विप्लवले १६ गतेको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता

चैत १३, २०७५ , काठमाडौं / नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही चैत १६ गते शनिबारको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ ।
बुधबार साँझ नेकपाले एक विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको हो । पार्टीका महासचिव विप्लवले सोमबार मात्रै एक विज्ञप्ति जारी गर्दै चरणबद्व संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।


सरकारी प्रतिबन्ध र दमनका विरुद्व नेकपाले बन्दसहितका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दै वर्तमान सरकारलाई चैत मसान्तसम्मको ‘अल्टिमेटम’ समेत दिएको थियो ।
नेकपाले नेपाल बार एसोसियसनको आग्रहमा बन्द फिर्ता लिएको हो । यही चैत १६ गते नै बारको निर्वाचन हुँदैछ । बन्दका कारण निर्वाचन प्रभावित हुने भन्दै बारले नेकपालाई बन्द फिर्ता लिन आग्रह गरेको थियो ।
मंगलबार एसोसिएसनले नेकपालाई बन्द फिर्ता लिन भन्दै एक पत्र समेत काटेको थियो । एसोसिएसनका महासचिव अधिवक्ता खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा बन्द फिर्ता लिन आग्रह गरेको छ । राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै समाधान खोजिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।