जेठ १४, २०७६ संखुवासभा / जिल्लाको ऐतिहासिक बजार चैनपुर बजारमा ६०० वर्ष पुरानो मल्लकालीन इँट्टा फेला परेको छ। चैनपुर बजारका नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँट्टा मल्लकालीन समयमा उत्पादन भएको पाइएको छ। नारायण श्रेष्ठको घरमा पिँढीमा प्रयोग भएको इँट्टा १४ औं शताव्दी भन्दा अगाडि मात्र प्रयोग हुने गरेको इतिहासविद् डा.रमेश ढुंगेलको जानकारी दिए। संखुवासभाको इतिहासमा नयाँ कुराको प्राप्ति भएको इतिहासविद् डा. ढुंगेलले बताए। उनले भने, ’६०० वर्ष भन्दा पुराना इँट्टाहरू फेला परेको छ। यो चैनपुरको इतिहासलाई महत्वपूर्ण प्रमाण थपियो।’ चैनपुरमा पहिलो पटक मल्लकालीन समयमा प्रयोग हुने गरेको इँट्टा फेला परेको यसलाई संरक्षण गर्नु आवश्यक भएको बताए। फेला परेको इँट्टाको लम्बाई १४ इन्च, चौडाई ८ इन्च र मोटाई २ इन्च रहेको डा. ढुंगेलको भनाइ छ। यो पुरानो इँट्टा भएकाले यसलाई पुरातत्व विभाग, स्थानीय प्रतिनिधि र स्थानीयलाई आह्वान गरेर त्यसको सुरक्षामा रेलिङ राखेर गर्नु पर्ने बताए। मल्लकालीन इँट्टाको वारेमा पुरातात्व विभागमा लिखित रुपमा जानकारी समेत गराउने इतिहासविद् ढुंगेलको भनाइ छ। नेपाल एकीकरणका अगाडिबाटै इतिहासमा संखुवासभाको महत्व रहेको छ। यस अघि भोटखोला गाउँपालिकाको हटिया गोलामा १२ हजार वर्ष अघिका हतियार फेला परेकोले डा. ढंगेलले जानकारी दिए। चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले मल्लकालीन इँट्टाले चैनपुरको मात्र नभएर सिंगो संखुवासभाकै लागि इतिहास थप भएको बताए। उनले भने चैनपुर बजार क्षेत्रमा अहिले पनि पुराना शैलीका घरहरू प्रसस्त भएको बताए। बजार क्षेत्रमा मल्लकालीन इँट्टा फेला परेकाले यस क्षेत्रको महत्व अझ बढेको पनि नगरपालिकाले यसको संरक्षणमा ध्यान दिने बताए। चैनपुरकै बानेश्वर मन्दिरमा पनि मूर्ति २५० वर्ष पुरानो रहेको डा. ढुंगेलले दावी गरे। त्यसैगरी चैनपुरकै सिद्धकाली मन्दिरमा सिकिमले शासन गरेको समयमा लेखिएको शिलालेख अझै रहेको छ। चैनपुरको इतिहासमा अहिले पनि मुख्य पाटीको रुपमा रहेको पाटीलाई त्यस सयममा वस्नेत पौवाको भनिने गरेको इतिहासविद् ढुंगेलको बताए। तत्कालीन नेपालका दोस्रो मुख्य काजी बत्तावरसिं वस्नेत मुल काजी हुनुभन्दा अगाडि पूर्वको एकीकरण हुनु पहिले एकीकरण योद्धाको रुपमा आउँदा भोट र सिक्कीमा सैन्य लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन बस्नेतको टोलीले ठूलो देन दिएका थिए। १८३०र०३१ मा पृथ्वी नारायण शाहको पालामा बत्तावरसिंका बुबा जनरल अभिमानसिं वस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई मिलाएको इतिहासमा उल्लेख छ। १४ औं शताब्दीको इँट्टा प्रयोग भएको घरधनी नारायण श्रेष्ठ अहिले विराटनगरमा बसाइसरेका छन्।

Facebook Comments Box