कस्तो छ मोदीको छिमेकीलाई हेर्ने रणनीति ?

नयाँ दिल्ली / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार आफ्नो दोश्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ लिँदैछन् । यस अवसरमा मोदीले ‘बिमस्टेक’का सदस्य रहेका छिमेकी देशलाई निमन्त्रणा दिएका छन् । त्यसबाहेक किर्गिस्तान र मौरेससबाट समेत प्रतिनिधित्व हुने जनाइएको छ । मोदीले सन् २०१४ मा आफ्नो पहिलो कार्यकालको सपथ ग्रहण समारोहमा सार्कका सदस्य मुलुकहरुलाई आमन्त्रण गरेका थिए, जसमा पाकिस्तान पनि सहभागी छ । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफसपथ समारोहमा सहभागी भएका थिए ।तर, यस पटक मोदीले बिमस्टेक मुलुकहरुलाई निमन्त्रणा गरेका छन् । बिमस्टेकमा भारतबाहेक म्यानमार, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, नेपाल र भुटान सहभागी छन् । यस पटकको सपथ ग्रहणमा पाकिस्तानलाई नबोलाएर मोदीले दोश्रो कार्यकाल सुरु हुनअघि नै छिमेकी राष्ट्रलाई एक प्रकारले कुटनीतिक सन्देश दिएको भारतीय सञ्चारमाध्यम बताउँछन् । अर्का्तिर, भारतको यो कदमले पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देखाएको कुटनीतिक मर्यादालाई समेत लत्याएको विश्लेषण गर्न थालिएको छ । प्रधानमन्त्री मोदीले यस पटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य मुलुकलाई बालाएर पाकिस्तानलाई टाढै राख्न खोजेको स्पष्ट छ । आफ्ना हितैसी छिमेकी देशहरुलाई निमन्त्रणा पनि मिलोस् र भारतले छिमेकी पाकिस्तानलाई अलग बनाउन चाहेको अन्तराष्ट्रिय स्तरमा नबुझियोस् भन्ने मोदीको उद्देश्य रहेको बुझिन्छ । त्यसैले, भारतीय प्रधानमन्त्री मोदीका लागि पाकिस्तानलाई छोडेर सार्क सदस्य राष्ट्रहरुलाई बोलाउनुभन्दा राम्रो विकल्प बिमस्टेक थियो । मोदीले निक्कै सोचविचार गरी बिमस्टेक मुलुकहरुलाई निमन्त्रणा पठाएर ‘डिप्लोम्याटिकल्ली करेक्ट’ कदम उठाएको पनि बिश्लेषण गरिएको छ । गत फेब्रुअरीमा पुलवामामा आत्मघाती आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्धमा निक्कै तिक्तता आएको छ । पाकिस्तानले वार्ताको माध्यमबाट दुई देशबीचमा शान्ति ल्याउने बताउँदै आएको छ । तर, आतंकवाद र वार्ता एकसाथ चल्न नसक्ने भारतले बताउँदै आएको छ । भारतको यो भनाई मोदीको सपथग्रहण समारोहको अतिथिको सूचीले पनि देखाउँछ । हालै सम्पन्न मोदीको गठबन्धनले भारी मतका साथ जितेगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदीलाई टेलिफोनमार्फत बधाई दिएका थिए । खानले बधाई दिएपछि यी दुई देशबीचको सम्बन्धमा थप सुधारका संकेत देखिएको थियो । तर भारतले बिमस्टेक सदस्य राष्टहरुलाई निम्ता दिने नाममा सार्क संगठनको अस्तित्वलाई नै ओझेलमा पार्ने किसिमले तयारी गरेपछि यो पटकको सपथ समारोहमा पाकिस्तान छुटेको छ । एजेन्सी

