दमक/ बैंकको चर्को ब्याजदर र केही सहकारीहरुले आम उपभोक्तामाथि गर्दै आएको अन्यायविरुद्द दमकका उद्योगी ब्यावसायीहरु आन्दोलन गर्ने भएका छन् । दमकका उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकको गलत मौद्रिक नीति र बैंकहरुले गरेको ब्याज बृद्धि तत्काल नघटाए शसक्त आन्दोलनमा जाने घोषणासमेत गरेका छन् । दमक उद्योग वाणिज्य संघले पीडितलाई न्याय दिलाउन आन्दोलनको नेतृत्व गर्ने संघद्धारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।
दमक उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोपाल गुरागाइँले बैंकहरुले ऋणको पुनसंरचना र पुर्नतालिकीकरणको माग मुख्य रहेको बताए । उनले विश्वव्यापी रुपमा आएको आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुने क्रम चलिरहेको भन्दै यस्तो अवस्था आउनुमा राज्यको नीतिनै दोषी भएको पनि आरोप लगाए ।
संघले विज्ञाप्ति जारी गर्दै व्यवसायीहरुका मागको सम्बन्धित निकायले ७ दिन भित्र सुनुवाई नगरे जस्तोसुकै आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । अध्यक्ष विज्ञाप्तिमा भनिएको छ, ‘घरबेटी र स्थानीय तहले समेत व्यवसायीहरुको संरक्षणका लागि कर तथा भाडामा समेत छुटको व्यवस्था गर्नुपर्र्छ ।’
पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष गोकूल श्रेष्ठले साना तथा मझौला व्यवसायीहरु पछिल्लो समय प्रताडित हुनु परिरहेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघले समेत राज्यको गलत नीति तथा रवैयाका विरुद्ध सशक्त आन्दोलन छेड्न नसकेको बताए । उनले महासंघको कमजोर भूमिकाका कारण निजी क्षेत्रले राज्यपक्षबाट न्याय पाउन नसकेको भन्दै महासंघको आगामी नेतृत्वका लागि दमकले समेत दाबी पेश गरेको श्रेष्ठले बताए ।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले व्यवसायीहरुको संरक्षणमा राज्यपक्ष गम्भिर हुुनुपर्ने अवस्था रहेको भन्दै ब्याजदर घटाएर पिडितलाई न्याय दिन राज्यपक्षले चासो दिनुपर्ने तर्फ ध्यानाकर्षण गराए ।
संघले ऋणको पुनसंरचना, पुर्नतालिकीकरणसंगै आंशिक धितो फुकुवा, बैंकको कोषमा लचकता र ऋण लिँदाको बखतको ब्याजदर कायम गर्नुपर्ने मागहरुलाई पनि सशक्त रुपमा अघि सारेको छ ।

Facebook Comments Box