राष्ट्रपतिको निर्वाचन अघि नै सरकारमा जाने तयारी गर्दै काँग्रेस

काठमाडौं / २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सम्वाद सुरु गरेका कांग्रेस नेताहरु राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार रामचन्द्र पौडेललाई सत्तारुढ माओवादी केन्द्रले समर्थन जुटाउन सफल भए । १३ फागुनमा पौडेलको उम्मेदवारी दर्तासँगै राप्रपाले सरकार छाड्यो ।
परराष्ट्रमन्त्रीको भ्रमण रोकेका प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई विना विभागीय बनाउने तयारी गरेपछि १० पुसमा बनेको गठबन्धनको सबभन्दा ठूलो नेकपा एमालेले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र, एमालेका सबै मन्त्रीहरुले राजीनामा पनि बुझाएका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन त फिर्ता लिएको छैन, तर २२ माघमै सरकार छाडेको थियो । १० पुसमा बनेको गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (१२) जनमत (६) र नागरिक उन्मुक्ति (४) मात्र प्रधानमन्त्री प्रचण्डको साथमा छन् ।
यद्यपि प्रचण्डसँग संसदको बहुमत छ । किनकि ससदको सबभन्दा ठूलो दल (८९) कांग्रेसका साथै एकीकृत समाजवादी (१०) र लोकतान्त्रिक समाजवादी (४) र राष्ट्रिय जनमोर्चा (१) को साथ छ । तर ८ दलीय गठबन्धनको निर्णायक शक्ति कांग्रेस नै हो ।
र, सोमबार एमालेले सरकार छाडेसँगै कांग्रेस राष्ट्रपति निर्वाचनअघि नै सरकार जाने सम्भावना बढेको छ । कांग्रेस नेता एनपी साउद भन्छन्, ‘राष्ट्रपतिको चुनाव अघि नै कांग्रेस सरकारमा जानसक्छ ।’
जबकि परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण नरोक्दासम्म एमालेले २५ फागुनसम्म सरकारमा बस्ने मूड बनाएको थियो । कांग्रेस नेताहरु पनि राष्ट्रपति निर्वाचनसम्म पर्खिने मनस्थितिमा थिए । तर फेरिएको परिस्थितिमा कांग्रेस सरकारमा आउने अवस्था बन्दै गएको माओवादीका एक नेता बताउँछन् । उनले भने, ‘मन्त्रालय भागबण्डाबारे छलफल गर्न बाँकी नै छ, ढिलामा ५/७ दिनमा कांग्रेस सरकारमा आउला ।’
कांग्रेसमा पनि त्यो हतारो देखिन्छ । किनकि ४ मंसिरको चुनावमा आफ्नो दलको एकल बहुमत नआएको भए पनि पाँचदलीय गठबन्धनको सरकार बनाउने कांग्रेसको चाहना थियो । तर शेरबहादुर देउवा र प्रचण्डमध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्ने विवादका कारण गठबन्धन टुट्यो र सरकारमा जाने तयारीमा रहेकाहरु विस्मयमा परे ।
अहिले फेरि सरकारमा जाने अवसर पाएका कांग्रेस सांसदहरु धेरै ढिलो गर्ने पक्षमा देखिएका छैनन् । तर सभापति देउवाले राष्ट्रपति निर्वाचनअघि कोको मन्त्री बन्ने भन्ने बहस नहोस् भन्ने चाहेकाले २५ फागुन अघि सांकेतिक रुपमा १/२ जना मन्त्री सरकारमा जाने सम्भावना रहेको एक नेता बताउँछन् । सरकारमा पार्टीको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गर्ने पक्का जस्तै छ । किनकि प्रचण्डसँग फेरि सहकार्यका लागि निरन्तर सम्वादमा रहेका उनलाई सभापतिको साथ छ । एक नेता भन्छन्, ‘अरु क–कसलाई पठाउने भन्ने चाहिं राष्ट्रपति निर्वाचन पछि नै होला ।’