प्रधानमन्त्रीलाई गाउँपालिका अध्यक्षको पत्र,

चैत १४, २०७५ काठमाडौं / मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानले सामाजिक सञ्जाल (फेसबुक) मार्फत कर्मचारी समायोजनको विषयमा असन्तुष्टि पोख्दै प्रधामन्त्री ओलीलाई पत्र लेखेका छन्। प्रधानमन्त्री ओलीकै पुरानो पार्टी नेकपा एमालेको तर्फबाट मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्ष बनेका मुक्तान सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सचिव दिनेशकुमार थपलियाले संघीयताको कलिलो मुना चुँडेको सपना देखेको भन्दै व्यङ्ग्य पनि गरेका छन्। उनले मुख्यसचिवलाई जन्मदर्ता सही गराएर हेलिकोप्टरबाट गाउँका भीर पाखामा छरिदिन भनेका छन्। यस्तो असन्तुष्टि किन त? भन्ने थाहाखबरको प्रश्नमा अध्यक्ष मुक्तानले आफूले १८ वर्ष कर्मचारी भएर काम गरेको अनुभव सुनाउँदै उनले विकास निर्माणका कामबाहेक सामान्य बिल भर्पाइमा पनि सही गर्न कर्मचारी नभएर स्वास्थ्यका कर्मचारी ल्याएर काम गराइरहेको बताए। ‘मैले १८ वर्ष साविकको भार्ता गाविसमा प्रशासन सहायक भएर काम गरेँ। त्यसपछि अहिले जनप्रतिनिधि भएको छु’, उनले भने, ’मेरो गाउँपालिकाको १० वडामा ३९ जना कर्मचारी आवश्यक रहेकोमा एक जना पनि सरकारी कर्मचारी छैनन्। जन्मदर्ता कसले बनाउने?’

