झापा,/    झापामा छुट्टाछुट्टै घटनामा परी मंगलबार तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिट, करेन्ट लागेर र वेवारिसे अवस्था गरी छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार मेचीनगर नगरपालिका १५ बस्ने ३५ वर्षीय लखिन्द्र राजबंशीले घरायसी बिबाद हुँदा आफ्नै श्रीमति ३४ वर्षीया चम्पली राजबंशीलाई बाँस तथा कोदालोको पासोले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय काकँडभिट्टाले घटनामा संलग्न श्रीमान लखिन्द्रलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका गरिरहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै कमल गाउँपालिका ५ स्थित सूर्यकुमार राईको घर बनाउने क्रममा करेन्ट लागेर सुनसरी इनरुवा नगरपालिका ५ बस्ने ३० वर्षीय मुसित मंसुरीको मृत्यु भएको छ। टाली काट्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। त्यसैगरी भद्रपुरमा एक भारतीय वृद्धा बेवारिसे अवस्थामा मृत फेला परेको छ। भद्रपुर नगरपालिका ५ स्थित अधिकलाल राजबंशीको घरमा बसेर मागी खाँदै हिड्ने अन्दाजी ७५ वर्षीय नामथर वतन नखुलेकी बोगी भनेर चिनिने भारतीय वृद्धा घरभित्रै मृत अवस्थामा फेला परेको डिएसपी श्रेष्ठले बताए। मृतकको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box