ।

उपसभापति पूर्णबहादुर खड्का पार्टीबाट नेतृत्व गरेर उपप्रधानमन्त्री सहित गृह मन्त्रालयको आकांक्षी छन् । मन्त्री नहुने भनि २०७२ सालमा प्रतिबद्धता गरेका खड्का उपप्रधानसहित मन्त्रालय सम्हाल्न भने तयार हुने उनी निकट एक नेता बताउँछन् ।

खड्का सरकारमा गएको अवस्थामा पूर्व उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंह रिङआउट हुने छन् । देउवा सरकारमा मन्त्री भएकाहरुलाई नदोहोर्‍याउने मापदण्ड बनेमा ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, दिलेन्द्र बडु स्वतः आउट हुनेछन् ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत मन्त्रीका आकांक्षी छन् । नेता डा. शेखर कोइरालाबारे दुईथरी मत छ । संस्थापन पक्षका नेताहरु कोइरालालाई परराष्ट्रमन्त्री बनाउन छलफल भइहेको दाबी गर्छन् । कोइराला पक्षकै नेताहरु त्यसमा सत्यता नरहेको बताउँछन् । ‘कांग्रेसको नेतृत्व गर्ने अवस्थामा मात्र उहाँ सरकारमा जानुहुन्छ’ कोइराला निकट एक केन्द्रीय सदस्यले भने, ‘मन्त्री बन्ने उहाँको मनसाय देख्दिनँ ।’

सहमहामन्त्री किशोर सिंह राठोर, नेताहरु प्रदीप पौडेल, एनपी साउद वीरबहादुर बलायर, मोहन बस्नेत, रामहरि खतिवडा मन्त्रीका आकांक्षी हुन् । प्रत्यक्षतर्फ निर्वाचित सीता गुरुङको पनि मन्त्री बन्ने सम्भावना छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारमा जान इच्छुक देखिएका छैनन् । संस्थापनइतरबाट बद्री पाण्डे, सञ्जय गौतम, डिगबहादुर लिम्बु, रामनाथ अधिकारी लगायत सांसद मन्त्रीका आकांक्षी छन् ।

Facebook Comments Box