झापा सुपारी र मरिच उत्पादनको उद्गम थलो, बजार नपाउँदा किसान चिन्तित

झापा/ झापा सुपारी र मरिच उत्पादनको उद्गम थलो हो । नेपालमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने सरकारी तथ्यांक छ । मरिच उत्पादनको तथ्यांक अहिलेसम्म सरकारसँग छैन । झापामा मात्र वार्षिक ९ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ । नेपालमा कति मरिच उत्पादन हुन्छ भन्ने यकीन तथ्यांक अझैपनि आउन नसकेको कृषक बताउँछन् ।

नेपालमा उत्पादित मरिच, सुपारी बजारमा निस्किने समयमा सरकारले आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि किसान निराश बनेका छन् । कृषिको व्यवसायीकरणलाई सरकारले प्राथमिकता राखेको भनिए पनि आयात खुला गरिएपछि उत्पादनले बजार नपाउने चिन्तामा किसान छन् ।
विदेशबाट आयात गर्दा नेपाली उत्पादनले बजार नपाउने कृषकको गुनासो छ । सुपारी व्यवसायी संघ झापाका अध्यक्ष हेमलाल गुरागाईंले आयात प्रतिबन्ध फुकुवा भएसँगै मूल्यमा गिरावट आएको बताए ।
आयात प्रतिबन्ध हुँदा प्रतिकिलो ५ सय रुपैयाँमा कारोबार भएको सुक्खा सुपारी दुई-तीन दिनमै ४ सय रुपैयाँमा झरेको उनी बताउँछन् । “बिदेशबाट आयात हुन थालेपछि नेपाली सुपारीको मूल्य प्रतिकिलो ३ सय रुपैयाँसम्म झर्ने हाम्रो अनुमान छ,” गुरागाईंले भने, “मध्य र पश्चिम नेपालका उद्योगहरूले हाम्रो सुपारी खरिद गर्दै आएका छन्, त्यो पनि अब घाटा खाएर बिक्री गर्नुपर्ने अवस्था छ ।”
कतिपय व्यापारीले काँचो सुपारी ४० देखि ५० रुपैयाँसम्म खरिद गरेर प्रशोधन गरेका छन् । विदेशबाट आयात हुन थालेपछि ती सबै सुपारी व्यापारी घाटामा जाने चिन्तामा रहेको उनीहरूको भनाइ छ । अझ धेरै मूल्य पाउन सुपारी बिक्री गरिनसकेका किसान भने मूल्य घट्ने भएका कारण चिन्तित बनेका छन् ।
व्यापारीले खरिद गरेको मूल्यभन्दा पनि सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आएको गुरागाईंले बताए । “म ३ हजार क्विन्टल काँचो सुपारी खरिद गर्छु, यतिबेला उद्योगले लागत पनि नउठ्ने मूल्य राखेर सुपारी माग्न थालेका छन्,” गुरागाईंले भने, “प्रशोधन गरेर तयारी अवस्थामा राखेको सुपारीको आधा मूल्यमा बिक्री गर्ने कि नगर्ने म दोधारमा छु ।”
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको फागुन २५ गतेको निर्णयले २०७६ चैत १६ गतेदेखि आयातमा लगाइएको प्रतिबन्ध परिमाणात्मक बन्देज कायम राख्दै आयात खुला गरिएको जनाएको छ ।
प्रतिबन्ध फुकुवासँगै सुपारी, मरिच, छोकडा र केराउ आयात खुला भएको छ । यसले स्वदेशी मरिचले नै बजार पाउन नसकिरहेको अवस्थामा प्रतिबन्ध खुला गरेपछि किसान मारमा पर्ने देखिन्छ ।
पूर्वी नेपालका किसानले उत्पादन गरेको मरिच तीन वर्षअघिसम्म प्रतिकिलो १ हजार १ सय रुपैयाँ बिक्री हुने गरेको थियो । गत वर्ष मरिच बजारमा आएसँगै सरकारले आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि किसानले ५ सय रुपैयाँ प्रतिकिलो मरिच बिक्री गर्नुपरेको थियो ।
झापाको बुद्धशान्ति गाउँपालिका–१ का नेत्र संग्रौलाले प्रत्येक वर्ष ५ क्विन्टल मरिच उत्पादन गर्दै आएका छन् । विगत केही वर्षदेखि मरिच खेती गर्दै आएका संग्रौला उत्पादन राम्रो भए पनि नीतिगत अदूरदर्शिताका कारण उत्पादनले बजार पाउन नसकेको गुनासो गर्छन् ।
झापाका स्थानीय बजार साथै मध्यनेपालका केही किराना व्यापारीले मरिच खरिद गर्ने गरेको उनी बताउँछन् । सुपारीको बोटको फेदमा मरिच खेती गर्दै आएका संग्रौला यतिबेला उत्पादन गरेको मरिच कहाँ बिक्री गर्ने भन्ने चिन्तामा छन् । एक झ्याङमा ३ किलोसम्म मरिच उत्पादन हुने गरेको संग्रौलाले बताए ।
सुपारी र मरिच खेती गर्दै आएका मेचीनगर नगरपालिकाका नीलकण्ठ तिवारीले चार बिघा क्षेत्रफलमा दुईतले खेती गरेका छन् । तिवारीले सरकारसँग कृषि उत्पादनको तथ्यांक नै नभएको बताए ।
“हामीसँग कति मरिच छ र कसरी बजारसम्म पु-याउने भन्ने तथ्यांकसमेत सरकारसँग छैन,” तिवारीले भने, “हामीले गरेको उत्पादनको बजारीकरणमा सहयोग गर्नु त कहाँ हो कहाँ, उल्टै हामीलाई सरकारले निरुत्साहित गर्ने काम गरेको छ ।”
आयात खुल्ला गर्ने तर व्यवस्थित ढंगले निकासी गर्ने वातावरण नबनाउँदा नेपाली उत्पादनले बजार अभाव झेल्नुपरेको उनको गुनासो छ । “मेचीनगर भारतीय सिमावर्ती क्षेत्र भएकाले यहाँ उत्पादित नेपाली मरिच भारतीय व्यापारीले लैजाने गरेका थिए,” तिवारीले भने, “अहिले भारतीय व्यापारी पनि आउन छोडेका छन्, बिक्री पनि छैन ।”             समाचार कारोवारमा छ ।

 

आइतबार, १५ चैत, २०७७, बिहानको १०:०५ बजे

सम्बन्धित खवर