नेपाल–खनाल समूहको बैठक सुरु, मध्यमार्गी धारको अवसान !

काठमाडौँ– नेकपा (एमाले) नेपाल–खनाल पक्षको आकस्मिक बैठक सुरु भएको छ।

कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक सुरु भएको हो।

नेपाल–खनाल समूहका एक नेताका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे समिक्षा र त्यसबारे निर्णय लिन बैठक बसेको हो।

यसअघि ओली पक्षले नेपाल–खनाल समूहका ३२ जनालाई स्पष्टीकरण सोधेको थियो। त्यसमध्ये पाँच जनाले स्पष्टीकरण बुझाएका छैनन्।

वैशाख १२ गते बसेको ओली पक्षको महाधिवेशन आयोजक कमिटी बैठकले उनीहरुलाई कारबाही गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको थियो।

मध्यमार्गी धारको अवसान !

नेकपा एमालेभित्र ओली र नेपालको कडापनलाई नरम बनाउन खोज्ने मध्यमार्गी धार पनि नभएको होइन । मध्यमार्गी धारका नेताहरुले दुबै शीर्ष नेतालाई सहमतिमा ल्याउन बेलाबखत दबाव दिने गरेका छन् । उनीहरुले ओली–नेपाल आपसमा मिल्नुपर्छ र बलियो एमाले बनाउनुपर्छ भन्दै आएका छन् र मेलमिलापको ‘सूत्र’ पनि सुझाउने गरेका छन् ।

ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णु रिमालसमेतले बेलाबखत माधव नेपाल पक्षका नेताहरुसँग सम्वाद गर्दै आएका छन् । पछिल्लो समय यी नेताहरुले माधव पक्षका दोस्रो तहका नेताहरुसँग अनौपचारिक रुपमा ‘सहमतिको प्रस्ताव’ पनि ल्याएका थिए ।

पहिले बैठकमा सहभागी बनौँ र त्यहीँ आफ्ना मागहरु राखौं, अनि जेठ २ मा फर्कनु परे पनि त्यहीँबाट फर्कौँला, फागुन २३ पछिका निर्णयहरु सच्याउनुपरे पनि बैठकबाटै सच्याउँला भन्ने ओली पक्षका दोस्रो तहका यी नेताहरुको प्रस्ताव माधव पक्षसम्म पुगेको बुझिन्छ ।

तर, नेपाल पक्षका नेताहरुले चाहिँ कम्तिमा निर्णयहरु सच्याउने प्रतिबद्धता पहिल्यै आउनुपर्ने माग गरेका छन् । फागुन २३ पछिका निर्णयहरु सच्याइए माधव नेपाललाई मिलाउन सकिने असन्तुष्ट पक्षका मध्यमार्गी युवा नेताहरुको तर्क सुनिन्छ । तर, अध्यक्ष ओलीले मध्यमार्गी धारका नेताहरुको मागलाई सुनुवाई नगरी स्थायी कमिटी हेरफेर गरिदिएपछि अहिले एमालेभित्रको यो मध्यमार्गी धार नतमस्तक बनेको अवस्था छ ।

अब प्रधानमन्त्री ओलीले नेपाल पक्षका आफूलाई मन परेका नेताहरुलाई व्यक्तिगत रुपमा छानीछानी आफूतिर तान्ने रणनीति लिएको देखिन्छ । उनले प्रष्टै भनिसकेका छन्, म गुटसँग ‘डिल’ गर्दिनँ, व्यक्तिसँग गर्छु ।

बुधबार, १५ बैशाख, २०७८, दिउँसोको ०१:४५ बजे

सम्बन्धित खवर